logo

bar

साहित्यका पुस्तक पढ्छु : विपीन कार्की, अभिनेता

नयाँ पत्रिका काठमाडाैँ, २२ वैशाख | बैशाख २२, २०७५

म कुनै पनि काममा एकोहोरो भएर लाग्छु । सबै कुरालाई सन्तुलित बनाएर लैजाँदा राम्रो हुन्छ भनेर साथीभाइले सुझाब दिने गर्नुभएको छ । कतिले घमन्डी भन्छन् । कति टाढिएका पनि छन् । तर, मलाई काममा व्यस्त भएका वेला आफ्ना नजिकका साथीभाइले बुझिहाल्छन् नि भन्ने लाग्छ ।

म सहनशील छु । झनक्क झन्किने बानी छैन । गल्ती गरिसकेपछि पश्चात्ताप गर्छु । नदोहो-याउने कोसिस गर्छु । फिल्मी करिअरमा पनि विगतका गल्तीबाट सिक्ने गरेको छु ।

तर, रिसाएपछि उग्र रूपले रिसाउँछु । लाटो रिस उठ्छ । घरमा सानोमा रिसाउँदा थुप्रै सामान पनि फुटाएको छु । साहित्यका पुस्तक धेरै पढ्छु । फिल्ममा आउनुअघि आफैँ कविता लेख्थेँ । लेखन कार्यलाई पछिल्लो समय निरन्तरता दिन सकेको छैन ।

यसमा दुःख लाग्छ । स्कुल पढ्दा फुटबल धेरै खेलिन्थ्यो । अहिले पनि फुटबलका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता फलो गर्छु । संगीत मनपर्छ । आफ्नै स्वरमा गीत पनि रेकर्ड गराएको छु । रेडियो अडियोबाट बजेको ‘मा कसम तिमी बडा च्वाँक छौँ’ भन्ने गीत मैले नै लेखेको र स्वर भरेको हो ।

यो गीत भाइरल भएको थियो । तर, धेरैलाई मैले गाएको भन्ने थाहा छैन । छड्के फिल्मको ‘पा-यो भुटुटु’ पनि मेरै शब्द र स्वरमा बनेको हो । मेटल, क्लासिकल, नेपाली गीतहरू, पप समय, उमेर र परिवेशअनुसार गीतहरू सुनियो । खाना राम्रै बनाउँछु । घरमा सबैले मिठो पकाउँछस् भन्छन् ।

मलाई हदैसम्म माया गर्ने शुभचिन्तक हुनुहुन्छ । तर, उहाँहरूलाई मैले प्रत्यक्ष भेट्न र रेस्पोन्स गर्न पाएको छैन । मैले नचाहेर वा उहाँहरूको सम्मान नगरेर त्यसो गरेको होइन । उहाँहरूविना म अधुरो छु ।

उहाँहरूले दिएको सल्लाह–सुझाबकै कारण जिम्मेवार भएर यस क्षेत्रमा लाग्न हौसला मिलेको छ । उहाँहरूप्रति ऋणी छु । उहाँहरूका लागि कसरी समय छुट्याउन सकिन्छ र उहाँहरूले भनेका कुरालाई कसरी मनन गर्न सकिन्छ भन्ने विषयमा धेरै सोच्छु ।

तपाईको प्रतिक्रिया