logo

bar

१० हजारभन्दा महँगा सेयर

नयाँ पत्रिका काठमाडाैँ, २२ वैशाख | बैशाख २२, २०७५

सेयर बजार परिसूचक नेप्से निरन्तर रूपमा ओरालो लाग्दा धेरै कम्पनीमा सेयर मूल्य सस्तिए । त्यसक्रममा केही कम्पनीको त प्राथमिक सेयर मूल्यकै नजिक पनि आइपुगे । तर, बजारमा केही त्यस्ता कम्पनी पनि छन्, जसको सेयर मूल्य अझै १० हजार रुपैयाँभन्दा माथि नै छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये तीनवटा कम्पनीको सेयर मूल्य १० हजारमाथि नै रहेको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा युनिलिभर नेपाल, राष्ट्रिय बिमा कम्पनीको साधारण र संस्थापक सेयरको मूल्य १० हजारभन्दा बढी रहेको छ । अन्य कम्पनीका सेयरको तुलनामा यी कम्पनीका सेयरको मूल्य सधैँ उच्च रहँदै आएको छ ।

बजार उकालो लाग्दा होस् या ओरालो, अरू कम्पनीको सेयर मूल्यको तुलनामा यी कम्पनीहरूको सेयर मूल्य महँगो नै रहँदै आएको छ । वित्तीय अवस्था राम्रो भएकै कारण यी कम्पनीहरूमा लगानीकर्ता आकर्षित हुने गरेको एक ब्रोकरले बताए ।

‘यी कम्पनीहरूका लगानीकर्ताहरू कहिल्यै निराश हुनुपरेको छैन,’ उनले भने, ‘सेयरधनीहरूलाई जहिले पनि उचित प्रतिफल दिइरहेका कारण यी कम्पनीहरू लगानीकर्ताको रोजाइमा पर्ने गरेको हो ।’

सबैभन्दा महँगो सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको सेयर युनिलिभर नेपालको हो । बिहीबार यस कम्पनीको सेयर मूल्य २६ हजार रुपैयाँ रहेको छ । पछिल्लो १ सय ८० दिनमा यस कम्पनीको औसत भारित मूल्य २६ हजार ६ सय २४ रहेको छ । सो अवधिमा यस कम्पनीको मात्र ११ करोड ९६ लाख ७५ हजार ४ सय ९० बराबरको सेयर खरिद–बिक्री भएको थियो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १ हजार २ सय ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी, सो कम्पनीले अघिल्लो आर्थिक वर्ष १ हजार २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आकर्षक प्रतिफल दिने भएका कारण नै यस कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन् ।

दोस्रोमा बिमा कम्पनी

१० हजार रुपैयाँभन्दा बढी सेयर मूल्य रहेको दोस्रो कम्पनी राष्ट्रिय बिमा कम्पनी हो । गत बिहीबार यस कम्पनीको अन्तिम कारोबार मूल्य १३ हजार २ सय ५१ रुपैयाँ रहेको छ । यस कम्पनीको १ सय ८० दिनको औसत भारित मूल्य १२ हजार ६ सय ६९ रुपैयाँ रहेको छ । पछिल्लो तीन महिनामा यस कम्पनीको ९२ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो ।

सरकारी स्वामित्वमा रहेको यस कम्पनीले पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिँदै आएको छ । चालू आवको दोस्रो त्रैमासमा यस कम्पनी ३७ करोड २५ लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो । यस कम्पनीले ०७४ वैशाख २२ गते साधारणसभाबाट पारित गरेबमोजिम १ सय १४ दशमलव २७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

संस्थापक सेयर पनि उस्तै महँगो

तेस्रो महँगो सेयर राष्ट्रिय बिमा कम्पनीकै संस्थापक सेयर रहेको छ । साधारण सेयरजस्तै संस्थापक सेयरको मूल्य पनि १० हजार रुपैयाँभन्दा बढी नै रहेको छ । गत बिहीबार यस कम्पनीको अन्तिम कारोबार मूल्य १२ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस कम्पनीको पछिल्लो १ सय ८० दिनको औसत भारित मूल्य १२ हजार ५ सय २७ रुपैयाँ रहेको छ । सो अवधिमा यस कम्पनीको १ अर्ब १२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो ।

बोटलर्स नेपाल (तराई)

सूचीकृत महँगो सेयर भएको कम्पनीमा बोटलर्स नेपाल (तराई) पनि एक हो । गत बिहीबार सो कम्पनीको सेयर ६ हजार ३ सय ५० मा अन्तिम कारोबार भएको थियो । पछिल्लो १ सय ८० दिनमा सो कम्पनीको भारित औसत मूल्य ६ हजार ७ सय ५० रहेको छ ।

सो अवधिमा यस कम्पनीको १ अर्ब २४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस कम्पनीले पनि लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्दै आएको छ । गत आवको मुनाफाबाट कम्पनीले प्रतिकित्ता २५ रुपैयाँ लाभांश वितरण गरेको थियो ।

 प्रस्तुति : प्रत्येक अवाले

तपाईको प्रतिक्रिया