logo

bar

मदन पुरस्कार बढी आसेपासेले पाए : श्रवण मुकारुङ

नयाँ पत्रिका काठमाडौं, २२ वैशाख | बैशाख २२, २०७५

पुरस्कार–संवाद : श्रवण मुकारुङ –

पुरस्कार राजनीति हो

किन लेखकहरू पुरस्कारलाई ठूलो महत्व दिइरहेछन् ?
यस्ता पुरस्कारलाई दुई तरिकाले हेर्नुपर्छ । नेपालमा ठूलो राशिको पुरस्कार र लामो इतिहास भएको पुरस्कार छन् । यी पुरस्कार पहिला उत्कृष्ट पुस्तक र राम्रा स्रष्टाले पाउँदा लोभलाग्दो थिए । कतिपयको व्यक्तित्व त पुरस्कार पाएरै बनेको छ । लेखक भनेर चिनिन पाएका छन् । आजको समयमा बजार पिट्नुपर्छ । पुरस्कार पाएपछि बिक्री बढ्छ । लेखकका लागि यो राम्रो कुरा हो । आय बढ्छ नि । त्यसकारण पुरस्कारको महत्व त्यसको इतिहास र राशिसँग जोडिएको छ ।

कुनै पनि पुरस्कार घोषणापछि समर्थन र विरोध एकैसाथ सुनिन्छ । पुरस्कारभित्र पनि राजनीति हुन्छ ?
पुरस्कारभित्र राजनीति हुनु स्वाभाविक हो । पहिलो बुझ्नुपर्ने कुरा पुरस्कार आफैँमा राजनीति हो । त्यसको मनसाय त असलै हुन्छ । तर, पुरस्कार पाउने व्यक्ति छनोट गर्दाचाहिँ कसैको आग्रहले काम गर्छ । कसैका पनि सिर्जनालाई निश्चित मापदण्डमा राखेर ‘योभन्दा यो राम्रो’ भन्नु गाह्रो विषय हो । सिर्जना कला र सौन्दर्यसँग जोडिन्छ । कसैको सिर्जना अर्को व्यक्तिसँग तुलनै हुँदैन । जस्तो, कसैलाई नारायणगोपालको स्वर मनपर्छ कसैलाई भक्तराजको, कसैलाई भूपि शेरचनको कविता लेखन शैली मनपर्छ कसैलाई बैरागी काइँलाको । यी अतुलनीय कुरा हुन् ।

पुरस्कार त एउटाले मात्र पाउँछ, कसरी छनोट गरिन्छ ?
पुरस्कार दुईवटा वा त्योभन्दा बढी राम्रामध्ये एउटाले पाउँछ । त्यतिवेला नै छिर्छ वैचारिक आग्रह र पूर्वाग्रह । त्यहीँ हुन्छ राजनीति । नेपालमा मात्र होइन संसारका नामुद पुरस्कारमा पनि राजनीति घुसेको छ ।

धेरैजसो पुरस्कार व्यक्तिले आफ्ना बाबु, आमा वा अरु कसैका नाममा खडा गरेका छन् । तिनीहरूको चाहिँ राजनीतिक स्वार्थ के हुन्छ ?
यहाँ दुईवटा कुरा भइरहेको छ । एउटाचाहिँ आफ्नो स्वार्थ पूरा गर्न पुरस्कार दिने चलन छ । अर्को आफूले नपाइन्जेल कुनै पनि पुरस्कारको विरोध गर्ने, पाइसकेपछि मौन हुने र पुरस्कार ठीक हो भन्ने चलन छ । यी भएकै घटना हुन् । हाम्रै देशमा सरकारको तर्फबाट दिने पुरस्कार नलिने पनि छन् । पुरस्कारलाई महत्व नदिने र दिने दुवै प्रकारका लेखक छन् । पुरस्कार लिने, दिने र नलिने सबैमा राजनीति हुन्छ । कतिपय सन्दर्भ दृश्यमा देखिँदैन । पुरस्कार लिँदा चलखेल हुन्छ भन्ने मलाई पनि लाग्छ । तर, मात्रा कम–बेसी हुन्छ ।

के–केमा राजनीति हुन्छ, ठ्याक्कै भन्नु न ?
यसलाई विश्वको सन्दर्भसँग जोड्न सकिन्छ । नोबल पुरस्कारको कुरा गर्नुहुन्छ भने संसारकै वामपन्थी लेखकहरूले ठूलो आरोप लगाउँछन् कि, त्यो डेमोक्र्याट्स लेखकले मात्र पाउने पुरस्कार हो । अझ कतिसम्म भन्छन् भने– यो कम्युनिस्टविरोधीलाई दिने पुरस्कार हो । तर, म यसको विज्ञ होइन । नेपालको सन्दर्भमा पनि त्यस्ता पुरस्कार छन् भनिन्छ ।

प्रतिनिधि कविले नै पाएनन् मदन पुरस्कार नेपालमा सबैभन्दा सम्मानित मदन पुरस्कार मानिन्छ । त्यसमा पनि राजनीति छ ?
मदन पुरस्कारको उद्देश्य राम्रै थियो होला । पुरस्कार स्थापित गर्नेले पनि आफूलाई प्रतिष्ठित बनाउनलाई गरेको हुन सक्छ । यो व्यक्तिबाट निर्मित पुरस्कार हो । व्यक्तिबाट स्थापना गरिएको पुरस्कारमा त्यति ठूलो राजनीति हुन्छ भन्ने त लाग्दैन । योचाहिँ व्यक्तिगत साखसँग जोडिन्छ ।

तर, मदन पुरस्कार पाउनेको सूची हेर्दा जनजाति लेखक कम छन् । वामपन्थी लेखकले पनि कम पाएको छ । यो राजनीति होइन ?
राजनीति त हुन्छ नै नि त । कम–बेसीको कुरा पो हो त । हरेकले मापदण्ड बनाएर दिने हो । तर, मदन पुरस्कार कम्युनिस्टहरूलाई दिनै हुँदैन भन्ने त छैन होला ? निर्णायक र हर्ताकर्तामा पनि त्यसप्रकारको मनोविज्ञानले काम गर्न भने सक्छ । पूरै पूर्वाग्रह छ भन्नचाहिँ सकिँदैन । जस्तो मोदनाथ प्रश्रितले पाए । पारिजातले पनि पाएकी त हुन्, तर उनी कम्युनिस्ट नहुँदै पाएकी हुन् भन्नेहरू पनि छन् । त्यसो भन्नु सान्दर्भिक लाग्दैन मलाई । आसेपासे र नजिकमा भएकाले चाहिँ बढी पाएको सत्य हो ।

प्रायः पुरस्कार जनजातिले कम पाएका छन् । जातिगत कुरा पनि आउँछ ?
जातिगतचाहिँ जानेर होइन, नजानेर भएको अवस्था हो । त्यस्तो देखिन्छ ।

श्रवण मुकारुङको कवितासंग्रह बिसे नगर्चीको बयानले मदन पुरस्कार नपाउनुको पछाडि जातीय कारण हो पनि भने नि मान्छेहरूले ?
मैले किन पाइनँ भन्ने त मलाई थाहा हुने कुरा भएन । त्यसो त वैरागी काइँलाले पनि मदन पुरस्कार पाउनुभएको छैन, भूपि शेरचनले पनि पाउनुभएको छैन । नेपालका ठूला कवि यिनै होइनन् ? तर, ईश्वर बल्लभले पाए । इन्द्रबहादुर राईले पाएनन् । त्यसकारण प्रतिनिधि कविहरूले यो पुरस्कार पाएका छैनन् । यो कविहरूको मात्र कुरा भयो । तर, आख्यानकारचाहिँ प्रायः सबैले पाएका छन् । कविताप्रतिको उहाँहरूको आग्रह–पूर्वाग्रह हो कि ? यसमा को निर्णायक छ भन्ने बुझेर मात्र बोल्न सकिन्छ । तर, सीधै जनजातिलाई दिनुहुँदैन अथवा कम्युनिस्टहरूलाई दिनुहुँदैन भन्ने त नहोला । उहाँहरूको ब्रह्मको घेरामा नपरिएको होला ।

वैरागी काइँलाले पनि मदन पुरस्कार पाउनुभएको छैन, भूपि शेरचनले पनि पाउनुभएको छैन । नेपालका ठूला कवि यिनै होइनन् ? तर, ईश्वर बल्लभले पाए । इन्द्रबहादुर राईले पाएनन् । त्यसकारण प्रतिनिधि कविहरुले यो पुरस्कार पाएका छैनन् ।

 

पैसा हुनेले हो पुरस्कार दिने

भ्रष्टाचार गरेर र राज्य दोहन गरेर पैसा कमाएकाले पनि साहित्यिक पुरस्कार स्थापना गरेका छन् । त्यस्ता पुरस्कारले उल्टै साहित्यको बदनाम हुँदैन ?
सबै पुरस्कार सम्मानित नभएको कारण पनि यही हो । नेपालमा दुई–तीन प्रकारका पुरस्कार छन् । पहिलो विनास्वार्थ स्थापना गरिएका । दोस्रो स्वार्थले स्थापना गरिएका । जो छाती फुलाएर आफूलाई राजावादी भनेर हिँडिरहेका छन् । यिनीहरूको कारणले साहित्य क्षेत्र बदनाम हुने नै भयो । अर्को कुरा पनि छ, पुरस्कार त्यसले खोल्ने हो जोसँग पैसा छ । पुरस्कारै स्थापना गर्न सक्ने गरी नेपालमा पैसा कमाउन त समस्या होला । यहाँ त खर्बपति हुने बाटै छैन । कि पहिलाका सामन्तसँग पैसा छ, कि बदमाससँग । राजनीतिक पदबाहेक यो देशको सबैभन्दा उच्चपद सचिव÷मुख्यसचिव होइन ? तिनको तलब कति हुन्छ ? तलबले खान र परिवार पाल्न पुग्छ ? तिनले पनि खुला रूपमा बदमासी गरेका छन् । अनि बदमासहरूले अनुहारमा मखुन्डो लगाउन पुरस्कार स्थापना गरेका छन् ।

नेपालमा दिइने पुरस्कारमा सबैभन्दा सम्मानित कुन लाग्छ ?
अहिलेसम्म विवादको घेराहरूमा पर्दै भए पनि मदन पुरस्कार नै सबैभन्दा सम्मानित हो । त्यसको विरोध गर्नेले पनि स्वाद लिइरहेको हुन्छ । अनि पाएपछि चुपचाप बस्छ । यसको इतिहास लामो छ । समय–समयमा राम्रा लेखकले पनि पाएका छन् ।

पहिला चर्चामा आएको कृतिले पाएन, अब कुनै दिन मदन पुरस्कार पाउने पुस्तक लेख्छु भन्ने लागेको छ ?
त्यसरी पाउँछु भनेर फ्याट्टै पाउने नहोला । पहिला त उनीहरूको मापदण्डमा पर्ने पुस्तक निकाल्नुपर्‍यो । त्यसपछि पो सम्भावना होला । मैले लेखेपछि सम्भावना रहन्छ नै ।

प्रोल्लास सिन्धुलीय र म डोपिङमा परेका कवि

प्रज्ञाले पुरस्कृत गर्ने महोत्सवका कविता पनि विवादमा आउँछन् । गणतन्त्र आइसकेपछिका पुरस्कृत कविता पार्टीको भागबन्डा लगाइन्छ भन्ने आरोप छ ।
यो सरासर झुट कुरा हो । एउटा प्राज्ञ भएर डिफेन्समा बोल्यो भनेर नलिनुहोला । मलाई कुनै बन्धन छैन । मेरो सकिन पनि अब चार–पाँच महिना होला । हामी गएपछि कुनै भागबन्डा लगाएर पुरस्कार दिएको छैन । जजहरू कोही पार्टीबाट प्रभावित हुने पनि आउलान् । त्यो फरक कुरा भयो । पुरस्कार निष्पक्ष हुन्छ । पार्टीको कोटा भन्ने दिमागबाट हटाए हुन्छ ।

निर्णायक नै पार्टीको सिफारिसमा आउँछन् भनिन्छ नि ?
त्यस्तो बिलकुल होइन । संयोगले कोही कांग्रेसको समर्थक, कोही एमाले वा माओवादीको समर्थक होला । तर, पार्टीले पठाएको होइन । परिषद्ले बनाउने हो । हामीले नै बनाउने हो । एकेडेमीमा हामी पार्टीबाट गएका होइनौँ । त्यहाँ पनि कोटाबन्दी गर्नुहुँदैन ।

तपाईं ०५३ सालमा राष्ट्रिय कविता महोत्सवमा प्रथम हुँदा पुरस्कार नै खोसियो नि ?
अप्रकाशित हुनुपर्ने भन्ने नियम थियो । मेरो गरिमामा प्रकाशित भइसकेको थियो । मापदण्ड मिचिएकाले खोसियो ।

दुई वर्षअघि पनि प्रोल्लास सिन्धुलीय प्रथम हुनुभएको थियो, तर पुरस्कार खोसियो । उहाँले जिल्ला अदालतमा मुद्दा जित्नु पनि भयो । अब प्रज्ञाले पुरस्कार दिन्छ ?
प्रज्ञा पुनरावेदनमा गएको छ । पुनरावेदनले दिन आदेश दिन्छ भने दिन्छौँ । सर्वोच्च जाँदैनौँ । यो संस्थाको कुरा हो । मेरो व्यक्तिगत कुरा सोध्नुहुन्छ भने कविलाई पुरस्कार दिनुपर्छ । उहाँलाई दिँदा राम्रो । म कवि भएकाले यो भावनात्मक कुरा भनेको हुँ ।

प्रोल्लासजीले पाउनुभयो भने तपाईंले ०५३ सालमा खोसिएको पुरस्कार पनि त पाउनुहुन्छ, होइन ?
हो, उहाँले पाउनुभयो भने उहाँजस्ता धेरैले पाउँछन् । परार नै दोस्रो भएको पनि खोसिएको हो । मैले पनि पाउँछु । यसको निष्कर्ष के भने, पुरस्कारका लागि बनाइएको हाम्रो मापदण्ड फेर्नुपर्नेरहेछ । प्रतिस्पर्धामा आउने त डोपिङमा पर्न सक्छ । सिन्धुलीय पनि डोपिङमा परे, म पनि परेँ । कविले टिएस इलियटको उल्था गरेर पठायो कि, बेलायत वा सिक्किमको पत्रिकामा छाप्यो कि ? हेर्ने त जजले हो । तर, यसमा कविको नैतिकताको कुराचाहिँ जोडिन्छ । कवि भनेको समाजको सम्मानित र नैतिकवान मान्छे हो

पुरस्कार र पदका लागि कांग्रेस भएको होइन

तपाईंलाई पनि आरोप छ, वामपन्थी हुँदा पुरस्कार र पद नपाएपछि कांग्रेसमा प्रवेश गर्नुभयो । यसमा सत्यता छ ?
त्यस्तो होइन । जीवन भनेको यात्रा हो । उसले अध्ययन र अनुभव गर्दै जाने हो । त्यसरी हिँड्दा चेतनाले पुगेको हुँ त्यो ठाउँमा । म कुर्सीका लागि वा सांसद हुन्छु भनेर गएको होइन । मैले लिनुदिनु केही थिएन । गएपछि सभासद्को उम्मेदवार बनाए, सभासद् बनाएनन् । तर, त्यो चाहनाले गएको होइन । खासमा म कांग्रेस हुन मन लागेर गएको हो । बिपीको समाजवाद, उनको चिन्तन, दर्शनबाट प्रभावित भएर कांग्रेस भएको हुँ ।

तपाईंलाई बिपीको समाजवादबाट प्रभावित हुन धेरै लामो समय लागेछ ।
त्यो त हो त । उखानै छ नि, मान्छे युवा हुँदा कम्युनिस्ट हुन्छ त्यसपछि कांग्रेस । युवा हुँदा हुलमुलमा लाग्छ । संसार हेर्ने चेतना बनिसकेको हुँदैन । अल्लारे कम्युनिस्ट बन्छ । कम्युनिस्ट त के भन्नु ? वामपन्थी रुझान भएको होइन्छ । म ‘सेल्फ कन्भिन्स’ भएरै कांग्रेस भएँ । गइसकेपछि म पनि मान्छे हुँ, आकांक्षा त भइहाल्छ नि ।

राजनीतिक पदबाहेक यो देशको सबैभन्दा उच्चपद सचिव÷मुख्यसचिव होइन ? तिनको तलब कति हुन्छ ? तलबले खान र परिवार पाल्न पुग्छ ? तिनले पनि खुला रूपमा बदमासी गरेका छन् । अनि बदमासहरुले अनुहारमा मखुन्डो लगाउन पुरस्कार स्थापना गरेका छन् ।

 

मोती पुरस्कार पाउन दौडधुप गरेँ

तपाईंलाई पुरस्कारको लोभ कहिल्यै भएन ?
अहिले त मलाई त्यस्तो छैन । युवा हुँदाचाहिँ पुरस्कार पाइहालियो भने यसो दुई–चार महिना धानिन्थ्यो भन्ने लाग्थ्यो । आम्दानी नहुँदा काठमाडौँ बस्न गाह्रो नि । पुरस्कारले चामलै आउँछ, अलिअलि चर्चामा हुन्छ भन्ने लोभ थियो । त्यसकारण मोती पुरस्कार पाउन दौडधुप गरेँ । यो ६० सालको कुरा हो । म र लालगोपाल सुवेदीले पाएका थियौँ । अरू पनि धेरै पुरस्कार पाएको छु । तर, दौडधुपले पाएको होइन ।

कहाँ–कहाँ दौडधुप गर्नुभयो ?
म आफैँ कुदेको होइन । मलाई कुदाउनेचाहिँ हाङयुग अज्ञात हो । ईश्वर बल्लभ दाइले पनि प्रेरित गर्नुभएको हो । म एकदमै आदर्शवादी । पुरस्कार, पद मागेर लिने होइन भन्ने थियो । ईश्वर दाइले एक दिन भन्नुभयो, ‘घोडा घाँस से दोस्ती गरेगा तो खाएगा क्या ? तँलाईं व्यापारी भनेर पुरस्कार दिँदैनन् । अरू क्षेत्रमा त हक नै लाग्दैन । हक लाग्ने क्षेत्र साहित्य हो । साहित्यमा पाउने पद पुरस्कार सबैमा तैँले दाबी गर्नुपर्छ ।’ यो तत्वज्ञान पाएपछि म छ्यांग भएँ । उहाँले नै मोती पुरस्कारका लागि आवेदन दिन भन्नुभयो । अनि हाङयुगले कुद्नुपर्छ भनेर थोत्रो मोटरसाइकलमा राखेर कुदायो । धुस्वाँ सायमी निर्णयक समितिको अध्यक्ष हुनुहुँदोरहेछ । म योग्य छु मलाई दिनुपर्छ भनेँ । उहाँले ‘वैरागी काइँलालाई भेट’ भन्नुभयो । वैरागी काइँलाले आकाशतिर हेरेर नाक खुम्च्याएर बोल्नुभयो । पहिला साहित्य–संवाद गर्न आएको रहेछ भन्ने लागेको रहेछ । पछि पुरस्कार माग्न आएको रहेछ भन्ने थाहा पाएपछि आकाशतिरै हेरेर नै ‘तोया गुरुङकोमा जा’ भन्नुभयो । दिदी एकेडेमिसियन पनि हुनुहुन्थ्यो । उहाँलाई पनि गएर भनेँ । अनि पाएँ ।

प्रस्तुति : प्रकाश गुरागाईँ

तपाईको प्रतिक्रिया