logo

bar

बिर्सन चाहेको उपराष्ट्रपति कार्यकाल

योगेश ढकाल काठमाडाैँ, २२ वैशाख | बैशाख २२, २०७५

चार दशक न्यायिक प्रक्रियासँग जोडिएर जीवन गुजारे, पूर्वउपराष्ट्रपति परमानान्द झाले । अवकाशजीवनपछि देशको दोस्रो सम्मानित पदमा पुगे । अदालतमा रहँदाको जागिरेजीवन होस् वा उपराष्ट्रपति हुँदाको समय । उनी सधैँ चर्चामा रहे । संयोग वा नियतवशले आफ्नो चर्चा भएको ठान्छन् अहिले उनी । र, विगत भुलेर दैनिकी सहज बनाउन चाहन्छन् ।

अदालतको जागिरेजीवनमा चरेसकाण्डले उनको चर्चा चुलियो । उपराष्ट्रपतिमा निर्वाचित भएपछि हिन्दी भाषामा शपथ लिँदा पनि कम चर्चा भएन । उनी सधैँ चर्चाको केन्द्रमै रहे । उनका गतिविधिमा टीका–टिप्पणी भए ।

 

त्यसपछि अन्तर्वार्तामार्फत उनी गुन्जिन थाले । जुनसुकै पदमा रहँदा चर्चाको जीवन गुजारेका तिनै पूर्वउपराष्ट्रपति अहिले गुमनाम छन् । त्यो चर्चा र यो गुमनामले झाको मनोविज्ञान कस्तो बनेको होला ?

पूजा होइन ध्यान गर्छन् अचेल

एक वेला थियो, बिहान आँखा मिच्दै मर्निङवाक । मर्निङवाक फर्केर पूजापाठ अनि हतारमै खानापछि अदालत दौडिनुपर्दथ्यो । दिनभर अदालतको इजलासमा, साँझतिर साथीभाइसँगको भेटघाटमा अनि निवासमा । यस्तै जीवन गुजारेर अवकाश पाएका परमानान्द झा उपराष्ट्रपति बने । त्यसपछि जिन्दगीको पाटो फेरियो ।

पहिलेजस्तो फुक्काफाल हुन पाएनन् । उनी अचेल बिहान ५ बजे उठिसक्छन्, तर मर्निङवाक जाँदैनन् । न धोती फेरेर पूजापाठ नै गर्छन् । बरु ध्यानमा बस्छन् । कहिले १५ मिनेट, कहिले १ घन्टा । ‘ध्यान गर्ने कुरा निश्चित समय तोकेर हुँदैन,’ पूर्वउपराष्ट्रपति झा भन्छन् ।

किन जाँदैनन् मर्निङवाकमा ? ‘वास्तवमा उपराष्ट्रपति भएपछि सरकारले दिएको सुरक्षाकर्मीका कारण मर्निङवाकमा जान सकिनँ,’ झा खुल्न थाले । हुने रै’छ के भनेचाहिँ मर्निङवाक जाँदा साथमा सुरक्षाकर्मी हुने । साथीभाइ नहुने । सुरक्षाकर्मी अलिक पर हुने भए । कुराकानी गर्न पनि नमिल्ने । अनि छोडियो मर्निङवाक । ध्यानपछि रेडियो सुन्छन् । पत्रिका पढ्छन् । अनि चियानास्तासँगै बिहानी गुजार्छन् ।

टिभी र तासले कटेको दैनिकी

११ बजेतिर खाना खान्छन् पूर्वउपराष्ट्रपति झा । खानापछिको समय वास्तवमै झन्झट र अत्यासलाग्दो हुन्छ । दिनभरि सुत्न पनि नमिल्ने । टिभी मात्रै हेरेर पनि बिताउन नसकिने । आफन्त, साथीभाइ आउँदा त दिन कटेको पत्तो हुन्न । नत्र उनी टिभी हेर्ने, आध्यात्मिक पुस्तक पढ्ने गर्छन् ।

‘साथीभाइ आउँदा दिन कटाउन तास पनि खेल्छु,’ उनले भने । पहिलाजस्तो चाहिँ खेल्दैनन् उनी । अनि कहिलेकाहीँ सामाजिक कार्यक्रममा पनि सहभागी हुन्छन्, अतिथिको रूपमा । तर, कार्यक्रम छानेर महिनामा १–२ पटक ।

पहिलाजस्तो आजभोलि साथीभाइ भेट्न आउँदैनन् उनलाई । त्यसैले उनको निवास सुनसान हुन्छ, गौरीघाटको व्यस्त बस्तीमा पनि । कहिलेकाहीँ वकिलहरू आउँछन् । पूर्वन्यायाधीश आउँछन् । ‘वर्तमान न्यायाधीशहरूसँग चाहिँ भेट गर्दिनँ, अरूसँग कहिलेकाहीँ भेट हुन्छ,’ पूर्वउपराष्ट्रपति झा भन्छन्, ‘आफू नेता परिएन अनि घरमा को आउँछ त नि भेट गर्न ?’

 

उपराष्ट्रपति पदले उनको जीवनयापनमा कुनै फरक पारेन । बरु उल्टै बन्देज लगायो खुलापनमा । ‘जीवनमा उपराष्ट्रपति हुनुले तात्विक फरक पार्दैन भने किन सम्झनु त्यो पद ? जुन पदले जीवनयापनमा केही फरक पार्दैन भने त्यो पद बिर्सनलायक हो,’ उनले प्रस्ट पारे ।

 

त्यसैले उनी उपराष्ट्रपति हुनुलाई संयोग मान्छन् । र, जीवन धान्न गाह्रो भएको गुनासो गर्छन् । उनको गुनासो छ, ‘न्यायाधीशबाट अवकाशपछिको पेन्सनको आम्दानीले जीवन धान्न गाह्रो भयो ।’

आध्यात्मिक पुस्तक पढ्छन्

खासमा अचेल पूर्वउपराष्ट्रपति झालाई कानुनका पुस्तक पढेर अपडेट हुन मन लाग्दैन । कानुनका पुस्तक पढ्ने भनेको अभ्यासमा जानलाई हो । अब अभ्यास गर्नुपर्ने छैन । ‘म पूरा अवकाश जीवनमा छु अनि किन पढ्नु कानुनका पुस्तक,’ उनी भन्छन् । उनी देशमा भइरहेका विभिन्न गतिविधिबारे समाचारमार्फत अपडेट हुन्छन् । बरु केही आध्यात्मिक पुस्तक मन लाग्दा पढ्छन् ।

अवकाशपछिको खर्चिलो जीवन

पूर्वउपराष्ट्रपतिको दैनिकी सान, सौकतसहितको हुन्छ भन्ने ठान्नु अस्वाभाविक होइन । तर, उनको निवास पुग्दा यो भ्रम तोडिन्छ । सम्पत्तिको नाममा उनीसँग जागिरेजीवनमा बनाएको एउटा सामान्य घर छ ।

त्यसबाट आम्दानी हुने कुरै भएन । सरकारले एउटा गाडी दिएको छ । तर, पेट्रोल, डिजेल आफैँ हाल्नुपर्छ । न त गाडीचालक नै दिएको छ । ‘केवल एउटा गाडी छ, अरू सब आफ्नो निजी खर्चले धान्नुपर्छ,’ पूर्वउपराष्ट्रपति झा  भन्छन्, ‘वास्तवमा  अवकाशपछिको जीवन खर्चिलो  र बोझिलो भएको छ ।’

पूर्वराष्ट्रपतिलाई सरकारी निवास, सचिवालय, गाडी, चालक, तेल सबै सरकारले दिएको छ । तर, पूर्वउपराष्ट्रपतिलाई सुरक्षाका लागि ८ जना टुकडीको सेना र एउटा गाडी । ‘सुरक्षाकर्मी पनि मेरा लागि झन्झट मात्रै भएका छन्,’ पूर्वउपराष्ट्रपति झाले गुनासो गरे, ‘बरु उनीहरूलाई फिर्ता गरेर घरको फ्ल्याट भाडामा लगाउन पाए १५–२० हजार त आम्दानी हुन्थ्यो ।’

अहिले उनले पेन्सनबाट घरखर्च चलाइरहेका छन् । ‘उपराष्ट्रपतिले सान र खर्च बढायो । तर, सीमित आम्दानी भएकाले धान्न गाह्रो भयो,’ पूर्वउपराष्ट्रपति झा भन्छन् । उनका अनुसार ड्राइभरलाई दिने तलब र गाडीमा लाग्ने तेलबाहेक गाडीको मर्मतका लागि मात्र महिनामा १३–१४ हजार खर्च हुन्छ ।

बिर्सन लायक त्यो समय

कुराकानीका दौरान पूर्वउपराष्ट्रपति झा केही भावुक भए । आर्थिक भारले हो वा जीवनप्रतिको बुझाइले । उनी खुलेनन् । तर, उनले भनिदिए, ‘वास्तवमा म उपराष्ट्रपति अवधिलाई बिर्सन चाहिरहेको छु ।’ यसको मतलब उपराष्ट्रपति पदले उनको जीवनयापनमा कुनै फरक पारेन ।

बरु उल्टै बन्देज लगायो खुलापनमा । ‘जीवनमा उपराष्ट्रपति हुनुले तात्विक फरक पार्दैन भने किन सम्झनु त्यो पद ? जुन पदले जीवनयापनमा केही फरक पार्दैन भने त्यो पद बिर्सनलायक हो,’ उनले प्रस्ट पारे ।

उनका अरू पनि दुःख छन्, हिजोझैँ झोला बोकेर बेमतलबी भएर हिँड्न भएन सडकमा । तरकारी किन्न झोला बोकेर असन निस्कन मिलेन । त्यसैले त उनी भन्छन्, ‘हरेकपटक उपराष्ट्रपति पद आवश्यक छैन नेपालजस्तो मुलुकमा ।’

एक्लोपन आत्मिक सुख

पूर्वउपराष्ट्रपति झाको ५ दशक कसैले कोरिदिएको कार्यतालिकामा चल्यो । भनेको समयमा आफन्तसँग भेट भएन । भेटमा आत्मीय कुरा गर्ने वातावरण मिलेन । १५ कात्तिक २०७२ पछिका दिन केही भए पनि आनन्ददायी छन् उनका लागि । आफन्तसँग आत्मीय भएर गफिन मिलेको छ । अनि एक्लो र फुर्सदिलो जीवन भएको छ । भन्छन्, ‘एक्लोपन एउटा आत्मिक सुख हो, त्यही सुख भोग गरिरहेको छु ।’

सहरमा जीवन छैन

काठमाडौंका घर पूर्वउपराष्ट्रपति झाका लागि दुःखको कारण मात्रै हो । ‘वास्तवमा काठमाडौंमा समाज छैन,’ झा गाउँले दिनतिर ढल्किए । र, अहिलेको जीवनदर्शन केलाए । ‘काठमाडांैमा घर चाहिने भनेको आफ्नो जागिरे जीवनकाल र पढ्न बस्ने छोराछोरीका लागि मात्र हो । बुढेसकालमा त काठमाडौंको घर दुःखको कारण मात्रै हो,’ उनले आफैँसँग जोडेर भने ।

पूर्वउपराष्ट्रपति झाको नजरमा गाउँले समाज निर्दोष छ, निस्वार्थी छ । त्यसैले त उनी आजभोलि गाउँले जीवनमा रमाउन थालेका छन् । उनी अचेल हरेक महिना गाउँ जान्छन् । सप्तरीको बलानबिहुल गाउँपालिकाको मौवाहा गाउँ हो उनको पुख्र्यौली थलो ।

त्यहाँ पुग्दा बसिदिन्छन् २०–२२ दिन नै । खेतबारीमा जान्छन् । पुख्र्यौली जग्गाजमिन अझै छ उनीसँग । आँपको बगंैचा छ । काठका लागि प्रयोग हुने ‘टिक’ को रूख लगाएका छन्, एक सयजति । अनि गफिने बालसखा ।

राजनीतिक भेटघाट हुन्न

हुन त उनी संघीय समाजवादी फोरमको सिफारिसमा निर्वाचित भएका थिए उपराष्ट्रपति । तर, उनी राजनीतिक व्यक्ति भने होइनन् । ‘म राजनीतिक नेता परिनँ, त्यसैले नेता–कार्यकर्ता कोही आउँदैनन् भेट्न, म पनि जान्नँ,’ उनी भन्छन् । कहिलेकाहीँ उपेन्द्र यादवसँग टेलिफोनमा कुराकानी हुन्छ उनको ।

फोरमबाहेकका नेतालाई उनले भेटेका छैनन् । एकपटक प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवालाई भेटेका थिए । दुवैलाई प्रधानमन्त्री भएका वेला । ‘नेताहरूमा अरूलाई सम्मान गर्नेभन्दा पनि आफूलाई भेट्न आओस् भन्ने सोच हुन्छ, अनि के भेट्न जानु,’ पूर्वउपराष्ट्रपति झाले भने ।

तपाईको प्रतिक्रिया