logo

bar

कठघरामा हिसिला यमी

खगेन्द्र पन्त/ नयाँ पत्रिका काठमाडौं, २२ वैशाख | बैशाख २२, २०७५

भियोग १ : राजनीतिक वृत्तमा टिप्पणी हुन्छ–डा.बाबुराम भट्टराईको छवि बिगार्नमा हिसिला यमीको मुख्य भूमिका छ । पत्नी र नेतृका रूपमा तपार्इंको काम गर्ने शैली, बोल्ने तरिका र स्वभावले बाबुरामका राम्रा कामलाई ओझेल पार्दै छवि धूमिल बनाउँदै लगेको छ ।

यस्ता आरोप मलाई मात्रै लाग्ने होइन, सबै नेताका पत्नीहरूले खेप्नुहुन्छ । धेरै टाढा जानु पर्दैन, अमेरिकामा हिलारी क्लिन्टन । उनको विरुद्धमा त ह्यासट्याग नै सुरु भयो । मैले उनको किताब पनि पढेँ ‘ह्वाट ह्यापन’ भन्ने । म सचेत महिला हुँ, छु । सामन्ती पितृसत्तात्मक होस्, पुँजीवादी पितृसत्तात्मक होस् वा समाजवादी पितृसत्तात्मक व्यवस्था नै किन नहोस्, एउटा सचेत महिला यस विषयमा सधैँ सचेत भइराख्छे । र, कन्स्टेन्ट्ली ऊमाथि प्रहार भइरहेको हुन्छ । यस्ता कुरामा उसले डिल गर्न सकिन भने ऊ राजनीतिज्ञ बन्न सक्दिन । डिल गर्न नसकेरै धेरै मान्छेले आत्महत्यासमेत गरेका छन् । त्यसकारण सबै राजनीतिज्ञले के बुझ्नुपर्छ भने यसरी प्रहार हुँदाखेरि सकारात्मक के हुन्छ भने सधैँ सचेत बन्न पाइन्छ । आफूलाई ‘अटो करेक्सन’ गर्ने मौका पाइन्छ । दुःखको कुरा, जुन मौका पुरुषले पाउँदैनन् । महिलाले पाइराख्छन् र आफूलाई करेक्सन गर्दै संघर्ष गरिराख्छन् ।

त्यसकारण तपार्इंले भनेको आरोप सत्य भएको भए त अहिलेसम्म बाबुरामजी र मेरो सम्बन्धविच्छेद भइसक्थ्यो । हामीले विवाह गर्दाखेरि एउटा संकल्प गरेका थियौँ । जबसम्म हामी लक्ष्यमा केन्द्रित हुन्छौँ, तबसम्म हाम्रो रिलेसन रहन्छ । जुन दिन लक्ष्यबाट विमुख हुन्छौँ, त्यो दिन स्वतः सम्बन्धविच्छेद गर्छौँ भन्ने त हाम्रो लिखित सहमति नै छ । ‘अविराम बाबुराम’ भन्ने पुस्तकमा पनि यो कुरा उल्लेख छ।

भियोग २ : पैसा देखेपछि तपार्इंको तेस्रो नेत्र पनि खुल्छ । शक्तिमा हुँदा हरेक काम र नियुक्तिमा पैसा खोज्नुहुन्छ । केशव स्थापितले त ‘गँड्यौला (पैसा) नबुझाएका कारण हिसिलाले मलाई उपत्यका विकास प्राधिकरणमा नियुक्ति दिइनन्’ भनेर सार्वजनिक रूपमै बोले ।

ल, उनको (केशव स्थापित) कुरा मान्नुभयो रे एकछिन । तर, मेरो स्ट्रक्चर हेर्नुस् त । चप्पल लगाइरहेछु । लिपस्टिक लगाएकी छैन । केही हाइफाई गरेकी छैन । मेरो बैंक खाता तपाईंं हेर्न जानुस् । म त बाबुरामजीको स्प्रिटलाई मानेर केही गर्दिनँ भनेर बसेकी हुँ । अहिले आएर बल्ल मेरी दिदीले आफ्नो नामको ६ आना जग्गा एकदम सस्तोमा मलाई बेचेकी छिन् । अब बल्ल हिसिला यमी ६ आना जग्गाको मालिक भएकी छे । त्यो पनि कस्तो ठाउँको भने चार फिट बाटो भएको, जहाँ मोटर पनि जाँदैन । न गाउँमा मेरो सम्पत्ति छ । यो सुन (कानको टप देखाउँदै) पनि मेरी दिदीले ल्याइदिएकी हुन् । महिलाको एउटा चिह्न त लाऊँ भनेर लगाएकी हुँ । मेरी दिदी अमेरिकामा छिन् । शुभचिन्तकले पनि अनेक गिफ्ट ल्याइरहेका हुन्छन् ।

यो सब आरोपले हाम्रो देशको आर्थिक धरातल कहाँ रहेछ भन्ने देखाउँछ । यसलाई मैले पर्सनलाइज गरेकै छैन, म हाँस्छु यस्ता कुरा सुन्दा । भारतको कानपुरमा धनीभन्दा धनी मान्छेले चप्पल लगाएर सरल रूपले हिँडेको देखेर आएकी मान्छे हुँ म । एकचोटि म मन्त्री कि सभासद् भएको वेला दिदीकहाँ गएँ । मसँग ब्याग थिएन त्यतिखेर । दिदीको ब्याग अलमारीमा राखिएको थियो । मैले दिदी ‘मलाई ब्याग देऊ न’ भनेँ । दिदीले ‘लैजाऊ’ भनिन् । आफूलाई त थाहा पनि थिएन, त्यो त महँगो ब्रान्डको रहेछ । त्यो त यत्रो न्युज बन्यो– हिसिलाले यति महँगो ब्याग बोकी भनेर । समाचार आएपछि दिदीले ‘यो त यति महँगो रहेछ, मै लैजान्छु’ भनेर लगिन् । त्यसकारण, मान्छेले आरोप लगाउँदा पनि बडील्यांग्वेज हेर्नुपर्छ, होमवर्क गर्नुपर्छ, अध्ययन गर्नुपर्छ नि । अनि, सुन्न पनि मजा लाग्छ ।

भियोग ३ : तपाईंमा परिवारवाद हाबी छ । शक्तिमा हुँदा दिदीबहिनीलगायत आफन्तलाई पहिलो प्राथमिकतामा राखेर नियुक्ति दिलाउनुभयो । उनीहरूलाई जागिर खुवाउन डा.बाबुराम भट्टराईलाई समेत प्रभावित बनाउनुभयो ।

डा. बाबुराम भट्टराईलाई पनि प्रभावित पार्‍यो चाहिँ नभन्नुस् । किनभने, उहाँ प्रधानमन्त्री भएको वेला कुनै पनि नियुक्ति भएको छैन । म आफैँ मन्त्री भएको वेला नियुक्ति भएको हो । बरु, त्यसमा मेरो पार्टीबाट असहयोग भएको हो, विशेष गरेर मेरा दाइको नियुक्तिको वेला । उनी इन्जिनियर हुन् । उनले मलाई एकदम प्रेसर गरिरहेका थिए । मेरा दाइ रिजनल इन्जिनियरिङ कलेज कस्मिरको टपर हुन् । मेरा दिदीबहिनी, दाजुभाइ सम्पन्न परिवारका हुन् । उनीहरूलाई त्यो नियुक्ति खाएर कुनै ठूलै आर्थिक लाभ हुने होइन, एउटा बोर्ड मिटिङ बस्दाखेरि पाँच सय रुपैयाँ भत्ता त पाउँथे होलान् । खास गरेर दाइले ‘म काम गर्छु’ भनेका थिए । फेरि कस्तो संयोग भएको थियो भने म मन्त्री हुनु र त्यसको एक महिनापछि उनी रिटायर्ड भएका थिए ।

मैले त्यतिखेर इन्जिनियरिङ विभागलाई पटक–पटक आग्रह गरेँ– एउटा इन्जिनियर पठाइदिनुस्, खानेपानीसँग सम्बन्धित मान्छे मलाई आवश्यक पर्‍यो, तत्काल चाहियो । तर, १० चोटि आग्रह गर्दा पनि पठाइएन । मलाई फेलियर बनाउन हो कि किन हो, बुझ्न सकिएन । अब मैले कसै न कसैको नाम त राख्नैपर्ने थियो । उताबाट जति आग्रह गर्दा पनि नाम दिँदैन, यता मेरा दाइले रुचि देखाएको देखायै छन् । फेरि, त्यो पत्र ठ्याक्कै मैले लेखेकी होइन । मेरा एक स्टाफले ‘दिदी विभागबाट नाम दिन्न, दाइ हुँदा के बिग्रन्छ र काम गर्छु भन्नुभएको छ’ भने । र, पत्र लेखियो । कुरा यत्ति हो । अब यसलाई तपाईंले परिवारवाद भन्ने हो भने ‘सरी, आइ एम सरी’ । परिवारवादमा म फसेँ ल । तर, सबै दाजुभाइ दिदीबहिनी एकसेएक छन् । तपाईंले उनीहरूको सम्पत्ति हेर्ने हो भने हिसिला यमी मन्त्री भइसकेपछि उनीहरूको सम्पत्ति धेरै बढेको छ भने अख्तियारलाई एउटा राम्रो होमवर्क छ, अहिले पनि गर्न सक्छ । मेरै सम्पत्तिमाथि त झन् गरोस भन्छु म त । यसबाट कम्तीमा सबैले थाहा पाउँछन् कि हिसिला यमी पहिला माइतीमा हुँदाखेरि कति धनवान् रहिछ र अहिले कति धनवान् भइछ ? यो कुरा हुबहु लेखिदिनुस् ।

भियोग ४ : कस्ता कार्यक्रम र कुन ठाउँमा के बोल्ने भन्ने तपाईंले हेक्का नै राख्नुहुन्न । जसका कारण पटक–पटक विवादमा पर्नुका साथै आलोचनासमेत खेप्नुहुन्छ । नयाँ शक्ति पार्टीले निर्वाचन आयोग घेराउ गर्न जाँदा ‘यो देश खारेज गर’ भनेर तपाईंले लगाएको चर्को नारा भाइरल नै भयो । कतिपयले यसलाई हिसिला यमीले सिके राउतको बाटो समातेर विखण्डनको वकालत गरिन् पनि भने।

त्यसको काउन्टरमा मैले दिएको जवाफ पनि भाइरल भएको छ नि । कुन नेताले त्यसरी फ्र्यांकली आफ्ना कुरा अभिव्यक्त गर्छ ? यसबारे पनि चर्चा भइदिए राम्रो हुन्थ्यो । तपाईंले लगाएको यो आरोपको उत्तर भाइरल भएको मेरो जवाफमै छ, तपाईंले हेर्नुभएको छैन (हाँसो…) ? तपाईंहरूलाई सजिलो होस् भनेर मैले एउटा नेताका रूपमा त्यतिवेलै सबै पत्रकारलाई बोलाएर त्यसबारे बताइसकेँ । त्यो ओजलाई म न्यूनीकरण गर्न चाहँदिनँ । त्यसकारण यसबारे पटक–पटक कति जवाफ दिनु ? मेरो जवाफ पनि त्यत्तिकै भाइरल भएको छ, त्यही हेर्दा राम्रो ।

भियोग ५ : असाध्यै जिद्दी हुनुहुन्छ । आफू वा डा. बाबुराम भट्टराई शक्तिमा हुँदा जसरी पनि आफ्नो कुरा लागू गराई छाड्नुहुन्छ । यही स्वभावका कारण बाबुराम प्रधानमन्त्री हुँदा उनका सचिवालयका सदस्यहरूसँग समेत तपाईंको वेला–वेला खटपट परिरह्यो । कसैसँग त झन्डै महिना दिनसम्म बोचचालसमेत बन्द भएका समाचार पनि बाहिर आए ।

ओहो ! बाबा, यो त म पहिलोचोटि पो सुनिरहेछु । को हो त्यस्तो ? अब म जिद्दी छु कि छैन भन्ने कुरा त तपाईंले वा अरूले बुझ्ने/मूल्यांकन गर्ने कुरा हो । जिद्दी भनेको ‘नेगेटिभ’ शब्द हो । कुन कुरामा मैले जिद्दी गरेँ भन्ने ‘स्पेसिफाई’ गरे हुन्थ्यो, ‘जेनेरेलाइज’ गर्नु भएन । सचिवालयमा केही त्यस्तो भएको मलाई त थाहा छैन । बरु, अहिले विगततिर फर्केर ‘ममाथि किन यति धेरै एट्याक भयो होला त्यतिखेर’ भनेर सोच्दा दुई–चार कारण पाउँछु । पहिलो, सिधा–सिधा प्रधानमन्त्री कार्यालयलाई ‘एट्याक’ गर्नुभन्दा हिजो राजा वीरेन्द्रलाई ‘एट्याक’ गर्दा पहिला रानी ऐश्वर्यलाई ‘एट्याक’ गरिन्थ्यो । त्यस्तै गरियो (हाँसो) ।

त्यतिखेर बाबुरामलाई मेरो थ्रुबाट हिर्काउन खोजेको हो । यो सामन्ती तरिका हो के । सामन्तीले जहिले पनि ‘इन्डाइरेक्टली’ गर्छ के । बरु, बुर्जुवाहरूले सीधै गर्छन् । एउटा यो समस्या होे ।

दोस्रो, म पत्रकारको नाम भन्दिनँ । एउटा प्रतिष्ठित पत्रकारले ‘हिसिलाजी, तपाईं फस्र्ट लेडी बन्नुभएको छ । वृद्धाश्रमतिर जानुस्, केही डोनेसन दिनुस् । सामाजिक रूपमा कमजोर मानिसलाई चियापान गराउनुस्’ भन्नुभयो । अब म परेँ जनयुद्धबाट फर्किएकी मान्छे, त्यो वेला सभासद् पनि थिएँ । त्यसकारण म उनीहरूको योग्यताभित्र परिनँ कि ? सबैतिर एक्टिभ भएँ । मेरो एक्स्ट्रोभर्ट क्यारेक्टर, एक्टिभिटिज मान्छेहरूलाई पचेन । त्यही भएर तथानाम आरोप लगाए । म स्वाभाविक मान्छु त्यसलाई।

भियोग ६ : तपाईं सार्वजनिक कार्यक्रम र भेटघाटमा पदीय गरिमाअनुसार आफ्नो पोसाक र प्रस्तुतिमा समेत ध्यान दिनुहुन्न । जसले गर्दा आलोचना खेप्नुहुन्छ ।

यसमा दुइटा कुरा तपाईंलाई भन्न चाहन्छु । सुरु–सुरुमा म सभासद् भएको वेला जिन्स पाइन्ट लगाउँथेँ । मान्छेहरूले ‘तपाईंं सभासद् भइसक्नुभयो, जिन्स पाइन्ट नलगाउनुस्’ भने । त्यसपछि जिन्स पाइन्ट लगाउन छाडेँ, अहिलेसम्म लगाएकी छैन । म पहिला–पहिला सारी लगाउँथेँ, जनयुद्धताका पनि साडी नलगाएकी होइन । तर, हाम्रै महिलाहरूले ‘दिदी तपाईंं साडी नलगाउनुस्, साडीको बेइज्जत नगर्नुस्’ भने । मैले पनि ‘धन्यवाद’ भनेँ । मलाई पनि साडी लगाउन झन्झट लाग्ने क्या । अचेल कहिलेकाहीँ तिजको वेला, एकदम नजिकको साथीले दिएको भोजमा मात्रै म साडी लाउँछु । साडी लाउने मेरो नेचर पनि होइन । त्यो दृष्टिकोणबाट ती महिलालाई सम्मान गरेको छु साडी नलाईकन भन्ने लाग्छ ।

तपार्इंले भनेको आरोप सत्य भएको भए त अहिलेसम्म बाबुरामजी र मेरो सम्बन्धविच्छेद नै भइसक्थ्यो । हामीले विवाह गर्दाखेरि एउटा संकल्प गरेका थियौँ । जबसम्म हामी लक्ष्यमा केन्द्रित हुन्छौँ, तबसम्म हाम्रो रिलेसन रहन्छ । जुन दिन लक्ष्यबाट विमुख हुन्छौँ, त्यो दिन स्वतः सम्बन्धविच्छेद गर्छौँ भन्ने त हाम्रो लिखित सहमति नै छ ।

 

भियोग ७ : राजनीतिकर्मी भए पनि तपाईंको प्राथमिकतामा पढेलेखेका महिला मात्रै पर्छन् । उनीहरूसँगै बढी संगत गर्न रुचाउनुहुन्छ । अशिक्षित र सर्वसाधारण महिलासँग हिमचिम बढाउन रुचाउनुहुन्न ।

सचेत महिला भएकाले पनि मेरो ध्यान महिलामै जान्छ । त्यसमा आफूलाई रोक्न सक्दिनँ । मैले पुरुषहरूलाई भन्ने पनि गरेकी छु, ‘सरी, तपाईंंहरू त्यति प्रिफिरेन्समा पर्नुहुन्न मेरो ।’ ५–६ जना बसेर कुरा गरिरहेको ठाउँमा महिला छन् भने म पहिला उनीहरूसँगै कुरा गर्न जान्छु । जहाँसम्म अशिक्षित महिलालाई हेप्छु भन्ने छ, जनयुद्धताका सचेत रूपमै पिएलएलाई भन्दा रहेछन्, ‘यी हेर–हेर, यी पढेलेखेकाले, यसले तिमीहरूलाई साह्रै हेप्छ ।’ जनयुद्धपछि जब हामी काठमाडौं आयौँ, प्रस्ट देखेँ । ठुल्ठूला नेताहरू त्यही पिएलए जसलाई हाइहाई गरी हिँड्थे, तिनीहरूलाई नै आँखाले समेत नहेरेर हिँडेको पनि मैले देखेको छु । जब कि म हात मिलाएर हिँड्थेँ । ती पिएलएहरूलाई सोधे हुन्छ । कोही मसँग एकदमै पूर्वाग्रही छ भने उसले के जवाफ दिन्छ भन्न सक्दिनँ । तर, म सचेत रूपले उनीहरूसँग हात मिलाउँथेँ । मैले देख्दादेख्दै केही नेताहरूले चाहिँ उपेक्षा गरेको मैले देखेकी छु ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला सुकुमबासीलाई कसरी व्यवस्थित गर्ने भन्ने हामीले योजना नै बनायौँ । मेरो मास्टर्स पनि हाउजिङमै हो । तिनीहरूलाई ठाउँ खोज्ने क्रममा हामी कहाँ पुगेनौँ ! तर, हाम्रै साथीहरूले विरोध गरे । उदाहरणकै रूपमा भन्ने हो भने पनि एकदम क्रान्तिकारी भएर पछि किरणतिरको नेता हुनुहुन्थ्यो, ललितपुरकै सांसद हो । हामीले ठाउँ पाएर टेम्पोररी टहरा नै बनायौँ, तर आफूलाई अब्बल क्रान्तिकारी भन्ने तिनै नेताले स्थानीयको कुरा सुनेर त्यहाँबाट लखेटे । चर्को विरोध गरे । हामी अचम्मित भयौँ । उनलाई चुनाव जित्नु रहेछ । बरु, हामीले मेरो निर्वाचन क्षेत्र ७ नम्बरमा ठाउँ दियौँ । सुकुमबासीका लागि भनेर घर बनायौँ, तर त्यहाँ सुकुम्बासी जान सकिरहेका छैनन् । किनभने, नियम–कानुन बनाउन कसैले वास्ता नै गरेको छैन । यसले पनि देखाउँछ कि हिसिला यमी एलिट वर्गबाट आएको हुनाले एलिट वर्गकै लागि काम गर्छे कि सर्वसाधारणका लागि गर्छे ? यो राम्रो उदाहरण हो । मेरो फेसबुकमै हेरे हुन्छ, बाबुराम भट्टराईले पनि राख्नुभएको छ ।

भियोग ८ : तपाईंलाई नजिकबाट चिन्ने माओवादी र नयाँ शक्ति पार्टीका नेता–कार्यकर्ता नै भन्छन्– तपाईं अनावश्यक ठाउँमा समेत हस्तक्षेप गर्न रुचाउनुहुन्छ । माओवादी हुँदै नयाँ शक्तिसम्म पुग्दा पनि तपाईं नेतृत्वको कार्यशैलीमा हस्तक्षेप गर्नुहुन्छ । माओवादीमा हुँदा प्रचण्ड र बाबुरामबीचका छलफलमा समेत तपाईं अनावश्यक टिप्पणी र प्रतिक्रिया जनाउनुहुन्थ्यो । जसले गर्दा सकारात्मक दिशामा गइरहेको छलफलसमेत भाँडिन्थ्यो ।

म आलोचना मन पराउने मान्छे हुँ । र, त्यो आलोचनाका आधारमा आफ्नाबारे ‘सेल्फ एनालाइसिस’ गरिरहन्छु । त्यसकारण मेरो ‘नेचर’, मेरो ‘विकनेस’ मलाई थाहा छ । मेरो ‘विकनेस’ मलाई भन्दियो भने म एकदम खुसी हुन्छु । र, अर्काको पनि ‘विकनेस’ देख्यो भने एकचोटि म भन्छु । तर, उसले राम्रो मानेन भने चुप लाग्छु । एकचोटिचाहिँ भन्छु । किनभने, हामी त ‘सोसियल एनिमल’ हौँ नि त । म बढी ‘सोसियल’ र कम ‘एनिमल’ हुँ जस्तो लाग्छ । ‘एनिमल’ हो भने त ‘कम्पिटिसन’मा गएर, उसले जति गल्ती गर्‍यो त्यसमा भित्रभित्रबाट गद्गद् हुने र बाहिरचाहिँ ‘ए राम्रो बोल्नुभएछ’ भन्ने हुन्छ । तर, म त्यस्तो होइन । एकचोटि त म ‘यस्तो हो, यस्तो भएछ’ भनेर भन्छु । उसले राम्रोसँग लिएन भने दोहोर्‍याएरचाहिँ भन्दिनँ । हुनुपर्ने पनि त्यही रहेछ । पार्टी बैठकहरूमा पनि मेरो स्वभाव यही हो । एकचोटि त भन्नुपर्छ । तपाईंकै साथी पत्रकारले तपाईंका बारेमा केही नराम्रो बोले भने म सुनेर रमाइराख्ने कि ‘तपाईंका बारेमा यस्तो कुरा आएको छ, बुझ्नुस् है’ भन्ने ? हो, तपाईं ‘दिदी पनि क्या नचाहिने कुरा गर्नुहुन्छ’ भनेर रिसाउनुभयो भने म दोस्रोपटक भन्नेवाला छैन ।

भियोग ९ :  डा.बाबुराम भट्टराईलाई सधैँ दबाबमा राख्नुहुन्छ । त्यही भएर उहाँले तपाईंका कुरा काट्न नसक्ने मात्रै होइन, पार्टीभित्रैबाट तपाईंमाथि दर्जनौँ आरोप लाग्दा पनि तपाईंका बारेमा केही टिप्पणीसमेत गर्नुहुन्न ।

बाबुरामजीको ट्विटरमा जानुस् । मान्छेहरूले उहाँलाई ‘टेन्सनमा बस्छन्, सानो–सानो कुरा पनि ट्विट गर्छन्’ भन्छन् । त्यसो भए त मेरा बारेमा पनि ट्विट गर्नुभएको छ होला । उहाँले मलाई पोजिटिभ्ली हेर्नुभएको छ कि नेगेटिभ्ली भन्ने उहाँको ट्विटरमा हेर्नुस् । आजभोलि सबै कुरा त्यहाँ थाहा भइहाल्छ ।

म उहाँसँग एक–दुईवटा कारणले छु । उहाँ बाहुन भएर असाध्यै समावेशी हुनुहुन्छ । र, डेमोक्रेटिक हुनुहुन्छ । र, यो कुरा पनि थाहा पाइराख्नुस् कि हामी दुईमध्ये कोही एक भोलि कसैसँग अफेयरमा पर्‍यौँ, मानौँ मलाई नै कुनै व्यक्ति मन पर्‍यो, लभमा परेँ । या, बाबुरामजी कुनै महिलाप्रति आकर्षित हुनुभयो, लभमा पर्नुभयो भने हामीबीच के अन्डरस्ट्यान्डिङ छ भने त्यो मान्छेसँग रिलेसन राख्नुअघि हामी एक–अर्कालाई भन्छौँ । अर्थात्, हामी एक–अर्कालाई चिटिङ गर्दैनौँ । लिखित नभए पनि यो हामीबीचको एकखालको सहमति हो ।

हामी एउटा लक्ष्यमा थियौँ । ‘ट्रान्सफर्मेटिभ पोलिटिक्स’मा आबद्ध भएका नाताले हामी जति पनि दुःख गर्न तयार छौँ । गाली खान तयार छौँ, खाइरहेका पनि छौँ । बाबुरामजीलाई मात्रै कम गाली गरिएको छ त भारतीय दलाल भनेर । अब एउटालाई भारतीय दलाल बनाइएको छ, अर्कोलाई एसियाकै भ्रष्ट महिला भनिएको छ । यो देशले यस्ता नेताहरू बनाएको छ हामीलाई (हाँसो…) । बाँकी जनताले हेर्ने कुरा हो । यी सबै कुरा सुन्दा देख्दा हामीलाई देश आइसियूमा गइरहेको छ, यसलाई जोगाउनुपर्छ भन्ने लाग्छ । हामीले काम गरेको अझै पुगेन भन्ने लाग्छ ।

भियोग १० : तपाईं समयअनुसार कार्यकर्तालाई प्रयोग गर्नुहुन्छ र पछि बिर्सनुहुन्छ । वर्षांै तपाईंको नजिक भएर काम गरेका कार्यकर्ताको नामसमेत तपाईंलाई याद हुन्न । हरेक दिन ‘तपाईंको नाम के रे’ भनेर सोध्नुहुन्छ ।

यो समस्या छ मेरो । कोही–कोहीलाई देख्नासाथ चिनिहाल्छु । तर, तीन–चारचोटि बसेर कुरा नगरेसम्म चिन्दिनँ । उदाहरणका लागि तपाईंलाई मैले फस्र्ट टाइम देखेँ । अब तपाईं आफ्नो काम र म आफ्नो काममा व्यस्त भएर बीचमा भेट भएन भने म चिन्दिनँ । तीन–चारचोटि हाम्रो कुरा भयो भने मलाई समस्या हुँदैन । एकचोटि भेट्दा मात्रै म सम्झिन सक्दिनँ । यदि त्यो समस्या हो भने मेरो समस्या हो ।

भियोग ११ : तपाईंमा शालीन र मर्यादित राजनीतिक संस्कार छैन । आफ्नै मतदाता र कार्यकर्ताको पनि सम्मान गर्नुहुन्न । दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपछि मिडियामै ‘थुक्क, जनताले कुरै बुझ्दैनन्’ भनेर प्रतिक्रिया दिनुभयो ।

कुनचाहिँ मिडियाले त्यसरी छापिदियो ? सरी ! नो चान्स, मैले त्यस्तो बोल्ने चान्स नै छैन । अहिले यहाँको मिडिया देखिहाल्नुभयो नि । प्लिज, तपाईं त्यस्तो मिडियाम्यान नहुनु । म हिसिला यमी त्यस्तो भन्ने मान्छे होइन । तल्लोभन्दा तल्लो तहको मान्छेले तल्लैस्तरको गाली गरे पनि मैले ‘उसको स्थान जति तल्लो हुन्छ, त्यहीस्तरको तल्लै स्थान दिन्छ’ भन्ने गरेकी छु ।

एउटा दलितले गाली गर्‍यो भने म उसलाई गाली गर्दिनँ । किनभने, उसलाई यो समाजले जस्तो ठाउँमा पुर्‍याएको छ, उसले त्यस्तै शब्द प्रयोग गर्छ । त्यो कुरा त म बुझ्छु नि । मान्छे जुन धरातल, जुन ब्याकग्राउन्डबाट आएकोे हुन्छ, त्यहीअनुसार जवाफ आउँछ । दुःखको कुरा के छ भने आफूलाई माथिल्लो तहको सोसिएल भन्नेले पनि, धरातल उच्च भएकाहरूले पनि, पढेलेखेकाले पनि त्यस्तै तल्लोस्तरको गाली गर्दाखेरि चाहिँ मलाई दुःख लाग्छ । तर, समाजले हिलोमा हुत्याइदिएको व्यक्तिले स्वाभाविक रूपमा हिलै शब्दमा गाली गर्छ ।

भियोग १२ : चाँडै रिसाउनुहुन्छ । कुरै नबुझेर पनि आवेगमा आउनुहुन्छ । जसले गर्दा पार्टीभित्र र बाहिर चाँडै तपाईंको आलोचना हुन्छ ।

म एक्स्ट्रोभर्ट मान्छे हुँ । एक्स्ट्रोभर्ट मान्छेको समस्या नै त्यही हुन्छ जस्तो लाग्छ । इन्ट्रोभर्टले धेरै सोचेर बोल्छ । एक्स्ट्रोभर्ट भनेको अलिकति स्वतस्फूर्त हुन्छ । त्यसबाट म सचेत हुनुपर्छ । त्यहाँसम्मको आलोचना म मान्छु । किनभने, म एक्स्ट्रोभर्ट मान्छे हुँ । त्यसबाट आउने क्षतिप्रति म सचेत हुनैपर्छ ।

तपाईको प्रतिक्रिया