logo

bar

दुई गुणा बढ्यो कारोबार रकम

नयाँ पत्रिका काठमाडौं, २१ वैशाख | बैशाख २१, २०७५

साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलव ७७ अंक बढेको छ । नेप्से उकालो लागेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम दुई गुणा बढेको छ ।

बुधबार ३८ करोडको कारोबार भएको बजारमा यस दिन करिब ७७ करोडको सेयर खरिद–बिक्री भएको छ । केही दिन ओरालो लागेको बजार बुधबार उकालो लागेपछि लगानीकर्ताको मनोबल बढेको छ । यस दिन बजारमा उतार–चढाव देखिएको थियो ।

तेस्रो त्रैमासमा कम्पनीहरूको वित्तीय अवस्था नाफामूलक रहनुले बजारमा सकारात्मक प्रभाव परेको एक ब्रोकरले बताए । लगानीकर्ताहरू अहिले वित्तीय विवरणको विश्लेषण गरेर लगानीको रणनीति बनाइरहेको उनको भनाइ छ । यसले आगामी दिनमा बजारलाई सकारात्मक गति दिने पनि उनले बताए ।

यस दिन १ सय ६९ कम्पनीको ७ हजार ७ सय १५ पटकको कारोबारमा ७६ करोड ८३ लाख ७२ हजार २ सय ९३ बराबरको १४ लाख ६५ हजार ५ सय ९३ कित्ता सेयर खरिद–बिक्री भएको छ । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा ६ अर्ब ७६ करोड बढेर १६ खर्ब ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस दिन फ्लोट बजार पुँजीकरण २ अर्ब ५७ करोड बढेर ५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ११ अंक बढेर २ सय ८८ दशमलव २९ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५७ दशमलव ८६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन सो बैंकको ५ करोड ७७ लाखभन्दा बढीको १ लाख ६१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । तेस्रो त्रैमासमा उल्लेख्य नाफा आर्जन गरेका कारण लगानीकर्ता यस बैंकतर्फ आकर्षित भएका हुन् । कारोबार संख्याका आधारमा भने यस दिन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ ।

सो कम्पनीको यस दिन ४ सय ८८ पटक सेयर खरिद–बिक्री भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन करिब १० प्रतिशत बढेको छ । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन ५ दशमलव ११ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये यस दिन १ सय ४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार होटेल र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन बिमा समूहको परिसूचक १ दशमलव शून्य ८ प्रतिशत बढेको छ ।

त्यसैगरी, जलविद्युत् समूहको परिसूचक १ दशमलव शून्य १ प्रतिशत, माइक्रो फाइनान्स समूहको शून्य दशमलव ९५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५८ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ४६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ३ प्रतिशत र डेभलपमेन्ट बैंकको शून्य दशमलव २२ प्रतिशत बढेको छ । कारोबारमा आएको होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ४३ प्रतिशत घटेको छ भने अन्य समूहको शून्य दशमलव ३९ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया