logo

bar

२८ लाख ब्लडमनी हस्तान्तरण

लक्ष्मण खनाल/नयाँ पत्रिका युएई, १७ वैशाख | बैशाख १७, २०७५

चितवन खैरेनीका टोपबहादुर विकलाई युएईको अदालतले फैसला सुनाएको ब्लडमनी एक लाख दिहराम (करिब २८ लाख नेपाली रुपैयाँ) एनआरएन युएईले अबुधाबीस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरेको छ । ४ वर्षअघि कामको सिलसिलामा टोपबहादुरले चलाएको क्रेन दुर्घटनामा परी दुईजना थाई नागरिकको मृत्यु भएको थियो । घटनापश्चात् मृतकका परिवारलाई ब्लडमनीबापत एक लाख दिहराम दिन युएई अदालतले आदेश दिएको थियो । सो ब्लडमनी तिर्न नसक्दा टोपबहादुर घर फर्कन पाएका थिएनन् ।

एनआरएन युएईको संयोजकत्वमा ‘टोपबहादुर बचाऊ अभियान’ १६ मार्च ०१८ देखि सुरु भएको थियो । युएईमा क्रियाशील नेपाली संघ–संस्था र प्रतिनिधिको सक्रियतामा आवश्यक रकम संकलन गरी शनिबार युएईस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरिएको हो । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले सो रकम कार्यवाहक राजदूत सागर फुँयाललाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष श्रेष्ठले टोपबहादुर बचाऊ अभियानमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यवाहक राजदूत फुँयालले टोपबहादुरको नेपाल फिर्तीका लागि ब्लडमनी भुक्तान गरी आइतबारदेखि नै कानुनी प्रक्रिया अगाडि बढाउने बताए । साथै, उनले रकम संकलन अभियानका लागि एनआरएन युएई र अन्य संस्थालाई धन्यवाद दिएका थिए ।

नेपाल पुगेजस्तै भएको छ : टोपबहादुर
युएईको अदालतको फैसलाअनुसारको ब्लडमनी संकलन गरी दूतावासमा बुझाएपछि पीडित टोपबहादुर विकले नेपाल पुगेजस्तै भएको बताए । टोपबहादुर ६ वर्षदेखि नेपाल गएका छैनन् । आर्थिक अवस्था न्यून भएका कारण सो रकम तिर्न नसक्दा उनको नेपाल फिर्ती अनिश्चित बनिरहेको थियो ।

तपाईको प्रतिक्रिया