logo

bar

टोपबहादुर विकको लागि आवश्यक ब्लडमनी तयार

लक्ष्मण खनाल  युएई, १२ वैशाख | बैशाख १२, २०७५

चितवन खैरेनीका टोपबहादुर विकलाई नेपाल फर्कन आवश्यक एक लाख युएई दिहराम (करिब २८ लाख नेपाली रुपैयाँ) ब्लडमनी संकलन भएको एनआरएन युएईले जनाएको छ ।

‘टोपबहादुर बचाऊ अभियान’ अन्तर्गत एनआरएन युएईको संयोजकत्वमा १६ मार्च २०१८ देखि सुरु भएको रकम संकलन अभियान आजैका दिनदेखि बन्द गरिएको घोषणा गर्दै एनआरएन युएईले आफ्नो फेसबुक मार्फत सो जानकारी गराएको हो ।

एनआरएन युएईले आर्थिक संकलन अभियानमा साथ दिने नेपाली राजदुतावास युएई, क्रियाशिल विभिन्न नेपाली संघ संस्था र व्यक्तिहरुलाई धन्यवादसहित रकम संकलन अभियान बन्द गर्न अनुरोध गरेको छ ।

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आवश्यक रकम संकलन भइसकेको जानकारी गराउँदै युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्था र प्रतिनिधिहरुले घोषणा गरेको रकम मध्ये करिब सबै रकम उठेको र बाँकी रकम शुक्रबार सम्म उठ्ने जानकारी दिए ।

उनले टोपबहादुर बचाउ अभियानको एक लाख युएई दिहराम ( करिब २८ लाख नेपाली रुपैयाँ) आगामी आइतबार नेपाली राजदुतावासमा गएर हस्तान्तरण गरिने र लगत्तै टोपबहादुरकाे नेपाल फिर्तीको लागि आवश्य कानुनी प्रक्रिया सुरु गर्ने बताए । नयाँ पत्रिकासँग कुरा गर्दै श्रेष्ठले भने, ‘आशा गरेका छौँ, अबको केही हप्ता भित्रै टोपबहादुर नेपाल फर्कनेछन् ।’

चार बर्ष पहिले काम गर्ने शिलशिलामा क्रेन दुर्घटना भएर २ जना थाइ नागरिकको मृत्यु भए पश्चात मृतकका परिवारलाई ब्लडमनी स्वरुप टोपबहादुरले दिनु पर्ने रकम युएई अदालतले घोषणा गरेको थियो । उक्त ब्लडमनी तिर्न नसक्दा टोपबहादुर घर फर्कन पाएका छैनन् ।

तपाईको प्रतिक्रिया