logo

bar

दाईजो मागेर आत्महत्या गर्न बाध्य पार्ने एक पक्राउ

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज, ११ बैशाख | बैशाख ११, २०७५

पर्सा प्रहरीले आत्महत्या गर्न बाध्य पार्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदरमाई नगरपालिका वडा नं ८ बस्ने बच्चु भनिने जयनारायण साहलाई पक्राउ गरेको हो । साहलाई गत बैशाख ६ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी वीरगञ्ज महानगरपालिका वडा नं २३ की १८ बर्षिया रविता कुमारीलाई आत्महत्या गर्न बाध्य पारेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार साहका २१ बर्षीय छोरा शिव दयाल र दिनदयाल साह तेलीको छोरी रबिता कुमारीबीच सुनका गहना लगायत दाईजो लेनदेन समेतको कुरा मिलाएर विवाहको कुरा छिनिएको थियो । उनीहरुबीच बैशाख १४ गते विवाह गर्ने तय भएको थियो ।

दाइजो न भए विवाह गरिदैन : केटा पक्ष
विवाह गर्ने किटान भई विवाहको लागि आवश्यक तयारी सुरु गरि निमन्त्रणा कार्ड समेत छपाई सकेको अवस्थामा साह र उनको छोरा कुमारले मृतक रविताको बुवा दिनदयाललाई फोन गरी थप ८० हजार दाईजो मागेका थिए । दिन दयालले मागेको दाईजो दिन सक्ने अवस्था नरहेको भनी बताएपछी जयनारायणले ‘दाईजो न दिने भए विवाह गर्न आउदैनौ’ भनेका थिए । उनीहरुबीच भएको टेलिफोन संवादबारे जानकारी पएपछि रबिता कुमारीले शिव दयाल (विवाह हुन लागेको केटा) सँग फोन सम्पर्क गरी बुझ्दा उसले पनि त्यही कुरा दोहो¥याए ।
दाईजो मागेकै कारण तनावमा पुगेर किशोरीले आत्महत्या गरेको पुष्टी हुन आएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मी बताउँछन् । ‘दाईजो कै विषयलाई लिएर किशोरी तनावमा आई आत्महत्या गरेको देखिन्छ’ उनले भने, ‘त्यसैले आत्महत्या गर्न बाध्य पार्ने साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।’

प्रहरीद्धारा नै मुद्दा दर्ता
दाईजो नदिएको वा कम दिएको भन्ने केटापक्षको दबाव वा धम्कीका कारण विवाह हुनै लाग्दा किशोरीले आत्महत्या गर्नु निकै दु.खद घटना भएको उनको भनाई रहेको छ । पिडित पक्षबाट जाहेरी दरखास्त नपरेता पनि प्रहरीले मुद्दा दर्ता गरि अनुसन्धान अगाडी बढाएको उनले बताए ।
पक्राउ परेका साहलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सामाजिक व्यवहार (सुधार) ऐन–२०३३ अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया