logo

bar

बुटवलमै खोप भण्डार केन्द्र

नयाँ पत्रिका बुटवल, ११ बैशाख | बैशाख ११, २०७५

बुटवल उप-महानगरपालिकाले खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । खोपको सुरक्षित भण्डार गर्दै उप महानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रहरुमा वितरण गरिने छ । यो केन्द्र सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा राखिएको छ ।


यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख शिवरा सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्राइँ नगर्न आग्रह गरे । प्रमुख सुवेदीले खोप भण्डारण केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको पनि बताए । उप महानगरमा रहेका ५ नगर स्वास्थ केन्द्रमा रहेका स्वास्थकर्मीहरुलाई निर्देशन दिदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए ।

उपमहानगर मतहतका स्वास्थ्यकर्मी खटिने
त्यसक्रममा अस्पतालका निर्देशक विनोद पराजुलीले सिङ्गो उपमहानगर क्षेत्रको खोप भण्डारण केन्द्र आम्दामै स्थापना गर्न पाउनु आफ्नो संस्थाको लागि समेत गर्वको कुरा भएको बताए । उनले केन्द्रका लागि आवश्यक पर्ने सहयोग र सहकार्यका लागि आफुहरु तयार रहेको बताए ।
केन्द्रमा निशुल्क औषधिका बारेमा पनि पैरवी र सहयोगका काम गर्ने गरी बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मीहरु खटिनेछन् ।
विगतमा क्षेत्रीय मेडिकल स्टोर बुटवलबाट खोप जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही भैरहवा लागि त्यहाँबाट पुनः बुटवलका स्वास्थ्य संस्थाहरुमा वितरण हुँदै आएको थियो । यसरी ढुवानी गर्दा संवेदनशिल खोपहरुमा क्षति पुग्ने जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीहरुले गुनासो गर्दै आएका थिए ।

एकमुष्ट भण्डारण गरिने
बुटवलको विशेष पहलमा पहिलोपटक केन्द्र स्थापना भएको हो । आवश्यक खोप क्षेत्रीय मेडिकल स्टोर बुटवलबाट एकमुष्ट बुझी खोप भण्डारण केन्द्रमा सुरक्षित भण्डारण गरिने डा. रमेश केसीले जानकारी दिए । विगतको दोहोरो ढुवानीको समस्या हटेको छ भने स्वास्थ्य संस्थाहरुले नजिकैबाट खोप लिन र वढी भएको खोप फिर्ता गर्न सहज भएको छ ।

तपाईको प्रतिक्रिया