logo

bar

शैक्षिक विकृति रोक्न जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाइयो ! 

मोहन विष्ट कञ्चनपुर, ११ वैशाख | बैशाख ११, २०७५

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरपसाद भट्टको कुर्सी जलाएका छन्। राष्ट्रिय भर्ना अभियान चलेका बेला निजी विद्यालयमा हुने शैक्षिक विकृति रोक्न शिक्षा अधिकारीले आलटाल गरेको भन्दै क्रान्तिकारीले कुर्सी जलाएर शिक्षा अधिकारी भट्टको नेमप्लेट फोलेका छन् ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले शैक्षिक सुधारका लागि शिक्षा कार्यालयसंग पटक–पटक आग्रह गर्दा पनि शिक्षा अधिकारी भट्टले समस्या समाधान गर्नुको साटो लुकेर बसेकाले बाध्य भएर शिक्षा कार्यालयबिरुद्ध आन्दोलन घोषणा गरेको बताए ।

उनले क्रान्तिकारीले पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार, मंगलबार शिक्षा अधिकारीले कार्यकक्षमै थुन्ने कार्यक्रम थियो । तर, शिक्षा अधिकारी कार्यालयमा अनुपथित भएपनि उनको कुर्सी जलाएको सचिव भट्टले स्वीकारे ।

क्रान्तिकारीले शिक्षा कार्यालय परिसरमा ल्याएर शिक्षा अधिकारीको कुर्सी जलाएको हो । यस अघि क्रान्तिकारीले १२ मा विद्यालयबाटै कापी कलम बेच्ने निजी विद्यालयमा तालाबन्दी गर्ने, १३ गते शैक्षिक आम हड्ताल गर्ने, १४ गते जिल्ला शिक्षा र प्रशासनमा कालोभण्डासहित प्रर्दशन गर्ने र १५ गतेदेखि स्थानीय सरकार घेराउ गर्ने क्रान्तिकारीले घोषणा गरेर चरणबद्ध आन्दोलनमा उत्रेको थियो ।

 क्रान्तिकारीले समस्या समाधान गर्नुको साटो आलटाल गर्न लागेको भन्दै आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी दिएको छ । यसैबीच प्रहरीले घटना लगतै दुई जना क्रान्तिकारीका नेतालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट र पूर्वजिल्ला अध्यक्ष सिके भट्टलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जिल्ला पहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले सरोकारवाला निकाय अवैधानिक निजी विद्यालय बन्द गर्न मनानेपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिएको बताए ।

अध्यक्ष विष्टको सोमबार दिउँसै क्रान्तिकारीका नेताहरुले जिल्ला शिक्षा कार्यालय पुगेर जिल्ला शिक्षा अधिकारी अमर प्रशाद भट्टलाई दिउँसै टर्च बालेर खोजेको बताए । शिक्षा अधिकारीले क्रान्तिकारीले शैक्षिक विकृती बिरुद्ध अघि सारेका माग पुरा गर्न छाडेर कार्यालय छाडी भागेको आरोप लगाएको छ ।

‘शिक्षा अधिकारीलाई कञ्चनपुरको शैक्षिक विकृतिबिरुद्ध अग्रसन भएनन्, हामीले दिएका सुझाव पनि टेरेनन्, ‘क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विष्टले भने, ‘त्यसैले क्रान्तिकारीले दिउँसै उनलाई खोज्ने शिक्षा कार्यालय र उनको कार्यकक्षमा टर्च बालेर खोजेका हौँ तर भेटाएनौँ ।’

अध्यक्ष विष्टले भोली सोमबार शिक्षा अधिकारीलाई कार्यकक्षमै थुन्ने चेतावनी दिए । ‘उहाँ कार्यालय नआएपनि शिक्षा अधिकारीको प्रतिकलाई हामी थुप्छौँ, ‘अध्यक्ष विष्टले भने, ‘हाम्रो शैक्षिक माग पुरा गर्न छाडेर भागेर उन्मुक्ति पाईदैन् ।’

पहिलो चरणका आन्दोलनका कार्यक्रमसम्म माग पुरा नगरेर पुनः दोस्रो चरणमा शसक्त आन्दोलन थाल्ने क्रान्तिकारीको चेतावनी छ ।  ‘शिक्षा कार्यालयकै संरक्षणमा अझै बन्द भएन्न कञ्चनपुरका १ सय २९ निजी विद्यालय, ‘उनले भने, ‘निजी विद्यालयको शैक्षिक विकृती बिरुद्धमा क्रान्तिकारीले संघर्ष गर्छ ।’

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले शिक्षा अधिकारी स्थानीय तहमा गईसकेका कारण क्रान्तिकारीले अघि सारेका मुद्दा स्थानीय तहबाटै सम्बोधनमा जोडदिदै शिक्षा अधिकारी कामका लागि बाहिर गएको जनाएको छ ।

विद्यार्थी संगठनको आन्दोलनमा अभिभावक शिक्षक संगठनले समेत ऐक्यबद्धता जाहेर गरेका छन् । क्रान्तिकारीले शिक्षासंग सरोकारवाला निकायले निजी विद्यालयबाट अवैध अशुल गरेका कारण उनीहरुलाई कार्बाही आलटाल गरेको निष्कर्ष निकालेका छन् ।

क्रान्तिकारीले विगतमा शिक्षा कार्यालय र विद्यार्थी संगठनवीच भएका सहमति कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनु परेको जनाएको छ । क्रान्तिकारी कञ्चनपुरले शैक्षिक वेथिति नरोकिन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । शिक्षा कार्यालय परिसरमा थप घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु