क्षेत्रीय स्तरको टेवलटेनिस सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

क्षेत्रीय स्तरको टेवलटेनिस सुरु

उदयपुरको सदरमुकाम गाईघाटमा सोमबारदेखि पूर्वाञ्चल क्षेत्रीय टेवलटेनिस प्रतियोगिता सुरु भएको छ । त्रियुगा नगरपालिका गाईघाटको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति उदयपुरको संयोजनमा पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

बैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० जिल्लाका ७० खेलाडीले सहभागिता जनाएको वरिष्ठ टेवलटेनिस प्रशिक्षक शिवनारायण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा उदयपुर, मोरङ, ताप्लेजुङ, तेरहथुम, इलाम, झापा, सप्तरी, संखुवासभा, पाँचथर र सुनसरीका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले जानकारी दिए ।

प्रतियोगिताअन्र्तगत सोमबार भएको पुरुषतर्फको टिम इभेन्टमा झापा र तेह्रथुमका खेलाडीले तेस्रो स्थान हात पारेका छन् । त्यसैगरी मंगलबार पहिलो स्थानका लागि मोरङ र सुनसरी भिड्दैछन् । महिलातर्फका खेलहरु पनि मंगलबारबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले गरे । त्यसक्रममा उनले जिल्लामै पहिलोपटक भएको प्रतियोगिताले जिल्लाको खेलाडीको क्षमता विकास मात्र नभई पहिचानसमेत झल्कने बताए । उनले पछिल्लो समय खेलकुद क्षेत्रले राष्ट्रको गौरव बढाएको बताए ।

तपाईको प्रतिक्रिया