logo

bar

युएईको राष्ट्रिय खेलमा नेपाली खेलाडीलाई पदक

लक्ष्मण खनाल युएई, १० वैशाख | बैशाख १०, २०७५

युएईमा सम्पन्न एक दिवसीय १४ औं राष्ट्रिय कराँते च्याम्पियनसिप जेकेएस (जापान कराँते सोतोकान) कप २०१८ मा एभरेष्ट मार्शल आर्ट क्लवका नेपाली खेलाडीहरुले ६ स्वर्ण, पाँच रजत र एक काश्य पदक जितेका छन् ।

अप्रिल २० मा दुवईमा रहेको शबाव अल अलिक क्लबको हलमा सम्पन्न उक्त कपको प्रतियोगितामा १० वर्ष मुनिको उमेर समूहको काता र कुमुते महिलातर्फ केञ्जल श्रेष्ठले दुई स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् । यस्तै १२ वर्ष मुनिका उमेर समूहको कुमुतेमा स्वर्ण र कातामा रजत गरी आश्ना पाण्डेले दुई पदक हात पार्न सफल भइन् ।

 जुनियरतर्फको पुरुष समुहबाट विजय तामाङ्गले ६० केजी तौल प्रतियोगितामा स्वर्ण जितेका छन् । सिनियरतर्फ ५५ केजी तौलमा सरोज पार्खिनले स्वर्ण पदक जित्न सफल भए । त्यस्तै लक्ष्मण थापाले व्ल्याक बेल्ट ५५ केजी तौल समुहमा स्वर्ण पदक र कातामा रजत गरी दुई पदक हात पारे ।

जुनियर तर्फको कुमुते ५५ केजी तौल समुहमा विनोद राईले रजत पदक हात पारे भने ६५ केजी तौल समुहमा राम तामाङ्गले रजत हात पारे । ६० केजी तौल समुहमा र कातामा गरी दिनेश सिंह यैयारले दुई रजत पदक हात पारेको एभरेष्ट मार्शल आर्टका प्रमुख रबी शाहीले नयाँ पत्रिकालाई बताए ।

पदक जित्न सफल खेलाडीहरुलाई युएई कराँते फेडेरेसनका क्याप्टेन अहमद समिदि मोहमद अल जोरोनी, जनरल सेक्रेटरी, जेकेसका अध्यक्ष अब्दुल्ला विन बयानिस, लगायन युएईमा क्रियाशिल विभिन्न नेपाली संस्थाप्रमुखको हातबाट पदक प्रदान गरिएको थियो ।

नेपाली लगानीमा व्यवसायिक रुपमा युएईमा दर्ता भएर खेल खेलाइरहेको एभरेष्ट मार्शल आर्ट क्लबले उक्त प्रतिस्पर्धामा १० जना नेपाली खेलाडीहरु सहभागी गराएको थियो । जसमा दुई जना महिला खेलाडी रहेका थिए ।

प्रतियोगितामा १० जना नेपाली खेलाडीहरुले काता(प्रर्दशन) र कुमुते (भिड्ने) गरि १५ ओटा खेलमा सहभागी भएका थिए । विभिन्न देशका गरी ८० क्लबहरु प्रतिस्पर्धी रहको उक्त खेलमा नेपाल बाट राष्ट्रिय खेलहरु खेलेर आएका खेलाडीहरुको सफलताबाट आफु खुशी भएको एभरेष्ट मार्शल आर्टका प्रमुख रबी शाहीले बताए यसबाट नेपाली खेलाडीहरुलाई अन्र्तराष्ट्रिय स्तरको खेलमा सहभागी गराउन टेवा पुग्ने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया