logo

bar

रंगवादी धर्मेन्द्रले सुनाए कविता

नयाँ पत्रिका दमक, १० वैशाख | बैशाख १०, २०७५

रंगवाद साहित्यिक आन्दोलन हाँकिरहेका धर्मेन्द्रविक्रम नेम्वाङ लामो समयपछि शनिबार श्रोतालाई कविता सुनाइरहेका थिए । दमकमा भएको एकल कविता वाचनमा उनले मुन्धुमी चेत र मिथकमा लेखिएका कविता सुनाए । हपहप गर्मीमा पनि श्रोताले उनका कविता धैर्यपूर्वक सुनेका थिए।

धर्मेद्रले कवितामा केही मिथक र केही मायाका कुरा गरे । उनले कवितामार्फत फेरि रंगवादलाई साहित्यमा उभ्याउने प्रण पनि गरे । नेपाल लिटररी ग्रुपले गरेको कार्यक्रममा आख्यानकार राजन मुकारुङ, कवि मुनाराज शेर्मा र कृष्ण बराल समीक्षकका रूपमा सहभागी भए ।

बहुरंगवाद प्रसंगमा नेम्वाङले लजाउँदै आफ्नै जीवनसंगिनीका लागि लेखेको कविता सुनाए, सोल्टिनीको नाममा शीर्षकमा । प्रेमिल कविताबाट वाचन सुरु गरेका उनले लिम्बू मुन्धुमको गाथा लेप्मुहाङ र महाप्रलय पनि कवितामा उने । कवितामा उनी आफ्नै लिम्बुवान गाउँ पनि पुगे ।

‘एक दिन’, ‘साल्दाइको निधनमा’, ‘इन्द्रेणी गाउँ’, ‘सर्वांग या चौतर्फी क्रान्ति’, ‘म भनेको म नै हुँ’, ‘मुन्धुममा वर्णित धर्मेन्द्रको अन्तिम प्रेम कथा’लगायत कविता सुनाए ।
‘मैले ऐनामा हेरेँ फुलेको केश
जीवनमा हेरेँ टुंगिएको आयु
प्रेममा हेरेँ निख्रिएको उमेर
निधारमा हेरेँ चाउरिएको रेखा
माथि हेरेँ पुग्न नसकिएको टुप्पा
पर हेरेँ अस्ताइसकेको घाम
(ट्रेजेडी नं. २२)
कविता सुनाउँदै गरेका धर्मेन्द्र भावनात्मक कुरा पनि गर्दै थिए । उनले भने, ‘कुनै एउटा पाटोमा क्रान्ति छुट्यो भने त्यसले पूर्णता पाउँदैन, सबै अंगमा क्रान्ति पुग्नुपर्छ, हामी सबै सुखी नहुँदा राज्य सफल हुँदैन,’ उनी राजनीतिलाई पनि जोड्दै थिए । त्यसो त उनी विद्यार्थी राजनीतिमा केन्द्रीयस्तरसम्म पुगेका छन् । उनले लेखेको पुस्तक हरियो समाजवाद अहिले मध्यपश्चिम विश्वविद्यालयको स्नातकोत्तर तहको अंग्रजी विषयमा पढाइ हुन्छ ।

मदन पुरस्कार विजेता राजन मुकारुङले धर्मेन्द्रका कवितालाई सुन्न, पढ्न र बुझ्न नयाँ चेत र दार्शनिक मष्तिस्क चाहिने बताए । ‘अरू नेपाली कविहरू कनेर कविता लेख्छन्, धर्मेन्द्र मात्र यस्ता कवि हुन्, जो हेपेर कविता लेख्छन् । रिमाल, भूपि या देवकोटाको फ्रेममा राखेर धर्मेन्द्रलाई पढ्न सकिँदैन ।’ धर्मेन्द्र विचारधाराका दृष्टिले प्रजातान्त्रिक समाजवादका पक्षपाति भए पनि सांस्कृतिक अभियानका पक्षमा घोर प्रगतिशील भएको मुकारुङले बताए ।

कवि मुनाराज शेर्माले धर्मेन्द्रको अंग्रेजी साहित्यसँगको दख्खललाई मिहीन ढंगले केलाउने प्रयास गरे । रंगवाद हुनुको तात्विक अर्थ धर्मेन्द्रको साहित्यिक चिन्तनको सामथ्र्य भएको उनले बताए ।

समीक्षक कृष्ण बरालले धर्मेन्द्रका कविता बलशाली पथ्थरजस्तै भएको बताए । उनले भने, ‘धर्मेन्द्रका कविता यस्ता पत्थर हुन्, जो जसमा छिनोले कुँद्न निकै मुस्किल पर्छ, यी अकविता रचना गर्छन्, तर कविता होइन भन्नै सकिन्न ।’

लिटररी ग्रुप नेपालका अध्यक्ष कवि प्रकाश बुढाथोकीले धर्मेन्द्रको एकल कविता वाचन कार्यक्रम गर्दा सन्तुष्टि मिलेको बताए । कार्यक्रमलाई कदम थिएटरलगायत विभिन्न संस्थाले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया