logo

bar

चाँडै पार्टी एकता गर्ने ओली–प्रचण्डको प्रतिबद्धता, सभागृहबाट गरे यस्ता बाचा

सन्तोष भट्टराई काठमाडाैँ | बैशाख ०९, २०७५

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता चाँडै गर्ने बताएका छन् । उनीहरूले १७ साउनमा चुनावी तालमेलसहित पार्टी एकता गर्ने निर्णय गर्दा ‘सरप्राइज’ जस्तो भएकाले एकता गर्दा पनि सरप्राइजकै रूपमा हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिनको जन्मजयन्तीको अवसरमा पार्टी एकता संयोजन समितिले आज राजधानीमा गरेको कार्यक्रममा ओली–प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रमको सुरुमा बोल्दै प्रचण्डले एकीकृत पार्टीको नयाँ केन्द्रीय कमिटी कत्रो र कस्तो बनाउने भन्ने विषयको टुंगो लाग्ने बित्तिकै एकता हुने बताए । उनले दुई पार्टी फरक–फरक धारको आन्दोलनको मोर्चाबाट आएकाले एकता ‘सम्मानजनक, न्यायोचित र समानता’ का आधारमा हुने धारणा राखे ।

नीतिगत र प्राविधिक विषय मिल्न बाँकी रहेको बताएका प्रचण्डले हतारमा एकता गर्नुभन्दा सबै विषय मिलाएपछि एकता हुने बताए । प्रचण्डले भने,‘हल्ला गरेर पार्टी एकता हुँदैन भन्ने बुझे हुन्छ । हल्ला नगरिकन एकता ड्याम्मै हुन्छ ।’

तस्बिर : सतिश पाेखरेल/नयाँ पत्रिका

यता, अन्तिम वक्ताको रुपमा रहेका एमाले अध्यक्ष ओलीले एकताबाट पछि हट्ने ठाउँ नभएको बताए । पार्टी एकता ‘मेलामा लगाएको मित’ जस्तो नभएको टिप्पणी गरेका उनले प्रचण्डको भनाइमा सहमति जनाए ।

‘सुपरमार्केटमा घुम्न गएका वेला एकता देखेर टपक्क टिपेर ल्याएको जस्तो होइन, एकतालाई हामीले सुरु गरेको हो यसलाई तार्किक निष्कर्षमा पुर्‍याइ छाडिन्छ,’ उनले भने । एकताको प्रक्रिया कतैबाट आइलागेको वा बाटोमा भेट्टाएको नभई निकै मेहनतले अघि बढाइएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले एमाले नेता माधवकुमार नेपाल र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा रहेको कार्यदललाई ‘जुत्ता मिलेन भनेर हुँदैन, मिलेन भने खुट्टा ताछतुछ पारेर भएपनि मिलाउनु’ भनि दिएको निर्देशनको पनि स्मरण गरे । कार्यक्रममा दुवै नेताले एमाले र माओवादीकै कारण वर्तमान संविधान निर्माण भएको दाबी गरेका थिए ।

‘प्रतिक्रियावादीलाई लतारेर/घिसारेर एमाले–माओवादीले नल्याएको भए १६ बुँदे सहमति हुँदैन थियो र संविधान पनि बन्दैन थियो,’ ओलीले संविधान निर्माणका दिनका कठिनाई सम्झँदै भने ।
उनले विगतका दिनमा एमाले र माओवादी एक अर्कालाई सिध्याउन गालीगलौजमा उत्रिए पनि अब नउत्रिने बाचा गरे ।

‘विगतमा जसले जति गल्ती कमजोरी गर्‍यो सकियो,’ प्रचण्डलाई हेर्दै ओलीले भने, ‘पहिला हामी पनि एक अर्कालाई सकेको गाली गथ्र्यौं । अब गल्ती गर्दैनौँ ।’

प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकार जनताको शासक नभई सेवक भएको बताए । तर, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवप्रति रोष प्रकट गर्दै स्वार्थ, लाज ढाक्नका लागि धमिलो पानीमा ‘ढोक्सा थाप्ने’ काम गरिरहेको आरोप लगाए ।

यता माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अर्को ‘जनयुद्ध’ गरिहाल्ने अवस्था नरहेको दावी गरे । उनले शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट देशको विकास र समृद्धिमा जुट्नुपर्ने विचार राखे ।

सधैँजसो केही न केही लाक्षणिक अभिव्यक्ति दिने प्रधानमन्त्री ओलीले यसपटक भने, ‘गुलाबको पूmल कहिल्यै नदेखेका र रसबरी गुलियो हुन्छ भन्ने थाहा नपाएकाले’ माक्र्स र लेनिनको विरोध गरिरहेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु