logo

bar

बलात्कारका घटना न्यूनिकरण गर्न प्रहरीले थाल्यो अभियान

इन्दिप कोइराला बारा, ९ बैशाख | बैशाख ०९, २०७५

बलात्कार तथा जवरजस्ती करणी नियन्त्रणका लागि बारामा आइतबार जनचेतनामुलक र्याली निकालिएको छ । केहि समय देखि बारा प्रहरीले अभियाननै सुरु गरेर अपराध नियन्त्रणका लागि र्याली सहितको कार्यक्रम गरेको छ ।


दिन प्रतिदिन अनैतिक कार्यहरु बढ्दै गैरहेकाल यस्ता गतिविधि न्युनिकरणका लागि कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक दिपक रायले बताए । केहि दिन अघि पनि ईलाका प्रहरी कार्यालय निजगढले जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धि जनचेतना मूलक र्याली र कार्यक्रम गरेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ जीतपुर र होटल व्यवसायी संघ बाराको सहकार्यमा र्याली निकालिएको हो । जसमा प्रहरी प्रशासन, स्थानीय विद्यालयमा अध्ययनरत करिब पाँच सय जना विद्यार्थी तथा शिक्षक, बुद्धिजिवी, समाजसेवी, राजनितिकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
तीन वर्ष यता प्रदेश नम्बर २ को आठ वटा जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा गरी तीन सय २८ वटा जबरजस्ती करणी अपराधका घटनाहरु सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए ।

कहाँ कति भए जबरजस्ती करणीका घटना ?
आठ वटै जिल्लाहरु मध्ये पनि सिराहा जिल्लामा सबै भन्दा बढी जबरजस्ती करणीका घटनाहरु सार्वजनिक भएका छन् । तीन वर्षको तथ्याड्ढ अनुसार सिराहामा ६७ वटा, धनुषामा ४५ वटा, सप्तरीमा ३९ वटा, महोत्तरीमा २३ वटा, सर्लाहीमा ४० वटा, रौतहटमा ४० वटा, बारामा ३६ वटा र पर्सामा ३८ वटा गरी तीन सय २८ वटा जबरजस्ती करणीका घटनाहरु भएको प्रहरी उपरिक्षक बैदवारले बताए ।

कति समातिए ?
प्रदेश नम्बर २ को जिल्लाहरुमा जबरजस्ती करणी अपराध गर्नेहरु मध्ये तीन सय ५३ जना दोषीहरुलाई प्रहरीले प्रक्राउ गरी कानुनी कारावाही गरेको छ ।
प्रदेश २ को सप्तरीबाट ६९ जना, सिराहाबाट ७४ जना, धनुषाबाट ५९ जना, महोत्तरीबाट २४ जना, सर्लाहीबाट २६ जना, रौतहटबाट ३५ जना, बाराबाट ३६ जना र पर्साबाट ३७ जनालाई प्रहरी पक्राउ गरी कानुनी कारावाही गरिसकेको प्रहरी उपरिक्षक बैदवारले बताए ।

कति फरार छन् ?
जबरजस्ती करणी घटना पछि सबै जिल्लाबाट एक सय ८० जना भने अहिले सम्म फरार अवस्थामा रहेका छन् । प्रहरी उपरिक्षक बैदवारका अनुसार सप्तरीबाट ४० जना, सिराहाबाट ३७ जना, धनुषाबाट २७ जना, महोत्तरीबाट १८ जना, सर्लाहीबाट १९ जना, रौतहटबाट १४ जना, बाराबाट ६ जना र पर्साबाट १९ जना गरी घटनामा संलग्नहरु एक सय ८० जना फरार रहेका छन् ।

किन हुन्छ जबरजस्ती करणीको घटना ?
अहिलेको आधुनिक समय, गरिबी, अशिक्षा, उमेर, शौचालय लगायतको विभिन्न कारणले पनि जबरजस्ती करणीको घटनाहरु हुने गरेको पाइएको छ ।
सामाजिक सञ्जालमा अत्याधिक समय व्यति गर्ने र यसको लतमा लागेकाहरुमा घटनाहरु बढी हुनेगरेको देखिएको छ । त्यस्तै घरघरमा शौचालयको व्यवस्था नहुनेहरु बाहिर खुल्ला ठाउँमा शौच गर्न जाँदा उनीहरु बढी जबरजस्ती करणीको शिकार हुने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु