logo

bar

कमल तालबाट सात लाखको कमल बिक्री

मनिष खड्का/नयाँ पत्रिका रुकुम(पूर्व) ९, बैशाख | बैशाख ०९, २०७५

रुकुम(पूर्व)को कमल तालबाट यो सिजनमा सात लाखको कमल बिक्री भएको छ । करिब डेढ महिनामा सात लाख बराबरको कमल बिक्री भएको हो । सिस्ने गाउँपालिका वडा नं. पाँच रुकुमकोटमा पर्ने कमल तालबाट गत फागुन २७ देखि कमल निकाल्न सुरु गरिएको थियो ।

हालसम्म करिब सात लाख बराबरको कमलको कारोबार भएको कमल निकाल्न ठेक्का लिएका ठेकेदार दिपक शाहीले जानकारी दिए । स्थानीयले दैनिक दुई सय देखि पाँच सयको टिकेट काटेर कमल निकाल्ने गरेका छन् । महिला तथा बालवालिकाले दुई सयको र पुरुषले दैनिक पाँच सयको टिकट काटेर कमल निकालि बिक्री गरिरहेका छन् । अहिलेसम्म करिब चार सय बढी टिकेट बिक्रि भैसकेको ठेकेदार शाहीको भनाई छ । दैनिक १५ जनाभन्दा बढी स्थानीयले तालबाट कमल निकाल्ने गरेका छन् ।

दैनिक करिब १० हजार बढीको कमल बिक्री हुने बताईएको छ । कमल किन्नका लागि मान्छेहरु तालमै आईपुग्ने स्थानीयको भनाई छ । कमल महँगोमा बिक्री हुने गरेको छ तर मुल्यमा भने एकरुपता छैन । सुकाएर चाना बनाईएको कमलको मुल्य तोकिएपनि काँचो कमलको मुल्य भने बेच्ने व्यक्ति अनुसार फरक फरक हुने गरेको छ । कुनै नाप तौल नगरी अनुमानका भरमा बिक्री गर्ने गरिएको छ ।

पाँच सय भन्दा माथिकै मुल्यमा कमलको मात्रा अनुसार बिक्री हुने गरेको छ । चाना भने प्रति माना पाँच सयको हाराहारीमा बिक्री हुने गरेको छ । जण्डिसको लागि फाईदा जनक कमलको माग राम्रो रहेको स्थानीय जनब बिसी बताउँछन् । उनका अनुसार कमल किन्नका लागि रुकुम(पूर्व) र (पश्चिम)का साथै अन्य विभिन्न जिल्लाबाट मान्छेहरु रुकुमकोट पुग्ने गरेका छन् । त्यस्तै चिनजानका आधारमा यहाँको कमल विभिन्न ठाउँमा पठाउने गरिएको छ ।

कमलबाट गाउँपालिकालाई ८० हजार आम्दानी
यसैबिच गाउँपालिकाले कमलबाट ८० हजार आम्दानी गरेको छ । कमल तालबाट कमल निकाल्नका लागि पहिलो पटक टेण्डर आह्वान गरिएको हो । सुरुमा डेढ लाखको टेण्डर आह्वान गरिएपनि पछि घटाएर ८० हजारमा गाउँपालिकाले कमल निकाल्ने ठेक्का दिएको थियो । यसअघ स्थानीयले आफुखुशी कमल निकालेर बिक्री गर्ने गरेका थिए । जसका कारण यसबाट राज्यले कुनैपनि फाईदा उठाउन सकेको थिएन ।

कमल संरक्षणमा टेवा पुग्ने विश्वास
निश्चित समय तोकेर गाउँपालिकाले कमल निकाल्नका लागि टेण्डर आह्वान गरेकाले यो वर्षदेखि कमलको संरक्षणमा टेवा पुग्ने देखिएको छ । यो भन्दा अगाडी स्थानीयले आफुखुशि मनलाग्दो तरिकाले फुल खेल्ने समय भैसक्दा पनि कमल निकाल्ने गर्थे । तर यो पटक भने गाउँपालिकाले कमल निकाल्न निश्चित समय तोकेको छ । गत फागुन २७ गतेबाट कमल ताल फुकुवा गरिएकामा भोली बैशाख १० गते बन्द हुँदै छ । यसले गर्दा अर्को सिजन देखि कमल थप बढ्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया