logo

bar

उत्तर कोरियाद्वारा आणविक र क्षेप्यास्त्र परीक्षण नगर्ने घोषणा

एजेन्सी पेन्गुइन, ९ वैशाख | बैशाख ०९, २०७५

अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ताअघि उत्तर कोरियाली नेताले चालेको कदमप्रति विश्व समुदाय नै चकित

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षण नगर्ने घोषणा गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले विश्वकै लागि ठूलो तनावको विषय बन्दै आएको प्योङयाङको आणविक गतिविधि रोक्ने घोषणा गरेका हुन् । ‘२१ अप्रिलदेखि उत्तर कोरियाले आणविक परीक्षण र अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण रोक्नेछ,’ नेता किमको भनाइ उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ । प्योङयाङको आणविक क्षमता पुष्टि भएकाले अब परीक्षण आवश्यक नभएको किमले बताए ।

नेता किमको पछिल्लो कदमको अमेरिका, दक्षिण कोरिया, युरोपेली युनियनलगायत विश्व समुदायले स्वागत गरेको छ । शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परीक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको किमले बताए ।

दक्षिण र अमेरिकासँगको वार्ता सकारात्मक हुने संकेत
उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढ्ने विश्लेषकहरूले अनुमान गरेका छन् । किमले आगामी साता दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेटवार्ता गर्दै छन् । दशकौँपछिको पहिलो अन्तरकोरियाली सम्मेलनका लागि किम र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच भेटवार्ता हुन लागेको हो ।

त्यस्तै, किमले आगामी जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै छन् । दुवै देशसँगको वार्ताको तयारी भइरहेका वेला उत्तर कोरियाले आणविक मोह स्थगित गरेको छ । दुवै देशले प्योङयाङलाई निशस्त्रीकरणका लागि जोड दिएका थिए । कोरियाका पछिल्ला सकारात्मक परिवर्तनप्रति दुवै देशले सन्तुष्टि व्यक्त गरेका छन् ।

किमको घोषणाको दक्षिण कोरियाले गर्‍यो स्वागत
उत्तर कोरियाको आणविक परीक्षण रोक्ने घोषणाको दक्षिण कोरियाले स्वागत गरेको छ । उत्तरको कदम अर्थपूर्ण प्रगति भएको राष्ट्रपति मुनका प्रवक्ताले टिप्पणी गरे । ‘आगामी अन्तरकोरियाली सम्मेलन र वासिङ्टन—प्योङयाङ शिखर वार्ता सफल बनाउन यसले सकारात्मक वातावरण सिर्जना गर्छ । ’ राष्ट्रपति मुनको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुई कोरियाली नेताबीच हटलाइन सेवा
दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एक हप्ताअगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लुहाउसले जनाएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको पहिलो शिखर बैठक यही २७ अप्रिलमा गर्ने तय भएको छ ।

दक्षिण कोरियामा राष्ट्रपतिको कार्यालयमा र उत्तर कोरियामा ‘न्युक्लियर आम्र्ड’सम्बन्धी कार्यालयबाट हटलाइन सेवा सञ्चालन गरिएको छ । हटलाइन सेवा परीक्षणका लागि दुवै पक्षका उच्च अधिकारीले ४ मिनेट १४ सेकेन्ड वार्ता गरेका थिए । फेब्रुअरीमा भएको शीतकालीन ओलम्पिकदेखि दुई कोरियाबीच आश्चर्यजनक तरिकाले सम्बन्धमा सुधार आएको छ ।

विश्वकै लागि सुखद खबर : ट्रम्प
क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने किमको घोषणालाई विभिन्न देशका नेताहरूले स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको घोषणा विश्वकै लागि सुखद खबर भएको टिप्पणी गरेका छन् । ट्रम्पले ट्विट गरेका छन्, ‘यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुसीको खबर हो ।’ उनले किमको पछिल्लो कदमलाई ठूलो उपलब्धि बताएका छन् ।

‘यो ठूलो प्रगति पनि हो । किमसँगको आगामी शिखर सम्मेलनलाई उत्सुकतापूर्वक पर्खिरहेको छु,’ ट्रम्पले भनेका छन् । किमसँगको आफ्नो भेटवार्ता फलदायी हुने उनले आशा व्यक्त गरेका छन् । ट्रम्पले केही दिनअगाडि आगामी मे वा जुनमा उनसँग भेटवार्ता गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । बिहीबार मात्र ट्रम्पले उत्तर कोरियाले आणविक अस्त्र रोेकेको खण्डमा प्योङयाङका लागि चम्किलो मार्ग रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु