logo

bar

उखु किसानलाई नियमित भुक्तानी दिँदै चिनी उद्योगी

अजित अधिकारी/नयाँ पत्रिका काठमाडौं, ९ वैशाख | बैशाख ०९, २०७५

चिनी उद्योगीहरूले किसानलाई उखुको पैसा नियमित रूपमा भुक्तानी गर्न थालेका छन् । राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार अहिले सबै उद्योगले नियमित तालिका बनाएर किसानलाई उखुको पैसा भुक्तानी गरिरहेका छन् ।

‘सबै उद्योगले खरिद गरेको उखुको पैसा दिइरहेका छन्,’ उनले भने । दुई साताअघि आगलागीमा परेको अन्नपूर्ण सुगर मिलले किसानबाट करिब ७५ करोड रुपैयाँबराबरको उखु खरिद गरेको थियो । त्यसमध्ये १० करोड दिइसकेको छ । ‘अहिले किसानको खातामा जाने गरी रकम दिइरहेको छ,’ मैनालीले भने, ‘उद्योगमा आगलागी भएकाले अन्नपूर्णलाई रकम भुक्तानी गर्न केही समस्या परेको अवस्था छ, यद्यपि असोजसम्म सबै पैसा दिइसक्ने प्रतिबद्धता आएको छ ।’

इस्टर्न सुगर मिलले २७ चैतबाट भुक्तानी सुरु गरेको छ । यो उद्योगले करिब ७० करोड रुपैयाँको उखु खरिद गरेको थियो । अहिले दैनिक ६०–७० लाख रुपैयाँभन्दा बढीका दरले किसानलाई भुक्तानी गरिरहेको छ । इस्टर्नले किसानलाई दिनुपर्ने रकम भुक्तानी सुरु नगरेपछि २६ चैतमा प्रहरीले उद्योगका वित्त प्रबन्धक बृजमोहन गुप्तालाई पक्राउ गरेको थियो । त्यसपछि २७ चैतबाट उद्योगले नियमित रूपमा भुक्तानी सुरु गरेको हो ।

त्यस्तै एभरेस्ट सुगर मिलले किसानबाट २ अर्ब रुपैयाँभन्दा बढीको उखु किनेको छ । त्यसमध्ये ५० करोड रुपैयाँ दिइसकेको छ । ‘अहिले दैनिक एक करोड रुपैयाँभन्दा बढी रकम किसानलाई दिइरहेको छ,’ मैनालीले भने । सरकारले चिनी आयातमा भन्सार दर बढाउँदा उद्योगीले खुसी व्यक्त गरेर उखु किसानको पैसा दिन थालेको उनले बताए । विदेशबाट सस्तो चिनी आयात हुँदा स्वदेशी उद्योगको चिनी नबिक्ने र उखुको पैसासमेत नपाउने उनको गुनासो छ ।

‘सरकारले विदेशी चिनीको आयात कम गराइदिने हो भने हाम्रो उखु किन्ने उद्योगबाट उत्पादन गरेको चिनी बिक्ने थियो । त्यो चिनी बेचेर उद्योगीले किसानको पैसा पनि दिन सजिलो हुन्थ्यो,’ उनले भने । स्वदेशको माग धान्न पुग्ने गरी किसानले उखु उत्पादन गरेको उनले बताए ।

 चिनी आयात नै रोक्नुपर्छ : उद्योगी
सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराई चिनीको भन्सार १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याउनु सकारात्मक भएको बताएका छन् । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भन्सार दर वृद्धिले राहत दिए पनि स्वदेशी चिनी बिक्री गर्न अझै कठिनाइ भएको बताए । ‘भन्सार दर ३० प्रतिशत बनाएपछि उद्योगीले राहत महसुस गरेका छन् । तर, अझै पनि ढुक्क हुन सकेका छैनन्,’ उनले भने ।

आयातकर्ताहरूले दुई वर्षलाई पुग्ने चिनी ल्याएर मौज्दात गरेको र त्यो चिनीको भाउसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो हुने उनको भनाइ छ । सरकारले भन्सार वृद्धिको निर्णय गरेर स्वदेशी चिनीको ‘मिल गेट प्राइज’ अधिकतम ७० प्रतिशत हुन पाउने भनेर नियन्त्रण कायम गरेको छ । जसकारण उद्योगीले आफूखुसी मूल्य तय गर्न पाउँदैनन् । सरकारले साल्ट ट्रेडिङलाई १ प्रतिशत भन्सार तिरेर चिनी आयातको स्वीकृति दिँदै आएको छ । यो चिनी पनि सस्तो पर्ने भएकाले केही समयका लागि भन्सार छुटमा आउने चिनी आयात नै रोक्नुपर्ने उद्योगीको सुझाब छ ।

१० अर्बमध्ये २ अर्ब उठ्यो

यो वर्ष किसानले १० अर्ब रुपैयाँभन्दा बढी रकमको उखु उद्योगलाई बिक्री गरेका छन् । त्यसमध्ये अहिलेसम्म २ अर्ब उठेको छ । बाँकी ८ अर्ब अझै उठ्न बाँकी रहेको छ । ‘उद्योगीले नियमित भुक्तानी गरिरहेकाले सबै रकम यो वर्ष नै उठ्छ भन्ने आस गरेका छौँ,’ महासंघ अध्यक्ष मैनालीले भने । किसानको रकम उठाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विशेष पहल गरेका थिए । उनले उद्योगीलाई १० चैतमा छलफलमा राखेर किसानको पैसा नदिए कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसपछि उद्योगीले तालिका बनाएर किसानलाई भुक्तानी गरिरहेका हुन् ।

तपाईको प्रतिक्रिया