logo

bar

यातायातमा २० वर्षको विकास : सडक ५ र गाडी १२ गुणा वृद्धि

पुष्प ढुंगाना, जीवन बस्नेत काठमाडौं, ९ वैशाख | बैशाख ०९, २०७५

२० वर्षअघि एक किलोमिटर सडकमा १८ गाडी गुड्थे, अहिले ४१ गुड्छन् –

कर्णालीमा ८२२, बागमतीमा ११ लाख सवारीसाधन दर्ता
देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा तीन लाख ७८ हजार २१३, कोसीमा तीन लाख १९ हजार ४०६ छन् ।

सवारीसाधन दर्ताको हिसाबले कर्णाली सबैभन्दा पछाडि छ । कर्णालीमा अहिलेसम्म ८ सय २२ सवारीसाधन दर्ता भएका छन् । कर्णाली अञ्चलमा सबैभन्दा पछि आर्थिक वर्ष ०७२/७३ देखि मात्र सवारी दर्ता गर्न थालिएको हो ।

२८ वर्ष ३९ गुणाले वृद्धि
२८ वर्षअघि आर्थिक वर्ष ०४६/४७ मा नेपालमा कुल सवारीसाधन ७६ हजार ३७८ मात्र थिए । अहिले ३० लाख आठ हजार १०९ छन् । यो अवधिमा २९ लाख ३१ हजार ७३१ सवारीसाधन थपिएका छन् । यो २८ वर्षअघिका सवारीसाधनको तुलनामा ३९ गुणा बढी हो ।

७३ हजारमध्ये ५१ हजार किमि सडक विनाइन्जिनियरिङ निर्माण

मुलुकभर रहेको सडकमध्ये ७०% (५१ हजार २०८ किमि) सडक इन्जिनियरिङ डिजाइनबिना नै निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज काफ्लेका अनुसार २१ हजार ९४७ किमि सडक मात्र इन्जिनियरिङ डिजाइनमा निर्माण भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कुल सडकमध्ये २० हजार किमि मात्र बाह्रै महिना सवारीसाधन चल्छन । त्यस्तै, २५ हजार किमि सडकमा केही महिना सवारी चल्छन् भने बाँकी २८ हजार किलोमिटर सडकमा सवारीसाधन गुड्दैनन् ।

 

देशभरका कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये २३ लाख ७२ हजार ३१६ मोटरसाइकल छन् । यो कुल सवारीसाधनको ७८% हो । त्योभन्दा पनि चाखलाग्दो विषय त कुल मोटरसाइकलमध्ये ३७% बागमती अञ्चलमा मात्र छन् । यसको अर्थ आठ लाख ७६ हजार ५५१ वटा मोटरसाइकल बागमती अञ्चलमा मात्र दर्ता भएका छन् ।

एकैवर्ष साढे चार लाख सवारी थप
पछिल्ला केही वर्षदेखि सवारीसाधन आयातमा हुने वृद्धि आकासिँदै गएको छ । आर्थिक वर्ष ०७३/७४ मा मात्र चार लाख ४४ हजार २५९ सवारीसाधन दर्ता भएका छन् । यो अहिलेसम्मकै उच्च आयात तथा दर्ता हो । चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो सात महिना (साउन–माघ)मा दुई लाख २४ हजार ६८१ सवारीसाधन दर्ता भइसकेका छन् । बाँकी ५ महिनामा यो संख्या वृद्धि भई पाँच लाख पुग्ने सम्भावना रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यसअघि, एकैवर्ष सबैभन्दा बढी आव ०७२/७३ मा तीन लाख ६३ हजार ६६५ सवारीसाधन दर्ता भएका थिए ।

ठूला सवारीसाधनको प्रयोगमा वृद्धि आवश्यक

तुलसी सिटौला
पूर्वसचिव, भौतिक पूर्वाधार
तथा यातायात मन्त्रालय
सडक र सवारीसाधनको अनुपात हरेक वर्ष वृद्धि हुँदै गएको छ । संसारमा यति सडकलाई यति नै सवारीसाधन हुनुपर्छ भन्ने केही छैन । तर, सडक र सवारीसाधनको व्यवस्थापन महत्वपूर्ण हुन्छ । नेपालमा मोटरसाइकलको संख्या अधिक (७८ प्रतिशत) भएकाले पनि सवारीसाधनको संख्या धेरै देखिएको हो । यसका लागि सवारी आयातमा नियन्त्रण गर्ने नीति ल्याउने र सडक वृद्धि गर्दै जाने एउटा उपाय हुन सक्छ । त्योभन्दा पनि ठूला सवारीसाधनको प्रयोग र आयातमा वृद्धि र प्रोत्साहन गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु