logo

bar

अहिले एक्लो भएको छु : भरतमोहन अधिकारी

दीपेन्द्र सापकोटा काठमाडौं, ८ वैशाख | बैशाख ०८, २०७५

सजिलो मान्छे हुँ

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘सबभन्दा गाह्रो त आफ्नो मूल्यांकन आफैँ गर्नु रहेछ ।’ मलाई पनि त्यही भइरहेको छ । तैपनि भन्नैपर्दा, मेरो स्वभाव एकदमै सरल र मिलनसार छ । म बाल्यकालदेखि लिएर युवावस्थामा पनि सरल थिएँ । मैले मेकअपसमेत नगरी सामान्य ढंगले विवाह गरे ।

मसँगको पहुँचमा पुग्नका लागि एकदमै सहज छु । मेरा पार्टीका नेताहरूले पनि मलाई त्यसरी नै बुझेको पाएको छु । नेता भानुभक्त जैसीले भन्नुहुन्थ्यो, ‘हाम्रो पार्टी (एमाले)मा सबैभन्दा सरल नेता नै भरतमोहनजी हो ।’ म पटकपटक मन्त्री भएँ ।

भरतमोहन अधिकारी, एमाले नेता

तीनपटक त अर्थमन्त्री नै भएँ । पार्टीमा पनि विभिन्न ठूला पदमा रहेर काम गरेँ । मन्त्री भएको वेला पनि सबैले ‘सबभन्दा सहज भरतमोहन छ’ भन्थे । म जीवनभर सरल, सहज र मिलनसार रहेँ ।

अरूलाई काम अह्राउन आउँदैन

म अहिले ८२ वर्षको भएँ । ००७–०८ सालदेखि राजनीतिमा लागेको हुँ । राजनीतिमा प्रवेश गर्दा १६ वर्षको थिएँ । राजनीतिमा योगदान हुनका बाबजुद मैले कहिल्यै पनि आफू पुरानो हुँ भनेर घमण्ड गरिनँ । कसैलाई पनि काम अह्राउन मलाई मन लाग्दैन । बरु, जे काम पनि आफैँ संग्लग्न भएर गर्ने स्वभाव छ ।

स्थिर छु

म स्थिर मान्छे हुँ । ६ दशकभन्दा बढी निरन्तर एउटै पार्टीमा रहेँ । पञ्चायतकालमा धेरै दुःख पाइयो । कति साथीहरू विचलित भएर पञ्चायततिर लागे । तर, मैले कहिल्यै पनि आफ्नो राजनीतिक सिद्धान्त छाडिनँ ।

कम रिसाउनेमा पर्छु

म रिसाउँदै नरिसाउने मान्छेमा पर्छु । आफ्ना छोराछोरीलाई कहिल्यै प्याट्ट पनि कुटेको छैन । तीन छोरी हुर्काएँ । कहिल्यै गाली नगरी । तर, घटनाक्रमले कहिलेकाहीँ अलि अस्थिर बनाउँछ । मान्छे हुँ, सामान्य रिस त उठ्छ नै । यस्तो वेला पुनः ‘रिकन्साइल’ गर्छु ।

पार्टीमा समन्वयकारी भूमिका खेलेँ

माले र माक्र्सवादी मिलाएर एमाले बनाउनुमा मेरो ठूलो भूमिका छ । पार्टीमा जहिल्यै समन्वयकारी भूमिका खेलेँ । फरक–फरक गुटका केपी ओली र माधव नेपालको ध्रुवीकरण बढ्न नदिन सधैँ मेरो भूमिका रह्यो । पार्टीमा अडान राख्थेँ, तर मिलनसार रूपमा प्रस्तुत भएर । नेता गोपाल शाक्य भन्नुहुन्थ्यो, ‘भरतमोहनजी कुनै गुटमा लाग्नुहुन्न, समन्वयकारी हुनुहुन्छ ।’ हुन पनि मैले पार्टीमा कुनै गुट बनाइनँ ।

पावरमा छैन, एक्लो भएको छु

काठमाडौंमा भएको पार्टीको नवौँ महाधिवेशन (०७१)पछि राजनीतिबाट विश्राम लिने घोषणा गरेँ । तर, सन्न्यास नै भने लिएको छैन । मात्र म नेतृत्व तहमा बस्दिनँ भनेको हुँ । पार्टीको सल्लाहकारको रूपमा अझै सक्रिय रहन सक्छु । तैपनि, ०७१ यता म एक्लोजस्तो भएको छु ।

अहिले अधिकांश समय सानेपास्थित निवासमा बिताउँछु । पार्टीका मानिसहरू कोही पनि भेट्न आउँदैनन् । पहिले म पावरमा हुँदा भेट्न नै फुर्सद नहुने गरी मान्छे आउँथे । हाम्रो समाज व्यक्तिपूजक छ ।

 

०७१ यता म एक्लो भएको छु । पार्टीका मानिस कोही पनि भेट्न आउँदैनन् । पहिले पावरमा हुँदा भेट्न नै फुर्सद नहुने गरी मान्छे आउँथे । हाम्रो समाज व्यक्तिपूजक छ । जो व्यक्ति शक्तिमा छ, उसको पछि लाग्नेको भिड लाग्छ । पहिले अर्थमन्त्री हुँदा उद्योगपतिहरू पनि भेट्न आउँथे । हिजोआज उनीहरू त के मिडिया पनि आउन छाड्यो । उद्घाटन कार्यक्रममा पनि बोलाउन छाडे ।

 

जो व्यक्ति शक्तिमा छ, उसको पछि लाग्नेको भिड लाग्छ । पहिले अर्थमन्त्री हुँदा उद्योगपतिहरू पनि भेट्न आउँथे । हिजोआज उनीहरू त के मिडिया पनि आउन छाडे । उद्घाटन कार्यक्रममा पनि बोलाउन छाडे ।

चाँडै प्रतिक्रिया दिन्छु

म कुनै कुरामा चाँडै प्रतिक्रिया दिइहाल्ने स्वभावको छु । यसले कतिपय अवस्थामा नोक्सान पु-याएको छ । चित्त बुझेन भने ठाडै भन्छु । घर–व्यवहारमा पनि अपर्झट निर्णय गर्छु । यसले नोक्सान पु-याएको छ भन्ने फिल गर्छु । तर, सच्याउन सकेको छैन ।

मितव्ययी छु

किशोर अवस्थामै पार्टीमा लागेँ । घरव्यवहार कहिल्यै गरिनँ । घरव्यवहारका कुरा थाहा छैन । तैपनि, म पैसाको सवालमा मितव्ययी छु । यो कुरा मैले अर्थमन्त्री हुँदा पनि लागू गरेँ । बजेट बनाउने दिन फाइभस्टार होटेलबाट खाना अर्डर गर्ने चलन रहेछ । त्यो हटाएर मैले मन्त्रालयको क्यान्टिनकै खाना खाने परिपाटी बसालेँ ।

राजनीतिमा सुखदुःख दुवै

अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऊँ’, वृद्धभत्ता, सुत्केरी भत्ता, एकल महिलालाई भत्तालगायत सामाजिक सुरक्षाको क्षेत्रमा धेरै काम गरेँ । तीनखम्बे अर्थनीति (केशव बडालसँग मिलेर) ल्याएँ । यस्तै धेरै काम गरेँ ।

राजनीतिमा लागेर राम्रा काम गर्न पाउँदा खुसी लागेको छ । गाउँमा गयो भने ‘बूढाबूढीलाई भत्ता दिने मन्त्री यही हो’ भनेर चिन्छन् । यसमा खुसी छु । तर, अर्कोतिरबाट सोच्दा दुःखी पनि छु । राजनीतिमा लागेर व्यवस्था त बदल्न सकियो, तर जनताको जीवनशैलीमा परिवर्तन ल्याउन सकिएन ।

भाइटल पोस्ट ताकिनँ

पार्टीमा मैले कहिल्यै गुट नबनाएका कारण भाइटल पोस्टमा पुगिनँ । मैले कहिल्यै पनि पार्टी अध्यक्ष, महासचिव, प्रधानमन्त्रीजस्ता मुख्य पोस्ट दाबी गरिनँ । मैले गुट नबनाएका कारण यी पोस्टमा मेरो नाम कसैले पनि उच्चारणसम्म गरेनन् । राष्ट्रपतिका लागि पनि म छनोटमा परिनँ ।

बदमासी गर्न पाइएन

किशोर अवस्थामै सक्रिय राजनीतिमा लागेको हुनाले जीवनको खास आनन्द लिन पाइनँ । जवानीमा पनि कुनै बदमासी गर्न पाइनँ । अहिले आएर हेर्दा लाग्छ एक किसिमले निरस जीवन बितेछ । आठ दशक पार गरेपछि महसुस भइरहेछ– जीवन त प्रकृतिको मुख्य देन रहेछ । यो सधैँ पाइँदैन । तसर्थ, मज्जाले जिउनुपर्छ । राम्ररी सदुपयोग गर्नुपर्छ । समाजको हितमा काम गर्नुपर्छ । ता कि मरेपछि पनि सम्झना होस् ।

रक्सी मन पराउँथेँ

पहिले बनारसमा पढ्दा चुराट पिउँथेँ । एक किसिमले लत नै लाग्यो । अब त २५ वर्ष भयो छाडेको । रक्सी पनि पिउँथेँ । तर, म ‘ड्रिंकर’ नै भने होइन । ८–१० दिनको अन्तरमा सुरक्षित ठाउँमा गएर पिउँथेँ । म रक्सी मनपर्ने मान्छे हुँ । तर, हिजोआज उमेर र स्वास्थ्यका कारणले छाडेको छु । अहिले त पान, सुपारी पनि खान्नँ ।

मनको शक्तिलाई मान्छु

कम्युनिस्ट भएको नाताले भौतिक जगतलाई मान्छु । तर, स्प्रिचुअल पावर पनि हुन्छ भन्नेमा विश्वास छ । यसलाई म आध्यात्मिक नभनेर मनको शक्ति भन्छु । मैले सपनामा देखेको कुरा वास्तविकतामा परिणत भएको हुनाले केही शक्ति छ भन्ने लाग्छ ।

क्रिकेट पछ्याउँछु, नेपालले छलाङ मारेको छ

राजनीतिबाहेक पुस्तक लेख्नु मेरो रुचिको विषय हो । ‘नेपालमा औद्योगिकीकरणका समस्या’ भन्ने अर्थशास्त्रको किताब लेखेँ । त्यस्तै, ‘मेरो जीवनयात्रा’ र ‘संसद्देखि संविधानसभासम्म’ भन्ने दुई किताब पनि लेखेको छु । लेखहरू पनि लेख्छु ।

यीबाहेक, पहिले सानामा फुटबल खेल्थेँ । कम्युनिस्ट भएपछि त्यसैको स्कुलिङका कारण एकांकी भइएछ । खेलकुदलगायत दुनियाँका राम्रा पाटाहरू बिर्सिएँ । हिजोआज क्रिकेटबारे चासो राख्छु । फुर्सद हुँदा हेर्छु । नेपालले एकदिवसीय मान्यता पाएको छ ।

यसले प्रगति गर्न देश धनी भएर मात्र हुँदैन रहेछ भन्ने सन्देश दिएको छ । सन्दीप लामिछानेले उचाइ लिएका छन् । उनले देशको नाम अन्तर्राष्ट्रिय जगत्मा चिनाइदिए । यसमा गर्व गर्नुपर्छ ।

खानामा कन्सियस भएको छु

एक वर्षदेखि बिरामी छु । मुटुको समस्या छ । ग्यास्ट्रिक आदि समस्या पनि छन् । पिसाब रोकिने पनि गर्छ । अस्पताल जाने–आउने गरिरहेको छु । चैतमा मात्र तीनपटक गएँ । अहिले अलि सुधार भएको छ । अब त बूढो पनि भइयो । उमेरकै कारणले रोग लागेको हो । खाना खाने कुरामा अलि कन्सियस भएको छु । यसो गर्दा, अलि उमेर थपिएला कि (हाँस्दै) ।

तपाईको प्रतिक्रिया