logo

bar

युरोपबाट पुनरागमन गर्दै जोकोभिक

एजेन्सी लन्डन, ७ वैशाख | बैशाख ०७, २०७५

ब्रिटिस नम्बर एक टेनिस खेलाडी एन्डी मुर्रेले दक्षिणी फ्रान्समा आयोजना हुने मास्टर्स सिरिजबाट पुनरागमन गर्दै छन् । सन् २०१८ को सिजनमा मुर्रेको पहिलो अन्तर्राष्ट्रिय खेल नै फ्रान्सेली मास्टर्स सिरिज हुनेछ, जुन अर्को महिनाबाट सुरु हुनेछ । मुर्रेसँगै सर्बियाली एक नम्बर टेनिस खेलाडी नोभाक जोकोभिक पनि युरोपकै प्रतियोगिताबाट पुनरागमन गर्दै छन् । दुवैले यसका लागि कडा मिहिनेत गरिरहेका छन् । युरोपियन एजेन्सीहरूका अनुसार दुवै दिग्गज टेनिस स्टार उत्कृष्ट पुनरागमन जनाउन दैनिक घन्टौँ कोर्टमा अभ्यास गरिरहेका छन् ।

जोकोभिकले मोन्टे कार्लो खेल्ने
चोटकै कारण जोकोभिकले गत सिजनमा त्यति धेरै प्रतियोगितामा सहभागिता जनाउन पाएनन् । विश्व पुरुष टेनिसका पूर्व एक नम्बर खेलाडीसमेत रहेका जोकोभिकले मोन्टे कार्लो मास्टर्स सिरिजमा प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । दुईपटक मोन्टे कार्लो उपाधि जितेका जोकोभिकले आफ्नो करिअर पुनः सुरुवात गर्ने जनाएका छन् । ‘म फेरि उत्कृष्ट टेनिस खेल्न चाहन्छु, यसको प्रयास मोन्टे कार्लोबाट हुनेछ,’ बेलायती एजेन्सीहरूसँग कुराकानी गर्दै जोकोभिकले भने । गत वर्ष विम्बल्डनमा बोकेको चोटका कारण जोकोभिक वर्षदिनजति कोर्टबाहिर रहे ।

अगासीको भरमा सर्बियन
अमेरिकाका लिजेन्डर आन्द्र अगासीको प्रशिक्षणमा जोकोभिकले सन् २०१५ मा उत्कृष्ट प्रदर्शन मात्र गरेनन्, उनी ११ एकल उपाधिसमेत घर भिœयाउन सफल रहे । तर, प्रशिक्षक अगासीसँगको सम्बन्ध बिग्रिएपछि जोकोभिकको करिअरसमेत ओरालो लाग्यो । स्वयं जोकोभिक पनि यो पक्षलाई स्विकार्छन् । जोकोभिक भन्छन्, ‘अगासीसँगको ‘केमेस्ट्री’ निकै मिलेको थियो, उहाँसँग टाढिएपछि मैले मेरो करिअरमा उचार–चढावको सामना गरेँ ।’ लक्की प्रशिक्षक सावित भएका अगासीसँग जोकोभिक पुनः सम्बन्ध विस्तार गर्न चाहन्छन् । पुनरागमन खेलअघि नै अगासीसँग सम्बन्ध कायम हुने उनले बताए । ‘सम्भवतः यसै साता अगासीसँगको सम्बन्ध फाइनल हुनेछ,’ उनले भने ।

प्रशिक्षकमा प्रयोग
जोकोभिकले अगासीपछि धेरै प्रशिक्षक परिवर्तन गरे । जोकोभिकले निजी प्रशिक्षकमा प्रयोग नै गरेको देखिन्छ । दुई वर्षमा उनले इभान लेन्डी, डेरेन हाहिल तथा राडेक स्टाफकालाई प्रशिक्षक बनाए । तर, उनीहरूबाट प्रशिक्षणमा जोकोभिकले सोचेजस्तो सफलता हात पार्न सकेनन् । ‘प्रशिक्षकहरूबाट जुन आशा गरेको थिएँ, मैले ती कुराहरू प्राप्त गर्न सकिनँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया