logo

bar

हुम्लामै बसेर दश कृति

शिवराज योगी काठमाडौं, ४ वैशाख | बैशाख ०४, २०७५

फुर्सद हुनेबित्तिकै प्रायः मानिस ‘टाइम पास’का अनेक उपाय पहिल्याउँछन् । अझ युवावयमा पाइला टेक्दै गरेको मानिसले फुर्सद पायो भने के गर्ला ? सोझो अनुमान गरिन्छ– घुम्ने, खेल्ने, खाने, साथीभाइसँग रमाइलो गर्ने ।

शिवराज योगी

विकट गाउँ हुम्लाको सिमकोटमा जन्मिएका वसन्त रोकायाले भने फुर्सदको समयलाई ‘रमाइलो’मा बिताएनन् । ‘एसएलसीपछिको फुर्सदिलो समयमा लेख्ने/पढ्ने काम गरेर त्यसैलाई रमाइलो बनाएँ’, १० कृतिका सर्जक रोकायाले भने, ‘एसएलसी दिएर म काठमाडौं आएँ, यताउता बरालिनुभन्दा लेखनकार्यमा लागेँ ।’ जीवन निर्वाहका लागि शिक्षण पेसा गरिरहेका रोकायाले हुम्लामै बसेर १० कृति सिर्जना गरेका छन् ।

२०६१ सालमा उनले ‘अक्षर या चित्कारहरू’ पहिलो कविता संग्रह काठमाडौंमा सामान्य रूपमा विमोचन गरे । साइबाबाका भक्त उनले बाबाकै मूर्तिमा कृति चढाएर विमोचन गरेको सुनाए । ‘त्यसपछिका आठ कृति उतै लेखेँ, उतै सार्वजनिक गरेँ’, साहित्यकार रोकायाले नभे, ‘म कहिल्यै प्रचारमुखी भएन, मेरो लेखाइ आत्मसन्तुष्टि र समाज परिवर्तनका लागि हो ।’

पछिल्लो अर्थात् दशौँ कृति ‘यार्सा’ खण्डकाव्य विमोचनका लागि उनी काठमाडौं आए । यार्सालाई काठमाडौंमा विमोचन गर्नुको उद्देश्य प्रस्ट्याउँदै भने, ‘भाषा मान्छेको पहिचान र प्राण हो, मैले भाषा चिनाउन यार्सालाई यहाँसम्म ल्याएको हुँ ।’ यार्सा खण्डकाव्य हुम्लाको स्थानीय भाषामा लेखिएको छ । ‘भाषाको अभिलेखीकरण गर्न त्यहीँको भाषामा लेखेको हुँ,’ रोकायाले भने ।

दुई छाककै लागि सकस भोगिरहेको सामाजिक परिवेशमा बसेर कृति सिर्जना गर्न विषयका हिसाबले सहज छ, तर त्यो दुर्गममा बसेर कृति प्रकाशन गर्न निकै जटिल भएको उनले महसुस गरेका छन् । आमा गोइलुमा रोकाया र बुबा ड्वाङसे रोकायाका तीन बहिनी छोरी र दुई भाइ छोरामा जेठा वसन्त कि राजनीति या त साहित्यले समाज परिवर्तन गर्ने देख्छन् ।

‘साहित्य समाजको चित्र र चरित्र हो’, उनले भने, ‘म साहित्यमा समाजको चित्र र चरित्र लेख्न कोसिस गरिरहेको छु ।’ पछिल्लो समय साहित्य प्रचारमुखी बनिरहे पनि उनले त्यो चाहना कहिल्यै नराखेको सुनाए । २०६१ सालमा ‘अक्षर या चित्कारहरू’ कविता संग्रह प्रकाशत गरेपछि उनले निरन्तर ‘हत्या गरौँ कि आत्महत्या’ कविता संग्रह, ‘गाउँको व्यथा’ गीत, गजल, हाइकु संग्रह, ‘रोएर हाँसेका जिन्दगीहरू’, ‘बुनु’ कविता संग्रह, ‘रूपान्तरण’ उपन्यास, ‘मधुमाधव’, ‘एक कथा, दुई नायिका’ कथा संग्रह, ‘उज्यालोको खोजी’ लघुकथा संग्रह प्रकाशित गरेका छन् । साहित्यमा हुम्लाको जनजीवन उतार्न खोजेको उनी बताउँछन् ।

विभिन्न सामाजिक र शैक्षिक संस्थामा आबद्ध उनी २४ वर्षकै उमेरमा आफँै पढेको विद्यालय मानसरोवर माविमा प्रिन्सिपल भए । पछि प्लस टु संयोजक हुँदै २७ वर्षकै उमेरमा उनी सोही क्याम्पसका क्याम्पस प्रमुख बने ।

‘राजधानीमा बस्दा कता जाने, के गर्ने हुन्थ्यो,’ उनले लेखन सुरुवातका दिन सम्झिए, ‘कोठामै बसेर धेरै किताब पढेँ, त्यहीँ लेख्न थालेँ ।’ एक दिन उनका साथी उत्तम श्रेष्ठले लेखेका कुरा छाप्नुपर्छ भने । उनले गाउँकै पत्रिका ‘खारपो दोभान’मा ‘मेरो हुम्ला’ कविता पठाए । त्यो छापियो । ‘पछि त मधुपर्क, गरिमालगायतले पनि छापिदियो,’ उनले भने, ‘मेरो हौसला निकै चुलियो ।’

अहिले उनी ‘सामाजिक यथार्थवादी धारा’मार्फत आदर्शोन्मुख स्वर उठाइरहेको बताउँछन् । ‘समाज बदल्न कि राजनीति गर्नुपर्छ, कि लेखेरै हुन्छजस्तो लाग्छ,’ उनले भने, ‘तर म समाजका कुरा सन्तुष्टिका लागि लेख्छु ।’ १० वटा कृति लेख्दा पनि उनी कहिल्यै प्रचारमा आएनन् वा आउन चाहेनन् । ‘लेख्ने कुरा प्रचार र विज्ञापनका लागि होइनजस्तो लाग्छ,’ उनले भने, ‘म सधैँ कर्म गर, फलको आशा नगर भन्ने आदर्शमा हिँडेँ ।’

उनले लेखाइमा स्थानीय परिवेश र आञ्चलिकतालाई समेट्ने प्रयत्न गरेका हुन्छन् । त्यहीँको कथावस्तु, परिवेश र समाजको फ्रेमलाई टपक्क टिपेर सिर्जनामा उतार्नु वसन्त रोकायाको लेखकीय विशेषता हो।

सामाजिक परिवेश, विषयवस्तु र संवेदनाले एक अर्थमा लेख्न सहज होला । तर, प्रकाशन त्यति सहज नहुन सक्छ । रोकाया भन्छन्, ‘पहिलो कृति निकाल्दा सहयोग लिएँ, मेरो अम्मल अरू केही छैन, अचेल सकेसम्म वर्षमा एउटा कृति निकाल्नुलाई अम्मल बनाएको छु ।’

तपाईको प्रतिक्रिया