logo

bar

पुटिनका मित्र अमेरिकी शत्रु

नयाँ पत्रिका काठमाडौं, ४ वैशाख | बैशाख ०४, २०७५

सिरियाको गृहयुद्धले संसारका दुई ध्रुवलाई फेरि उठाइदिएको छ । बेलायत, फ्रान्स र अमेरिकी सेना सिरियामा आक्रमण गरिरहेको छ । अर्कातिर रुस सिरियाली सरकारका साथमा उभिएको छ । अमेरिका र उसका सहयोगी देशहरूका अनुसार राष्ट्रपति बसर अल असदले डुमामा विद्रोहीविरुद्ध रासायनिक हतियार उपयोग गरेका छन् । जब कि सिरिया र रुस यस आरोपलाई अस्वीकार गरिरहेका छन् ।

यस विवादमा राष्ट्रपति बसर अल असद अत्यन्त महŒवका पात्र बन्दै गएका छन् । आखिर को हुन् ५२ वर्षीय असद ? जसले यति लामो गृहयुद्धपछि पनि सिरियामा आफ्नो सत्ता बचाइराखेका छन्, जसको सरकारमाथि संसारभर एउटा ठूलो युद्धको कारण बनेको आरोप लगाइँदै छ ।

राजनीति अनपेक्षित बाटो
निकै कम मानिस जान्दछन् कि बसर दाजुको निधन एक सडक दुर्घटनामा नभएको भए सायद एक नेत्र विशेषज्ञ बन्ने थिए । यथार्थमा असद त्यस परिवारबाट आएका हुन्, जसको सिरियामा चार दशकभन्दा बढी समयदेखि शासन चलिरहेको छ । असदका पिता हफिज अल असद आधुनिक सिरियाका शिल्पीका रूपमा चिनिन्छन् । यो देशले दशकौँसम्म क्रान्ति र क्रान्तिविरोधी संघर्षसित जुधिरह्यो । १९७० मा हफिज अल असदले आफ्नो त्यस नेटवर्कको मद्दतबाट सत्ता हासिल गरे, जुन उनले सिरियाली वायुसेनाका कमान्डर र रक्षामन्त्रीबीच बनाएका थिए ।

हफिजले यस्तो व्यवस्थालाई बढावा दिए, जसबाट राज्यको अधिकांश नियन्त्रण उनकै साथमा रह्यो । हफिजका ठूला छोरा बासिललाई उनका उत्तराधिकारी मान्ने गरिएको थियो । उनी राष्ट्रपतिका सुरक्षा प्रमुख थिए र आधिकारिक अवसरहरूमा सैनिक पोसाकमा देखिन्थे । तर, १९९४ मा एक कार दुर्घटनामा बासिलको मृत्यु भयो र सम्पूर्ण शासनको जिम्मा हफिजका कान्छा छोरा बसर अल असदको काँधमा आयो ।

२००० मा राष्ट्रपति
असदले दमिस्क युनिभर्सिटीबाट १९८८ मा नेत्र विज्ञानको पढाइ पूरा गरेका थिए । र, थप अध्ययनका लागि उनी १९९२ मा लन्डन गएका थिए । जब दाजुको निधन भयो, त्यतिखेर उनी लन्डनमै थिए । राजनीतिमा उनको रुचि कम थियो । तर, सत्ता सम्हाल्ने तयारीका लागि पिताले उनलाई दमास्कसमा फिर्ता बोलाए । १९९४ मा बसर एक ट्यांक बटालियन कमान्डर बने । १९९७ मा लेफ्टिनेन्ट कर्नेल र १९९९ मा कर्नेल बन्न सफल भए ।

पिताको निधनपछि २००० मा बसर अल असद राष्ट्रपति बने । उनलाई एक नियन्त्रित र दमनकारी राजनीतिक व्यवस्था उत्तराधिकारमा प्राप्त भएको थियो । जहाँ शासकका निकट मानिसमा अलाबी सिया समुदायका सदस्यको वर्चस्व थियो । असद परिवार पनि यसै समुदायको हो । ७४ प्रतिशत सुन्नी जनसंख्या भएको सिरियामा अलाबी सिया समुदायको जनसंख्या ५ देखि १० प्रतिशत मात्र छ ।

आधुनिकतावादी एजेन्डामा असफल
त्यतिखेर आधुनिकतावादी र इन्टरनेट समर्थक भनिने असदले नयाँ ढंगले सिरियामा स्वतन्त्रता ल्याउने र सिरियाली बजारलाई खुला गर्ने वाचा गरेका थिए । उनले ठूलो संख्यामा राजनीतिक बन्दीलाई रिहा गरे र मिडियामाथि लागेका नियन्त्रण पनि खुकुलो गराइदिए । यस क्रममा राजनीतिक बहस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निडर भएर बोल्नसमेत पाइयो ।

तर, असदको यो खुलापनवाला सुधारवादी प्रयास धेरै समयसम्म चल्न सकेन । परिवर्तनको गतिले सेना, उनको आफ्नो बाथ पार्टी र अलावी सिया समुदायको कान ठाडा गरिदियो । असुरक्षाको डर र आफ्नो प्रभाव घट्ने आशंकाका कारण उनीहरूले असदमाथि दबाब दिएर परिवर्तनको गतिलाई सुस्त मात्र गराएनन्, अपितु कैयौँ मोर्चामा पुराना परम्परावादी स्थिति पुनस्र्थापित गराए ।

विदेश नीति
विदेश नीतिको मोर्चामा बसर अल असदले इजरायलमाथि आफ्ना पिताझैँ कठोर विदेश नीति अपनाए । उनले जबसम्म कब्जा गरिएको जमिन पूर्णतः फिर्ता गरिन्न, तबसम्म शान्ति स्थापना नहुने पटक–पटक बताए । उनले इजरायलका विरोधी चरमपन्थी गुटमाथिको समर्थन पनि जारी राखे । २००३ मा इराकमा अमेरिकाको नेतृत्वमा भएको हस्तक्षेपको उनले कडा अलोचना गरे । सिरियाका तर्फबाट इराकका विद्रोही गुटलाई समर्थन पनि गरे । जसबाट अमेरिका विशेष रुष्ट भयो ।

२००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्यापछि अमेरिका र सिरियाको सम्बन्ध थप बिग्रियो । यस हत्याका लागि राष्ट्रपति असद, उनका निकट सियाबहुल ‘भित्री सर्कल’ र सिरियाली सुरक्षा सेवामाथि शंका गरियो । असद सरकारलाई रुस, आफ्नो पारम्परिक सहयोगी इरान र इरानको समर्थक लेबनानी चरमपन्थी गुट हिजबुल्लाबाट बलियो कूटनीतिक र सैनिक सहयोग जारी रह्यो ।

‘अरब वसन्त’मा के परिवर्तन भयो ?
२०११ मा जब चर्चित ‘अरब वसन्त’ विरोध प्रदर्शनले ट्युनिसिया र इजिप्टमा सत्ता परिवर्तन गरिदियो, त्यतिखेर असदले भनेका थिए कि सिरिया यस्ता विद्रोहबाट पूर्णतः सुरक्षित छ । ठूलो संख्यामा मानिसहरू असद सरकारविरुद्ध सडकमा उत्रिए । जसमा दुई हजारभन्दा बढीको मृत्यु भयो । असदले प्रदर्शनकारीको माग पूरा गर्न अस्वीकार गरे र प्रदर्शनको हिंस्रक दमन गरे । तर, सुरक्षा बलको निर्मम कारबाहीले पनि अरब वसन्तको आवाज दबाउन सकेन । उल्टो, यसपछि यो प्रदर्शन सशस्त्र संघर्षमा परिणत भयो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डटकम/हिन्दीबाट

तपाईको प्रतिक्रिया