logo

bar

पूरा होला जनवादी शिक्षाको सपना ?

वाइपी आचार्य काठमाडौं, ४ वैशाख | बैशाख ०४, २०७५

पछिल्लो निर्वाचनपछि झन्डै दुईतिहाइ जनमत वामशक्तिको पक्षमा गएको छ । त्यही मतको जगमा केपी ओली नेतृत्वको सरकार बनेको छ । विगतमा बुर्जुवा शिक्षा बहिस्कार गरेका, स्कुलको बाटो छोडेर भूमिगत बाटो लागेका नेता प्रधानमन्त्री बनेका छन् । कलिला बालबालिकालाई बुर्जुवा शिक्षा बहिस्कार गराएका, कलम समात्ने हातमा बन्दुक थमाएका, किताब बोक्ने झोलामा बम बोकाएका नेता यो सरकारका सारथी भएका छन् ।

वाइपी आचार्य

विद्यार्थीको पढेर शिक्षक, प्राध्यापक, कर्मचारी आदि बन्ने सपनाको ठाउँमा जनवादी व्यवस्थाको अफिम खुवाएर लठ्ठ पार्दै भावी पुस्ताका लागि जनवादी शिक्षा लागू गर्ने भनी शाब्दिक जाल फ्याँकेर क्रान्तितर्फ हुत्याउनेहरू पनि मन्त्री बनेका छन् । एमाले र माओवादी केन्द्र दुवैका प्रमुख राजनीतिक दस्ताबेजमा ०६२/६३ को जनआन्दोलनलाई क्रान्ति भनिएको छ । देश पुँजीवादमा प्रवेश गरेको भनिएको छ । घुमाउरो तरिकाले त्यो आन्दोलनलाई जनवादी क्रान्तिको संज्ञा दिइएको छ । अब विगतमा भनेजस्तो जनवादी क्रान्तिको औचित्य छैन भन्ने आशय प्रकट भएको छ । श्रमजीवी, किसान र मजदुरको अधिनायकत्व नभए पनि अहिले जनवादी चरणमा प्रवेश गरेको भित्री आशय ती दस्तबेजले उजागर गरेका छन् । यिनै विचारको नेतृत्व गर्ने पार्टीहरूसँग संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा समेत सुविधाजनक बहुमत छ । अब अरूलाई हिलो छ्यापेर आफू जोगिने ठाउँमा यिनीहरू छैनन् । जनवादी शिक्षा लागू गर्ने विगतको वाचा पूरा गर्ने कि लात हान्ने दोसाँधमा उभिएका छन् उनीहरू ।

अवधारणागत स्पष्टता जरुरी
प्रजातन्त्र, जनतन्त्र, जनवाद, र लोकतन्त्रजस्ता शब्द समानार्थी अर्थात् पर्याय हुन् । यी सबै शब्दको अंग्रेजी अनुवाद डेमोक्रेसी हुन्छ । नेपालका कम्युनिस्टले जनवादी शब्दलाई प्रिय ठाने, गैरकम्युनिस्टले प्रजातन्त्र वा लोकतन्त्रलाई । गैरकम्युनिस्टले जनवादी शब्दलाई पराइ ठाने, प्रयोग गर्न हिच्किचाए । कम्युनिस्टले यसलाई आफ्नो पेवा ठाने । यहाँ कताकता शब्दको बोक्रे लडाइँ छ र भावनाको पनि । तर, सारभित्र भने कोही पनि छिरेको देखिन्न । कम्युनिस्टले जनवादी शिक्षाको ओठेबोली बोल्दै आए, स्वरूप दिएनन् । गैरकम्युनिस्टले जनवादी शिक्षा शब्द सुन्दै झस्किएर अमूर्त छायालाई भूत सम्झिए । जनवादी शिक्षा साँच्चिकै कम्युनिस्टको पेवा हो वा अमूर्त छाया अथवा अरू केही भन्नेबारे जनमानस भुलभुलैयामा परे । यो शिक्षा न त भूत हो न पेवा नै । यो आफैँमा न त समाजवादी हो न साम्यवादी नै, बरु प्रजातान्त्रिक हो ।

जनवादी शिक्षाको मर्म
कार्ल माक्र्सले भनेका छन्— श्रमसँग नजोडिएको शिक्षा केवल पाखण्ड हुन्छ । जनवादी शिक्षाको मूल मर्म पनि शिक्षालाई श्रमसँग जोड्नु हो । शिक्षा श्रमसँग जोडिँदा एकातिर उद्यम विकासमा सहयोग पुग्छ, अर्कातिर उत्पादन बढ्छ । साथै, सबैले कुनै न कुनै श्रम (शारीरिक, मानसिक) मा भाग लिँदा शिक्षा व्यवसायसँग जोडिन्छ । त्यसले सिर्जनात्मकता बढाउँछ, विभेदीकरण घटाउँछ, श्रमको सम्मान हुन्छ । श्रम मानवजातिको अनिवार्यता पनि हो । किनकि, मानिसले बाँच्नका लागि खानुपर्छ, खानका लागि उत्पादन गर्नुपर्छ, उत्पादनका लागि श्रम गर्नुपर्छ, श्रम गर्ने संस्कृति विकासका लागि शिक्षा श्रमसँग जोडिनुपर्छ । जनवादी शिक्षाले कसैले बसीबसी खाने कसैले मरिमेटेर श्रम गर्दा पनि पेट पाल्न बसिखानेको शरण लिनुपर्ने संस्कृतिको विरोध गर्छ । अबको शिक्षा अनिवार्य श्रमसँग जोडिन्छ कि जोडिँदैन ? शिक्षाले व्यक्तिको दैनिकी चलाउँछ कि चलाउँदैन ?

जनवादी शिक्षाले शिक्षालाई अधिकारका रूपमा लिन्छ । तर, नेपालमा अधिकार कागजमा सीमित छ । गरिबीको दुश्चक्रबाट फड्किन नसकेकाहरू अहिले पनि विद्यालयबाहिरै छन् । अनाथ भनिएकाहरू विद्यालय टेक्दैनन् । शारीरिक श्रम गरेर मुखमा माड हाल्न योगदान गर्ने बालबालिकाले विद्यालयको मुहार देख्दैनन् । धन हुनेले रोजेको विद्यालयमा बच्चा पठाउँछन् । धनकै बलमा डाक्टर, इन्जिनियर बनाउँछन् । बुद्धि र मन हुनेहरू तर धनको खडेरी लागेकाहरू आँसु पिएर भाग्यलाई सराप्न बाध्य छन् । यहाँ शिक्षामा अधिकार कसरी स्थापित गर्ने ? अब शिक्षालय दलाल पुँजीपतिको कब्जाबाट मुक्त हुन्छन् कि हुँदैनन् ? शैक्षिक माफियाको सिन्डिकेट तोडिन्छ कि तोडिँदैन ? गरिब, अनाथ, श्रमिकका बच्चाले विद्यालय टेक्ने र टिक्ने अवस्था हुन्छ कि हुँदैन ? शैक्षिक अवसरमा धनको बार लाग्छ कि लाग्दैन ?

माओ भन्छन्— जनता नै वास्तविक शिक्षक हुन् । किसानका फर्म र मजदुरका कार्यस्थल वास्तविक स्कुल हुन् । जनवादी शिक्षाको गाँठी कुरा पनि जनताबाट सिक्नु हो । अब हाम्रा दलित भनिएकाहरूमा भएको सीपले प्रस्फुटित हुने अवसर पाउँछ कि पाउँदैन ? मुण्डक उपनिषद्ले भनेजस्तो अपरा विद्या (शारीरिक श्रम, सीप)ले शैक्षिक मान्यता पाउँछ कि पाउँदैन ? थारू जातिमा भएको बहुप्राविधिक सीपले औपचारिक शिक्षाको रूप धारण गर्छ कि गर्दैन ?

मनन गर्नुपर्ने विषय
हाम्रो देशको अवनतिको मूल जड अशिक्षा हो । कुप्रथा, अन्धविश्वास र अपरिपक्व व्यवस्थापकीय सीप हो । रूपमा रमाउने सारमा छिर्न नसक्ने अदूरदर्शी चिन्तन हो । अरूको आङमा जुम्रा देख्ने आफ्नो आङमा भैँसी पनि नदेख्ने दृष्टिदोष हो । रातारात धनी बन्ने उच्च महŒवाकांक्षा हो । नैतिकता र इमानदारीको खडेरी हो । मानवीय धर्म (कर्म)को ह्रास हो । त्यसैले सुधार गर्नुपर्ने शिक्षा हो । बढाउनुपर्ने चेतना हो । सिकाउनुपर्ने व्यवस्थापकीय कला हो । रोप्नुपर्ने इमानदारी र नैतिकताको बिउ हो । माथिबाट सुधार गर्ने राजनीतिले हो । तलबाट विकास गर्ने शिक्षाले हो । राजनीति नसुध्री देश सुध्रिँदैन । चेतना नबढी जीवनस्तर बढ्दैन, विकास टिक्दैन, गरिबी घट्दैन, समृद्धि आउँदैन । जनवादी शिक्षा व्यक्तिको चौतर्फी विकासको साधन हो । यो उद्देश्य पूर्ण श्रमसँग जोडिएको, जनताद्वारा व्यवस्थित, जनताका लागि, जनरुचि र जनज्ञानमा आधारित हुन्छ । यसको चरित्र प्रजातान्त्रिक हुन्छ, अधिनायकवादी होइन । स्वरूप वैज्ञानिक हुन्छ, काल्पनिक होइन । व्यवस्थापन जनस्तरबाट हुन्छ, माथिबाट लादिएको होइन । यो सब व्यवहारमा हेर्ने लगन जुरेको छ । यो लगन फुत्कियो भने कहिल्यै समात्न सकिनेछैन ।

(आचार्य जनवादी शिक्षामा एमफिल शोधपत्रका शोधार्थी हुन्)

तपाईको प्रतिक्रिया