logo

bar

बिडिसिए कपको उपाधि त्रिपुराको कब्जामा

अमर भट्टराई/नया पत्रिका बैतडी, ३ बैसाख | बैशाख ०३, २०७५

बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको १७औं संस्करणको उपाधी त्रिपुरा क्रिकेट क्लवले कब्जा गरेको छ । निंगलाशैनी खेल मैदान, देहिमाण्डौंमा भएको उपाधी भिडन्तमा जेएवाईसी, थालिगाडालाई २७ रनले पाखा लगाउँदै त्रिपुराले उपाधी रक्षा गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ९२ रन बनायो । जसमा सञ्जय धामीले अर्धसतकिय पारी खेल्दै ५३ रन जोडे । त्यस्तै तेज चन्दले ४८ रनको योगदान गरे । थालिगाडाका राम चन्दले ३ तथा जितेन्द्र रावलले २ विकेट हात पारे ।


१ सय ९३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगाडाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६५ रन मात्र जोड्न सक्यो । भरत चन्दले ३६ तथा जितेन्द्र रावलले २४ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा थालिगाडाले उप विजेतामै चित्त बुझाउन बाध्य भयो । त्रिपुराका लागी म्यान अफ द फाईनल तेज चन्दले २ विकेट हात पारे । यस्तै मुकेश मौनी र गणेश थापाले पनि समान दुई दुई विकेट प्राप्त गरे ।

उपाधीसंगै त्रिपुराले नगद ३० हजार, उपविजेता थालिगाडाले नगद २० हजार, ट्रफी र प्रमाणपत्र पाएको छ । यसैबिच प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्ने त्रिपुराका तेज चन्द म्यान अफ द सिरिज घोषित हँुदै नगद ५ हजार ट्रफी र प्रमाणपत्र हात पारे । उनले प्रतियोगिताभरी सर्वाधिक २ सय रन तथा ५ विकेट हात पारेका थिए । यस्तै प्रतियोगिताभरी उत्कृष्ट बलिङ गरेर १५ विकेट हात पारेका त्रिपुराका गणेश थापा उत्कृष्ट बलर चुनिए भने प्रतियोगितामा एक सय ३ रन बनाउने थालिगाडाका राम चन्द उत्कृष्ट ब्याट्सम्यान घोषित भए । निंगलाशैनी क्रिकेट क्लव, देहिमाण्डौंका गजेन्द्र बोहरा उदयीमान खेलाडीका रुपमा सम्मानित भए । उनले एकै ईनिंगमा ५५ बलको सहायतामा १ सय ४३ रनको पारी खेलेका थिए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता उपविजेता टोली तथा उत्कृष्ट खेलाडीलाई एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको छ । समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाको प्रमुख आतिथ्यता र बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दको अध्यक्षता रहेको थियो ।

क्रिकेटको विकासका लागि कतिबद्ध :प्रमुख
समापन समारोहमा बोल्नुहुदै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले क्रिकेटको विकासका लागी आफु कटिबद्ध रहेको बताएका छन् । क्रिकेटको विकासका लागी नगरपालिकाले बढी भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यस्तै बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागी प्रगियोगिता आयोजना गरिएको भएपनि उपयुक्त खेलमैदानको अभाव सधै खड्किरहने उनको भनाई रहेको छ । देश संघिय संरचनामा गईसकेपछी अबका दिनमा यस्ता प्र्रतियोगिता सञ्चालन गर्न स्थानिय तहले अग्रसर हुनुपर्नेमा उहाँको जोड रहेको छ ।

तपाईको प्रतिक्रिया