logo

bar

बच्चा जन्माउन आमाको पेटमा कैँची

सरला कट्टेल काठमाडौँ | बैशाख ०३, २०७५

दुई दशकयता विश्वभर सिजरियन सेक्सन (अप्रेसन गरेर बच्चा जन्माउने) क्रम ह्वात्तै बढेको छ । जसको प्रभाव नेपालमा समेत परेको छ । सहरी क्षेत्रमा मात्रै नभएर अस्पतालको पहुँच भएका ग्रामीण क्षेत्रमा समेत यसको प्रभाव देखिएको छ । गर्भवतीको आवश्यकता, अस्पतालको दबाब, डाक्टरहरूको सुविधा वा तन्नेरीहरूको चाहना जुनसुकै कारण भए पनि अस्पतालमा नर्मल डेलिभरी (प्राकृतिक जन्म) गर्नेको संख्या घट्दै गएको छ । अप्रेसन गरेर बच्चा जन्माउनेको संख्या सहरी क्षेत्रमा अझ धेरै छ ।

प्राकृतिक रूपमा बच्चा जन्माउन सक्ने अवस्थामा समेत कतिपय गर्भवतीलाई आफन्त र चिकित्सकले अप्रेसन गरेरै बच्चा जन्माउन सल्लाह र दबाब पनि दिने गरेका छन् । कतिपय तन्नेरी गर्भवतीले ‘स्वास्थ्य बिग्रने’ चिन्ता देखाएर पनि अप्रेसनको चाहना राख्ने गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पवन शर्मा धेरै मानिस आफ्नो आर्थिक स्तर देखाउनका लागि पनि नाम चलेका महँगा डाक्टर, महँगो अस्पतालमा अप्रेसन गराउने गरेको बताउँछन् । अप्रेसनलाई प्रसूति गराउने माध्यम बनाउन नहुने उनी बताउँछन् ।

अप्रेसन गरेर बच्चा जन्माउने क्रम राजधानीका निजी तथा सरकारी अस्पतालहरूमा धेरै छ । अस्पतालपिच्छे यसको तथ्यांक फरक–फरक देखिन्छ । २० वर्षअघि पाटन अस्पतालमा अप्रेसन गरेर बच्चा जन्माउने दर १० प्रतिशत मात्र थियो । तर, अहिले ४० देखि ५० प्रतिशत गर्भवतीले अप्रेसन गरेर बच्चा जन्माउने गरेका छन् ।

नर्भिक इन्टरनेसनल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. अचला वैद्य पछिल्लो समयमा गर्भवतीको डिमान्ड नै अप्रेसन हुने गरेको बताउँछिन् । डाक्टरहरूले पनि आफ्नो सहजताका लागि कतिपय अवस्थामा अप्रेसनलाई प्राथमिकता दिने गरेको उनको अनुभव छ ।

के भन्छ तथ्यांक ?

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा गत आर्थिक वर्ष ०७३/७४ मा २७ प्रतिशत गर्भवतीले अप्रेसन गरेर बच्चा जन्माए । १८ हजार ९ सय २७ ले प्रसुति गराएकोमा ५ हजार १ सय ८७ को अप्रेसनबाट बच्चा जन्मिएको थियो भने ११ हजार ६ सय ९१ को नर्मल डेलिभरी भएको थियो । त्यस्तै, सिभिल सर्भिस अस्पतालमा गत आर्थिक वर्षमा ४५ प्रतिशत अप्रेसन भएका थिए । १६ सय ८२ ले प्रसूति गराएकोमा ९ सय ९ नर्मल र ७ सय ४९ अप्रेसनपछि मात्र डेलिभरी भएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत आर्थिक वर्षमा करिब ४२ प्रतिशत सिजरियन डेलिभरी भएका छन् । ३ हजार ९ सय ६६ महिलाले प्रसूति गराएकोमा २ हजार ३ सय ७२ नर्मल र १ हजार ६ सय ३१ अप्रेसन भएका छन् । त्यस्तै, आर्थिक वर्ष ०७४/७५ को साउनदेखि फागुनसम्म ५ हजार ४ सय ९२ महिलाले प्रसूति गराएका छन् । गत साउनमा ४ सय ५१ महिलाले प्रसूति गराएकोमा २ सय १५ नर्मल र २ सय ३६ अप्रेसन भएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आर्थिक वर्ष करिब ४६ प्रतिशत सिजरियन डेलिभरी भएका छन् । ७ हजार ३ सय ८६ प्रसूति भएकोमा ३ हजार ८ सय ८९ नर्मल डेलिभरी र ३ हजार ३ सय ५६ अप्रेसन भएका छन् । असारदेखि अहिलेसम्म ५ हजार ४ सय १८ प्रसूति भएका छन् । जसमा २ हजार ८ सय २ नर्मल र २ हजार ५ सय ३१ अप्रेसन भएका छन् ।

बयोधा अस्पतालमा गत साउनदेखि फागुनसम्म ५२ डेलिभरी भएका छन् । जसमा ४० अप्रेसन भए भने १२ नर्मल डेलिभरी भएका छन् । आर्थिक वर्ष ०७४/७५ मा सो अस्पतालमा करिब ७७ प्रतिशत सिजरियन डेलिभरी भएका छन् । बयोधा अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माले निजी अस्पतालमा अप्रेसनबाट बच्चा जन्माउने चाहना भएका धेरै आउने गरेको बताइन् । आर्थिक अवस्था मजबुद भएका, धेरै बच्चा जन्माउन नचाहने र प्रसूति बेथा खप्न नसक्नेहरू निजी अस्पतालमा जाने गरेको उनले बताइन् । ग्रान्डी इन्टरनेसनल अस्पतालमा सन् २०१७ मा १६४ नर्मल डेलिभरी र ८३ सिजरियन डेलिभरी भएका छन् । त्यस्तै, सन् २०१८ को सुरुवाती ४ महिनामा १२० नर्मल डेलिभरी भएका छन् । जसमा ६३ अप्रेसन गरिएको छ ।

नर्भिकमा हुन्छ ५० प्रतिशत अप्रेसन

नर्भिक इन्टरनेसनल अस्पतालमा ५० प्रतिशत सिजरियन डेलिभरी हुने गरेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अचला वैद्यले बताइन् । कतिपय अवस्थामा बिरामी र आफन्तको प्रेसरका कारण पनि अप्रेसन गर्नुपर्ने अवस्था आउने उनले बताइन् । पछिल्लो समयमा विनातयारी, जानकारीविना प्रसूति गराउनेको संख्या बढ्दो छ । जसले गर्दा उनीहरू प्रसूतिको समयमा हुने बेथाबारे अनभिज्ञ हुन्छन् । त्यसैले बेथा लाग्ने वेलासम्म अप्रेसन गरेर दुखाइबाट मुक्त हुन चाहन्छन् ।

अप्रेसन गर्नेमा ओम एक नम्बर

ओम अस्पतालमा गत वैशाखमा ६५ प्रसूति भएकोमा ६३ अप्रेसन र २ वटा नर्भल भएका थिए । जेठमा ६ नर्मल र ९२ अप्रेसन भए । असारमा ९२ अप्रेसन र ६ नर्मल डेलिभरी भए । साउनमा १०५ अप्रेसन र ३ नर्मल, भदौमा २०२ अप्रेसन र १४ नर्मल, कात्तिकमा ९३ अप्रेसन र १० नर्मल, मंसिरमा १०४ अप्रेसन र ८ नर्मल, पुसमा ९८ अप्रेसन र ८ नर्मल, माघमा ९० अप्रेसन र ८ नर्मल, फागुनमा ८१ अप्रेसन र ५ नर्मल डेलिभरी भएका छन् ।

यस तथ्यांकलाई हेर्ने हो भने पछिल्लो समय सिजरियन सेक्सनको क्रम बढ्दै देखिन्छ । केही अस्पतालमा त नर्मल डेलिभरी नै हुन छाडेका छन् । भए पनि सीमित रूपमा हुने गर्छन् ।

कत्तिको सहज छ अप्रेसन ?

नर्मल डेलिभरी प्राकृतिक तरिका हो । पहिले अस्पताल नहुँदा पनि घरमै डेलिभरी गरिन्थ्यो । अप्रेसन गरेर बच्चा निकाल्नु भनेको मेजर अथवा ठूलो अप्रेसन हो । यसका लागि शरीर चिरेर सिलाउनुपर्छ । एनेस्थेसिया लगाउनुपर्छ । अन्य विभिन्न औषधिको प्रयोग गर्नुपर्छ । डाक्टरहरूका अनुसार सकेसम्म नर्मल डेलिभरी गर्नु नै उचित हुन्छ । अप्रेसनलाई बच्चा जन्माउने सामान्य तरिकाको रूपमा प्रयोग गरिनु आफँैमा गलत हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसूति रोग विशेषज्ञ पवन शर्मा अप्रेसनलाई प्रसूति गराउने माध्यम बनाउन नहुने बताउँछन् ।

अप्रेसन गर्दाका जटिलता

अप्रेसन गर्दा कम्तीमा ४ दिन अस्पताल बस्नुपर्छ । घाउ दुख्छ, पाक्न सक्छ, खाना बिस्तारै खानुपर्छ । रगत धेरै जान सक्छ । रगत दिनुपर्ने अवस्था आउन सक्छ । यी समस्या तत्कालै देखिने समस्या हुन् । पछि पनि विभिन्न समस्या देखापर्ने हुन सक्छ । जस्तो घाउ दुख्ने, घाउको वरिपरि हर्निया देखापर्ने, सिलाएको ठाउँ खुस्कने, कहिलेकाहीँ फेरि दोहोरिएर पेट खोल्नुपर्ने हुन सक्छ । अप्रेसनपछि प्रजनन क्षमतामा कमी आउँछ । तीनपटक अप्रेसन गरेपछि अर्कोपटक बच्चा जन्माउन सकिँदैन । अरू अप्रेसन गर्नुपर्दा पनि यसले असर गर्छ ।

इमर्जेन्सीमा अप्रेसन गर्नुपर्दा विभिन्न जटिलता आउन सक्छन् । कहिलेकाहीँ अपर्झट अप्रेसन गरेर ज्यान बचाउनुपर्ने हुन सक्छ । त्यस्तो वेला उसमा भएको अन्य रोगहरूबारे केही थाहा हुँदैन । जसले उसमा विभिन्न असरहरू पर्न सक्छन् । एनेस्थेसियाको समस्या आउन सक्छ । पुरानो अप्रेसन छ भने पनि समस्याहरू देखा पर्छन् । भित्र कहिलेकाहीँ अन्य अंगमा पनि समस्या देखापर्छ ।

बच्चा जन्माउनुअघि के गर्ने ?

बच्चा जन्माउनुअघि आफू मानसिक रूपमा तयार हुनुपर्छ । यसबारे जानकारी लिनुपर्छ । आफू गर्भवती हुँदा इन्जोय गर्नुपर्छ । खानेकुरा, हिँड्ने कुरा सबैमा जानकारी लिनुपर्छ । डाक्टरको मात्र भर परेर हुँदैन । योजनाअनुसार बच्चा जन्माउनुपर्छ । गर्भवती हुँदा के–कस्ता कुरामा ध्यान दिने, परिवारको भूमिका कस्तो हुने भन्ने विषयमा राम्रोसँग जानकारी लिनुपर्छ ।

नेपाली समाजमा परिवार नियोजनका साधनको प्रयोग राम्रोसँग नगरेर, कुनै योजनाविना बच्चा जन्माउने प्रचलन बढ्दो छ । त्यसो गर्नु गलत हो । बच्चा जन्माउने तयारी गर्नुअघि डाक्टरसँग सल्लाह गर्नुपर्छ । यसो गर्दा, गर्भ तुहिने समस्या पनि कम भएर जान्छ । गर्भपतन गराउने धेरै छन् । जसले गर्दा पनि यो समस्या बढ्दै गएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आभा शाक्य श्रेष्ठ मधुमेह, उच्च रक्तचाप, ढिला विवाह, महिनावारी बिग्रने समस्या, पोषण कम हुँदा, फास्टफुड खाने प्रचलनले पनि बच्चा नहुने, वा बच्चा भए पनि अप्रेसन गर्नुपर्ने अवस्था आउने बताउँछिन् । उनका अनुसार स्वस्थ खानेकुरा खाने र जीवनशैली परिवर्तन गर्ने हो भने अप्रेसन गर्नुपर्ने अवस्था कम भएर जान्छ ।

के हो पेनलेस डेलिभरी ?

पेनलेस डेलिभरीबाट बच्चा जन्माउँदा बेथा सहनुपर्दैन । यसमा एपिड्युरल एनेस्थेसियाको माध्यमबाट बच्चा जन्माउने गरिन्छ । युरोप, अमेरिकातिर यो प्रविधि निकै प्रचलित छ । नेपालमा भने धेरैलाई यसबारे थाहा छैन । सबै अस्पतालले पनि यो सेवा दिन सकेका छैनन् । पेनलेस डेलिभरी गर्दा १७–१८ घन्टाको बेथा सहनुपर्दैन । मेरुदण्डको बीचबाट इन्जेक्सन दिइन्छ । यो गर्दा शरीर चल्छ, तर दुख्दैन । स्पाइनल एनेस्थेसिया दिँदा शरीरको तल्लो भाग चल्दैन । यो जुनसुकै अप्रेसन गर्दा पनि प्रयोग गरिन्छ । तर, एपिड्युरल एनेस्थेसिया गर्दाचाहिँ शरीरको सबै भाग चल्ने हुन्छ । यो सबैलाई दिइँदैन । यसको पनि साइडइफेक्ट हुन सक्छ ।

१५ देखि १९ वर्षमा ३३ प्रतिशत गर्भवती

शिक्षाको स्तर बढ्दै जाँदा किशोरी उमेरमा गर्भवती हुने पनि घट्दै गएको देखिन्छ । जस्तै, शिक्षा हासिल नगरेका किशोरीमध्ये ३३ प्रतिशतले बच्चा जन्माउन सुरु गरेका छन् भने यो प्रतिशत एसएलसी वा सोभन्दा बढी शिक्षा हासिल गरेका किशोरी महिलामा सात प्रतिशत मात्र छ । सबैभन्दा गरिब, गरिब र मध्यमस्तर आर्थिक अवस्थामा समावेश भएका किशोरी महिलाले सम्पन र सबैभन्दा सम्पन्न अवस्थामा समावेश भएका किशोरी महिलाभन्दा चाँडै नै बच्चा जन्माउने गरेको पाइएको छ । केही माध्यमिक शिक्षा हासिल गरेका १७ प्रतिशत, प्राथमिक शिक्षा हासिल गरेका ३० प्रतिशत, शिक्षा हासिल नगरेका ३३ प्रतिशत किशोरी गर्भवती हुने गर्दछन् ।

१८ वर्षमा विवाह गर्छन् नेपाली महिला

नेपालमा शिक्षा हासिल नगरेका महिलाहरू १७.८ वर्षमा विवाह गर्दछन् भने शिक्षित महिलाले २१.४ वर्षमा विवाह गर्छन् । ५२ प्रतिशत महिलाले १८ वर्षको उमेरमा विवाह गर्छन् भने १९ प्रतिशत पुरुषले १८ वर्षमा विवाह गर्ने गर्दछन् । नेपालमा महिला विवाह भएकै उमेरमा अर्थात् १८ वर्षमा यौनसम्पर्क सुरु गर्छन् भने पुरुषले विवाह गर्ने उमेरभन्दा करिब डेढ वर्ष पहिलेदेखि यौनसम्पर्क सुरु गर्ने गरेको पाइएको छ । शिक्षित महिलाभन्दा साढे ४ वर्ष पहिले शिक्षा हासिल नगरेका महिलाले यौनसम्पर्क राख्ने गर्दछन् । एसएलसी वा सोभन्दा बढी पढेका महिलाले साढे २१ वर्षमा र शिक्षा हासिल नगरेका महिलाले करिब १७ वर्षमा यौनसम्पर्क राख्ने गर्दछन् । ५१ प्रतिशत महिलाले १८ वर्षअगाडि नै यौनसम्पर्क राख्ने गरेको पाइएको छ ।

विवाह भएको साढे दुई वर्षमा बच्चा

नेपाली महिलाले औसतमा विवाह भएको साढे २ वर्षभित्र पहिलो बच्चा जन्माउने गर्दछन् । महिलाको बच्चा जन्माउने मध्यम उमेर साढे २० वर्ष रहेको पाइएको छ । ५ महिलामध्ये एक महिलाले १८ वर्षको उमेरमा पहिलो बच्चा जन्माउने गर्छन् । नेपालमा १५ देखि १९ वर्षका १७ प्रतिशत महिला किशोरी उमेरमै गर्भवती हुने गर्दछन् । किशोरी उमेरका महिलाको प्रजनन दर सहरी क्षेत्रमा १३ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा २२ प्रतिशत छ । किशोरी उमेरमा गर्भवती हुनेको संख्या प्रदेश २ मा सबैभन्दा बढी २७ प्रतिशत छ भने सबैभन्दा कम प्रदेश ३ मा १० प्रतिशत छ ।

५३ प्रतिशतले मात्र प्रयोग गर्छन् परिवार नियोजनको साधन

नेपालमा करिब ५३ प्रतिशत महिलाले मात्र कुनै न कुनै परिवार नियोजनको साधन प्रयोग गरिरहेका छन् । १५ देखि ४९ वर्षका महिलाले सबैभन्दा बढी परिवार नियोजनका साधन प्रयोग गर्ने गर्दछन् । जसमा ४३ प्रतिशतले आधुनिक साधन प्रयोग गरेका छन् भने १० प्रतिशतले परम्परागत साधन प्रयोग गरेका छन् । जसमा महिला बध्याकरण १५ प्रतिशत, ३ महिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कन्डम ४ प्रतिशत, इम्प्लान्ट ३ प्रतिशत र आइयुसिडी १ प्रतिशत महिलाले प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रदेशका आधारमा हेर्दा विवाहित महिलामध्ये परिवार नियोजनको आधुनिक साधन प्रयोगमा भिन्नता देखिन्छ । आधुनिक साधन प्रयोग सबैभन्दा कम प्रदेश ४ मा ३७ प्रतिशतले प्रयोग गर्ने गर्दछन् । सबैभन्दा बढी प्रदेश ३ मा ४९ प्रशित महिलाले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइएको छ ।
शिक्षाको स्तर बढ्दै जाँदा आधुनिक साधनको प्रयोग घट्दै जाने गरेको छ । कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधनको प्रयोग गर्ने गरेको पाइएको छ । कुनै शिक्षा हासिल नगरेका महिलामा महिला बन्ध्याकरण सेवा सबैभन्दा बढी २५ प्रतिशत रहेको छ ।

परिवार नियोजनको साधन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । सन् १९९६ परिवार नियोजनको साधन प्रयोग गर्ने विवाहित महिला २९ प्रतिशत थिए भने २०१६ मा ५३ प्रतिशतले परिवार नियोजनको कुनै न कुनै साधन प्रयोग गर्ने गर्दछन् । त्यस्तै १९९६ मा आधुनिक साधन प्रयोग गर्ने विवाहित महिला २६ प्रतिशत थिए भने २०१६ मा ४३ प्रतिशत पुगेको छ । सोही अवधिमा परम्परागत विधि प्रयोग गर्नेहरू १९९६ मा ३ प्रतिशत थिए भने २०१६ मा १० प्रतिशत रहेका छन् ।

प्रदेश ३ मा सबैभन्दा बढी ४९ प्रतिशत महिलाले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । सबैभन्दा कम प्रदेश ४ का महिलाले ३७ प्रतिशत परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । त्यस्तै, प्रदेश १ मा ४० प्रतिशत, प्रदेश २ मा ४२ प्रतिशत, प्रदेश ३ मा ४९ प्रतिशत, प्रदेश ५ मा ३९ प्रतिशत, प्रदेश ६ मा ४५ प्रतिशत र प्रदेश ७ मा ४८ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् ।

आर्थिक र शैक्षिक स्तरको प्रभाव

आर्थिक र शैक्षिक स्तरले पनि महिलाको प्रजननदरमा प्रभाव पार्ने गर्दछ । अशिक्षित महिलाले ३ भन्दा बढी बच्चा जन्माउने गर्दछन् भने एसएलसी वा सोभन्दा बढी शिक्षा हासिल गरेका महिलाले बढीमा २ जनासम्म बच्चा जन्माउने गर्दछन् । घरपरिवारको आर्थिक स्तर बढ्दै जाँदा प्रजननदर पनि घट्दै गएको देखिन्छ । सबैभन्दा गरिब घरपरिवारमा बसोवास गर्ने महिलाले औसतमा ३.२ बच्चा जन्माउँछन् भने सबैभन्दा सम्पन्न घरपरिवारमा बसोवास गर्ने महिलाले औसतमा १.६ बच्चा जन्माउने गरेको पाइएको छ ।

प्रजननदर घट्दै

नेपालमा महिलाको प्रजननदर घट्दो क्रममा छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा विवाहित महिलाको कुल प्रजननदर औसतमा २ पुगेको छ । नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणलाई आधार मान्ने हो भने सन् १९९६ मा औसतमा एक महिलाले ४.६ जना बच्चा जन्माउने गर्दथे भने २०१६ मा घटेर २.३ मा पुगेको छ ।

प्रदेश २ को प्रजननदर बढी

ग्रामीण क्षेत्रमा एउटी महिलाले औसत ३ र सहरी क्षेत्रका महिलाले २ जनासम्म बच्चा जन्माउँछन । प्रजनन दर प्रदेश ३ मा सबैभन्दा कम छ । यो प्रदेशमा महिलाले औसत १.८ बच्चा जन्माउने गर्दछन् । प्रदेश २ मा सबैभन्दा बढी प्रतिमहिला ३ बच्चा जन्मने गर्दछन् । प्रदेश १ मा प्रजननदर २.३ रहेको छ । त्यस्तै, प्रदेश ४ मा २, प्रदेश ५ मा २.४, प्रदेश ६ मा २.८ र प्रदेश ७ मा २.२ रहेको छ ।

प्रसूति प्राकृतिक तरिकाले गर्नुपर्छ
(डा. पवन शर्मा स्त्री तथा प्रसूति रोग विशेषज्ञ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)

प्रसूति प्राकृतिक तरिकाले गर्नुपर्छ । अप्रेसन गर्ने चलन आएको धेरै भएको छैन । जहिलेदेखि मान्छेहरूले सन्तान उत्पादन गर्न थाले त्यो समयदेखि प्राकृतिक तरिकाले प्रसूति हुँदै आएको थियो । हामीले पनि सकेसम्म प्राकृतिक प्रसूति अपनाउनुपर्छ । कोही–कसैलाई सामान्य प्रक्रियाबाट प्रसूति गर्न नसक्दा सहयोगीको आवश्यकता पर्छ । त्यो सहयोगीको भूमिका अस्पतालले निर्वाह गरिरहेका छन् । अस्पतालले सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । अप्रेसनलाई प्रसूति गराउने माध्यम बनाउनुहुँदैन ।

पाटन अस्पतालमा सिजरियन डेलिभरीभन्दा नर्मल डेलिभरी धेरै छ । यो अस्पतालमा अप्रेसन गर्नुपर्ने अवस्था आएमा मात्र अप्रेसन गराइन्छ अन्यथा सामान्य प्रक्रियाबाट प्रसूति गराइन्छ । हाम्रो अस्पतालमा दैनिक २४ घन्टामा कुन–कुन अप्रेसन भए, अप्रेसन गर्नुपर्ने कारण के थियो भनेर बिरामीको सम्पूर्ण जानकारीसहित डाक्टरहरू बसेर छलफल गर्छौँ । अप्रेसन गर्ने डाक्टरले अप्रेसन गर्नुपर्ने कारणसहित १५–२० जना विशेषज्ञको अगाडि जानकारी गराउनुपर्ने हुन्छ । यसकारण पनि हामी सकेसम्म सामान्य तरिका अपनाइरहेका हुन्छौँ । अप्रेसन गर्नुपर्ने अवस्था पहिले नै थाहा हुन्छ ।

अहिले काठमाडौंलगायत अन्य ठाउँमा बस्ने मान्छे अप्रेसन ठीक हो भन्ने सोच लिएर पनि अस्पताल आउने गर्दछन् । धेरै मानिसले आर्थिक स्तर देखाउनका लागि पनि नाम चलेका, महँगा डाक्टर, महँगो अस्पतालमा अप्रेसन गराउने गर्छन् ।

खराब जीवनशैलीका कारण अप्रेसन
(डा. आभा शाक्य श्रेष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, ग्रान्डी इन्टरनेसनल अस्पताल)

हाम्रो अस्पतालमा अप्रेसन गर्नुपर्ने अवस्थाबाहेक अप्रेसन गरिँदैन । हामीले अप्रेसन गर्नुपर्ने विभिन्न इन्डिकेसन राखेका छौँ । इन्डिकेसनबाहेक अप्रेसन गर्दैनौँ । कसैमा बच्चा आउने बाटो सानो हुन्छ । बच्चा सहजै बाहिर निस्कन सक्दैन । यस्तो वेला अप्रेसन गराउनुपर्छ । कसैको विभिन्न कारणले बच्चा धेरै ठूलो हुन्छ । त्यो नर्मलबाट जन्मन सक्दैन । यस्तो वेला पनि अप्रेसन गर्नुपर्छ । बच्चाको मुटुको धड्कन तलमाथि छ भने अथवा बच्चाले पेटमा दिसा ग¥यो भने पनि अप्रेसन गर्नुपर्ने अवस्था आउन सक्छ । कसैको बेथा लागेपछि वा बेथा लाग्नुभन्दा अगाडि धेरै ब्लिडिङ हुन्छ । यस्तो समयमा अप्रेसन गरेन भने आमा र बच्चा दुवैको ज्यान जान सक्छ ।

पछिल्लो समयमा मान्छेले थोरै बच्चा जन्माउँछन् । लामो बेथा सहन चाहँदैनन् । म दुखाइ नसहेरै अप्रेसन गरेर बच्चा जन्माउँछु भन्ने सोच्छन् । टेलिभिजन सिरियलको प्रभावले कुनै दिन विशेष पारेर अप्रेसनबाट बच्चा जन्माउने क्रम पनि बढ्दो छ । डेलिभरीका लागि राम्रो दिन छान्ने चलन पनि धेरै बढेको छ ।

बिग्रँदो जीवनशैलीका कारण पनि अप्रेसन गर्नुपर्छ । कसैले करिअरको कारणले उमेर गएपछि बच्चाको प्लान गर्छन् । कतिपय अवस्थामा लामो समय बच्चा नभएर औषधि गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । यस्तो अवस्थामा पनि अप्रेसन गर्नुपर्छ । जस्तो मधुमेह, उच्च रक्तचाप, ढिला विवाह, महिनावारी बिग्रने समस्या, पोषण कम हुँदा, फास्टफुड खाने प्रचलनले पनि बच्चा नहुने वा बच्चा भए पनि अप्रेसन गर्नुपर्ने अवस्था आउँछ । स्वस्थ खाना खायो र जीवनशैली परिवर्तन गर्ने हो भने अप्रेसन गर्नुपर्ने अवस्था कम भएर जान्छ ।

डाक्टरले आफ्नो सहजताका लागि पनि गर्छन् अप्रेसन
(प्रा.डा. अचला वैद्य स्त्री तथा प्रसूति रोग विशेषज्ञ नर्भिक इन्टरनेसनल अस्पताल)

कतिपय अवस्थामा अप्रेसन गर्नुपर्ने हुन्छ । अप्रेसन गर्नुपर्ने मापदण्ड बेग्लै छन् । आमा र बच्चाका लागि खतरा रहेको अवस्थामा अप्रेसन गर्नैपर्ने हुन सक्छ । जस्तो ३५ भन्दा माथि उमेर भएपछि गर्भवती हुने अथवा १७ वर्षभन्दा कम उमेरको महिला गर्भवती भएर आए भने अप्रेसन गर्नुपर्ने हुन्छ । सानो उमेरका केटीहरूको पाठेघरको राम्रो विकास भएको हुँदैन भने उमेर बढ्दै गएको महिला धेरै परिपक्व हुने गर्दछन् । उमेर ढल्कँदै जाँदा अन्य रोगहरू पनि लाग्ने हुनाले उनीहरूको अप्रेसन गर्नुपर्छ ।

कुनै मेडिकल समस्या भएका महिला, जस्तो मधुमेह भएको खण्डमा पेटमा बच्चा धेरै ठूलो छ भने अप्रेसन गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ बच्चा ४–५ केजीसम्मको हुन्छ । यस्तो वेला सामान्य तरिकाबाट बच्चा निस्कन सक्दैन । यो पहिले नै थाहा हुने अवस्था हो । यस्तो महिलाको अप्रेसन गर्नुपर्छ । ब्लडप्रेसर एकदमै धेरै छ भने पनि अप्रेसन गर्नुपर्छ । यस्तो वेला बच्चा एकदमै सानो हुन्छ । पाठेघरको पानी पनि सुक्दै गएको अवस्थामा अप्रेसन गर्नुपर्ने हुन सक्छ । थाइराइड एकदमै धेरै छ भने अप्रेसन गर्नुपर्ने हुन सक्छ । यो अवस्थाबारे पहिले नै थाहा हुन्छ ।

बच्चाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा अगाडिदेखि नै थाहा हुन्छ । बच्चा राम्रो छ, आमा स्वस्थ छ, बच्चाको पोजिसन पनि राम्रो छ भने अप्रेसन गर्नुहुँदैन । सामान्य केसमा पनि अप्रेसन गर्नु राम्रो हुँदैन । कहिलेकाहीँ अल्ट्रासाउन्ड गर्दा बच्चाको घाँटीमा नाभी बेरिएको देखाउन सक्छ । यस्तो वेला अत्तालिएर डाक्टरले अप्रेसन गरेको पाइन्छ । बिरामी र आफन्तले पनि डराएर अप्रेसन गर्न दबाब दिने गर्छन् । ४० महिलाको अल्ट्रासाउन्ड गर्दा १ महिलामा यस्तो समस्या देखापर्न सक्छ । यो अवस्थामा अत्तालिनु पर्दैन । यस्तो वेला पेट दुख्यो, बेथा लाग्यो भनेचाहिँ अस्पताल जानुपर्छ । पछिल्लो समयमा यो कुरा बिरामी र डाक्टरले नबुझ्दा अप्रेसन डेलिभरीको संख्या बढ्दो छ ।

नाभी बेरिएको छ र बेथा लाग्यो भने बच्चालाई श्वास–प्रश्वासमा समस्या हुन्छ र यस्तो वेला अप्रेसन गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा डाक्टरहरूले आफ्नो सहजताका लागि पनि अप्रेसन गर्ने क्रम बढ्दो छ । डाक्टर रिक्स लिन चाहँदैनन् र अप्रेसन गर्छन् । प्यासेन्ट आत्तिने कारण पनि अप्रेसन बढेको छ । डाक्टरले रातभर बिरामी हेर्नुपर्दैन भनेर आफ्नो सहजताका लागि अप्रेसन गरिदिन्छन् । पेनलेस डेलिभरी पनि चाहन्छन् । पेनलेस डेलिभरी भयो भने नर्मल डेलिभरी बढी हुन्छ । प्यासेन्टको डिमान्ड पनि अप्रेसन बढ्नुको प्रमुख कारण हो । अहिलेका महिलालाई डेलिभरीको प्रोसेस थाहा हुँदैन । उनीहरूले चेकजाँच गर्न पनि दिँदैनन् । डाक्टरहरू पनि खासै जिम्मेवार छैनन् । बिरामी आफैँ पनि सहयोगी हुँदैनन् । कम्तीमा लेभर पेन बुझेर मात्र बच्चा जन्माउनुपर्छ । जीवनशैलीको कारण पनि अप्रेसन गर्नुपर्ने क्रम बढ्दो छ ।

तपाईको प्रतिक्रिया