logo

bar

आदिवासीले मुख्यमन्त्रीसँग मनाए सिरुवा

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापा, ३ वैशाख | बैशाख ०३, २०७५

झापाका आदिबासी समुदायले मुख्यमन्त्री शेरधन राईसँग धुमधामका साथ सिरुवा पर्व मनाएका छन् । तराईमा बस्ने आदिबासी समुदायले मनाउने यो पर्व शनिबारदेखि सुरु भएको थियो ।

हरेक १ वैशाखदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गर्छ । पहिलो दिन शनिबार एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइएको छ । त्यसै गरी आइतबार दोस्रो दिन माटोको हिलो बनाएर कादो सिरुवा मनाइएको थियो भने तेस्रो दिन सोमबार रङ खेलेर रङ सिरुवा मनाइएको हो ।

सार्वजनिक बिदा दिने प्रतिबद्धता
सोमबार झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित रङ सिरुवामा हजारौँ आदिबासीहरुको सहभागिता थियो । कार्यक्रममा प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईको प्रमुख आतिथ्यता थियो । उनी दिनभर विभिन्न स्थानमा आयोजित सिरुवाका कार्यक्रमहरुमा सहभागी भए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सिरुवा पर्वलाई प्रदेश सरकारले मान्यता दिएर सार्वजनिक बिदा समेत दिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राईले आदिबासी जनजातिको संरक्षणका लागि प्रदेश सरकार विशेष कानुन र नीति बनाएर अघि बढने बताए । आदिवासी समाज विकास समितिले सिरुवा पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीति रिवाजलाई संरक्षण गर्न प्रदेश सरकारले विशेष नीति र बजेट प्रस्तुत गर्ने बताए । उनले आदिबासी समुदायको सिरुवा पर्वलाई सरकारले हालसम्म मान्यता नदिए पनि प्रदेश सरकारले मान्यता दिएर अघि बढ्ने बताए ।

उपलब्धि कार्यान्वयनको पक्षमा प्रदेश सरकार
मुख्यमन्त्री राईले संविधान निर्माणपछि २०७४ मा देशले पाएको ऐतिहासिक उपलब्धि कार्यान्वयनको पक्षमा प्रदेश सरकार लागि परेको बताए । उनले २०७४ सालजस्तै २०७५ पनि ऐतिहासिक वर्ष सावित हुने दाबी गरे ।
आदिवासी समाज विकास समिति कचनकवलका अध्यक्ष मोती राजवंशीको अध्यक्षतमा भएको कार्यक्रममा कचनकलव गाउँपालिका अध्यक्ष अञ्जार आलम, सांसद धर्मशिला चापागाई, प्रदेश सांसद बसन्त बानिया, ओमप्रकाश सरावगी लगायतको उपस्थिती थियो । कार्यक्रममा कचनकवलको विकास समृद्धिको लागि मुख्यमन्त्रीलाई स्थानीय समितिले ज्ञापनपत्र बुझाएका थिए ।

सिरुवा पर्वका अवसरमा कचनकवल गाउँपालिकाले भने सार्वजनिक विदा दिएको थियो । रङ सिरुवाका अवसरमा कचनकवलमा विभिन्न संस्कृति झल्कने नाचगान प्रस्तुत गरिएको थियो । झापा, मोरङ र सुनसरीमा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया