logo

bar

कर्मचारी अभावमा गाउँपालिकाको काम ठप्प

दीपक भट्ट/नयाँ पत्रिका रामेछाप २ वैशाख । | बैशाख ०३, २०७५

स्थानिय निकायको निर्वाचन भएको एक वर्ष पुग्नै लागिसक्दा पनि सरकारले अझै कर्मचारी खटाउन सकेको छैन । जसका कारण जिल्लाका अधिकाशं गाउँपालिकाहरुबाट सम्पादन हुने सबैजसो कामहरु ठप्प भएका छन् ।

नयाँ सरकारको गठन र प्रदेशसरकारको आगमनसँगै उत्साहित बनेका जनप्रतिनिधिहरु सरकारको काम गर्ने प्रक्रिया र स्थानिय निकाय सञ्चालनका लागि आवश्यक कर्मचारीको व्यवस्था हुन नसकेपछि गाउँपालिका स्तरवाट संचालन हुने अधिकाशं कामममा बाधा पुगेको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेम तामाङ्गले बताए ।

उनका अनुसार सिंहदरवारको अधिकार गाउँमा पु¥याउने प्रतिवद्धता सहित निर्वाचन अभियानमा होमिएका जनप्रतिनिधिहरुका लागि सरकारको यस कदमवाट अप्ठेरो अवस्था सिर्जना भएको छ । साविकको गाउँविकास समितिलाई वडा कार्यालयमा गाभेपछि अहिले उक्त वडावाट हुने काम कारवाहीको दायरा पनि बढेको छ । विकास निमार्णका गतिविधि देखी स्वास्थ्य र शिक्षाको सवालमा पनि वडा सम्मलाई अधिकार दिइएको छ । तर प्रदान गरिएको अधिकार कार्यान्वयनमा भने कर्मचारी अभावले समस्या आएको छ ।

कर्मचारी अभाव चुनौतीको विषय
तत्काल सरकारले यसको समाधान गर्न नसक्ने हो भने कर्मचारीको अभावमा विकास निमार्ण लगाएत नागरिकहरुसँग सरोकारवाला कामको गतिमा निकै सुस्त आउने अवस्था छ । जुन अहिले पनि भइरहेको छ । जसका कारण कर्मचारीको अभाव आफुहरुको लागि पनि चुनौतीको विषय बनेको तामाङको भनाई रहेको छ । पालिका स्तरमा मात्र नभएर वडामा काम गर्ने सचिवहरुको समेत त्यतीकै अभाव रहेको छ । वडा सचिव नहुँदा वडाका कामहरुमा समेत उत्तिकै अप्ठ्यारो भएको वारेमा मैले पटक पटक स्थानिय विकास मन्त्रालयसँग पुगेर अनुरोध गर्दा पनि त्यसको कार्यान्वयन अहिलेसम्म हुन नसकेको उनको गुनासो रहेको छ ।

रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय निकाय रहेका छन् । ती सवै निकायहरुमा कर्मचारी अभाव छ । त्यसमध्येमा पनि गाउँपालिकाहरुको अवस्था भने झनै दयनिय रहेको छ । अहिले केवल ३ जना कर्मचारीको भरमा आफुले गाउँपालिका चलाइरहेको अनुभव तामाङले सुनाए । एउटा प्रमुख प्रशासकिय अधिकृत, एकजना लेखापाल र एकजना नायव सुब्बाको भरमा चलेको गाउँपालिकावाट स्थानिय तहको संस्थागत विकासको सवालमा कति अपेक्षा गर्न सकिन्छ? सरकार संचालकहरुसँग उनी प्रश्न गर्छन् ।

संस्थागत विकासमा अवरोध
खाँडादेवीका प्रेम तामाङ मात्रै हैन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गवहादुर सुनुवार पनि सरकारी रवैयावाट वाकदिक्क वनेका छन् । एकातिर जनस्तरमा पालिकाको नयाँ अनुभव अर्कातिर पालिका र वडाहरुवाट हुने काममा कर्मचारीको अभाव भएपछि जनस्तरमा हुने अधिकासं काममा अवरोध पुगेको छ ।
वडा र पालिकास्तरमा हुने कामको ढिलाईले जनस्तरमा संघियता विरुद्ध मनस्थीतीपो उत्पन्न हुने होकी भन्ने आंशका पैदा भएको सुनुवारको अनुभव छ । वडास्तरमा भएका वडा सचिवहरु पहुँचको आधारमा मन्त्रालय र अन्य मालवाला कार्यालयहरुमा काजमा बस्ने परम्परा अहिले पनि तोडिन सकेको छैन् । जसका कारण आफ्नो गाउँपालिकामा पनि सचिवहरुको खडेरी परेको सुनुवारको भनाई रहेको छ ।

अहिले वडा र पालिकास्तरमा देखिएको कर्मचारी अभाव नहटेसम्म संघियता कार्यान्वयन र सरकारी लक्ष्य अनुसारको कामको तामेलीमा अपेक्षाकृत सुधार हुने अवस्था छैन । यसतर्फ चाडो भन्दा चाडो गम्भिर नहुने हो भने यसले जनमानसमा नकरात्मक असर पुर्याउने जनप्रतिनिधीहरुको भनाइ रहेको छ । जसले गर्दा स्थानिय निकायको संस्थागत विकासमा पनि अवरोध हुनसक्ने अवस्था रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया