logo

bar

नगरपालिकामा ४ महिनादेखि लेखापाल नहुँदा सेवाग्राही मर्कामा

शान्ता कमली/नयाँ पत्रिका लमजुङ, ३ वैशाख | बैशाख ०३, २०७५

लमजुङ जिल्लाको आठ स्थानीय तहमध्ये बेसीशहर नगरपालिका सदरमुकाममा पर्दछ । जिल्लाका आठ स्थानीय तह मध्ये यो नगरपालिका सुगम मानिन्छ । तर सदरमुकाममा नै रहेको बेसीसहर नगरपालिकामा चार महिनादेखि लेखापाल नहुँदा कार्यालयको काम प्रभावित बन्नुको साथै कर्मचारी र अन्य सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।

नगरपालिकाका लेखापाल गएको पुसमा खानेपानी कार्यालयमा सरुवा भएपछि उनको सट्टामा लेखा अधिकृत वा लेखापाल नहुँदा नगरपालिकाको नियमित काम प्रभावित बन्नुका साथै सेवाग्राहीलाई सास्ती भएको हो ।

लेखापाल नभएपछि लेखासँग सम्बन्धित कार्यालयका दैनिक कामकाजमा निकै समस्या हुँदै आएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । भौतिक तथा पूर्वाधार, शिक्षा शाखा, स्वास्थ्य शाखा लगायतमा योजना सम्झौता, पेश्की वा योजनाका किस्ता निकासा, सामाजिक सुरक्षा रकम निकासा, कर्मचारी तलब निकासा आदि प्रभावित बनेको उनी बताउँछन् । नगरपालिका स्रोतका अुनसार कार्यरत लेखापाल रमेश बस्नेत पुसमा खानेपानी कार्यालयमा सरुवा भएका हुन् ।

उनको सट्टामा अन्य लेखापाल नभएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले बस्नेतलाई नै नगरपालिकामा पुनःकाजमा खटाएको थियो । सातामा ३ दिन नगरपालिकाको काम हेर्ने गरि काजमा रहेपनि नियमित काम कारवाहीमा समस्या भईरहेको नगरप्रमुख अर्यालले बताए । लेखा जस्तो महत्वपूर्ण शाखामा नियमित उपस्थिति नहुँदा सम्बन्धित सबैलाई मर्का परेको उनी स्वीकार गर्छन् ।

चैत लागेसँगै बस्नेतले समय नदिएको र पछिल्लो समयमा विरामी भएकाले उपचारका लागि बिदा बस्नु परेपछि सम्पूर्ण कामकाज ठप्पै भएको प्रमुख प्रशासकीय अधिकृति भिमप्रसाद तिवारीले बताए । नगरपालिकाका कर्मचारीको तलबको निकासा समेत रोकिएको उनी बताउँछन् । सामाजिक सुरक्षाको रकम समयमै वितरण गर्न नसक्दा गुनासो बढेकाले एकसाता अघि बस्नेतलाई नै हारगुहार गरेपछि एकदिन आएर सो रकम मात्रै निकासा गराईएको तिवारीले बताए ।

कार्यालयमा नियमित लेखापाल नहुँदा तलब बुझ्न नपाए सँगै कक्षा ८ को परीक्षा सञ्चालन खर्च समेत निकासा गर्न नपाउँदा समस्या भएको शिक्षा शाखा प्रमुख रामकृष्ण त्रिपाठीले बताए । लेखापाल नहुँदा कतिपय सेवाग्राही कार्यालयमा आउँदै फर्किन वाध्य छन् भने कतिपयले लेखापाल नभएको थाहा पाईसकेकाले लेखापाल आउने बाटो हेरेर बसेको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । अहिले नियमित खालका सेवा दिईरहेको उनीहरुको भनाई छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका कार्यालयमा लेखाअधिकृत वा लेखापाल व्यवस्थापन गर्ने भएकाले धेरैपटक सो कार्यालयमा कुरा राखिए पनि कार्यान्वयन नभएको नगरप्रमुख अर्यालले बताए । जिल्लाको सुगम मानिने यो स्थानीय तहभन्दा दुर्गमका स्थानीय तहमा अझ बढी सास्ती खेपीरहेका छन्, त्यहाँका जनताले । पर्याप्त कर्मचारी नहुँदा पूर्वी लमजुङको दुधपोखरी गाउँपालिकामा त्यहाँका जनताले प्रत्यक्ष अनुभव हुने गरी बिकासका योजना अगाडि बढ्न सकेका छैनन् ।

गाउँमै सिंहदरबार नारामै सिमित
सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा लमजुङे जनताको हकमा भने लागू हुन सकेको छैन । काम परेको बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तै सास्ती खेप्नु परेको हो ।

यतिखेर लमजुङका आठ वटा स्थानीय तहमध्ये अधिकाशं स्थानीय तहमा वडासचिव र वडाअध्यक्ष कार्यलयमा नभेटिने गरेपछि जनतालाई पञ्जीकरण, सिफारिस लगाएतका सुविधा लिन समस्या भएको छ ।

४ नगरपालिका र ४ गाउँपालिका गरेर ७५ वटा वडा रहेको लमजुङमा ३० जना वडा सचिवले सबै वडा धानेका छन् । बाँकी ४५ वटा वडा सचिव विहिन भएको जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डेले बताए । उनले आफू सामान्य प्रशासन मन्त्रालयमा गएर १७ जना वडासचिव माग गरेपनि सुनुवाई नभएको बताए ।

त्यस्तै बेसीशहर नगरपालिका वडा नम्बर ११ की ७७ वर्षकी सन्तमाया सार्की सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम बेशीसहरमा रहेको जनता बैंकमा दुई पटक आइन् तर उनले भत्ता भने पाउन सकिनन् । उनले भनिन् –‘दुई दिनसम्म नातीले बोकेर सदरमुकाम ल्यायो तर सुरक्षा भत्ता पाउन सकिन । बैंकले आफ्नो पालो नभएको भन्दै फर्कायो ।’ उनले भनिन्– ‘दश महिना अगाडि जस्तो थियो अहिले पनि उस्तै छ कहाबाँट भयो घरघरमा सिँहदरवार’ उनले प्रश्न गरिन् । जनताको काम अघिल्लो संरचनाको भन्दा पनि जनप्रतिनिधि आईसकेपछि झनै ओझेलमा परेको बेसीशहर नगरपालिका ७ का पशुपती घिमिरेको भनाई छ ।

तपाईको प्रतिक्रिया