logo

bar

चौरजहारी नगरपालिकाले ५ हजार विद्यार्थीलाई निशुल्क पोषाक वितरण गर्दै

मनिष खड्का/नयाँ पत्रिका रुकुम(पश्चिम) ३, वैशाख  | बैशाख ०३, २०७५

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले पाँच हजार विद्यार्थीलाई निशुल्क विद्यालय पोषाक वितरण गर्दैछ । नगरपालिकामा रहेका ४१ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ मा अध्यनरत करिब पाँच हजार विद्यार्थीलाई नगरपालिकाले निशुल्क विद्यालय पोषाक उपलब्ध गराउन लागेको हो ।

सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकर्षित गर्न तथा नगरपालिका भरीका विद्यालयको पोषाकमा एकरुपता ल्याउन विद्यालय पोषाक वितरण भैरहेको नगर प्रमुख बिशाल शर्माले जानकारी दिए । त्यस्तै आर्थिक अवस्था कमजोर भई छोराछोरीका लागि पोषाक किन्न नसक्ने अभिभाकहरुलाई मध्यनजर गर्दै निशुल्क पोषाक उपलब्ध गराउन लागिएको हो । यस अभियानको सुरुवात वडा नम्वर ३ को जनज्योति आधारभुत विद्यालयबाट गरिएको छ । यस विद्यालयमा अध्यनरत १ सय ६० जना विद्यार्थीहरुलाई पोषाक वितरण गर्दै पूर्व गृहमन्त्री तथा रुकुम(पश्चिम)बाट प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले यस कार्यक्रमको उद्घाटन गरेका हुन् ।

५५ लाख खर्च लाग्ने
नगरपालिकाले निशुल्क विद्यालय पोषाक वितरण कार्यक्रमका लागि ५५ लाख बजेट खर्च हुने अनुमान गरेको छ । नगर प्रमुख शर्माका अनुसार प्रत्येक विद्यार्थीलाई सेतो रंगको सर्ट, निलो रंगको पाईन्ट, टाई र बेल्ट बितरण भैरहेको छ । नगरभरीका पाँच हजार बढी विद्यार्थीलाई पोषाक वितरण गर्दा करिब ५५ लाख बजेट खर्च हुने अनुमान रहेको नगर शर्माले बताए । नगरका प्रत्येक बिद्यालयमा पुगेर पोशाक वितरण भैरहेको छ । एकहप्ता भित्रमा सबै बिद्यार्थीलाई पोषाक वितरण गरिसक्ने बताईएको छ । चुनावी प्रतिबद्धतामा नगरको शिक्षालाई पुर्णरुपमा निशुल्क बनाउने भनिएको र त्यसकै कार्यान्वयन स्वरुप निशुल्क विद्यालय पोषाक उपलब्ध गराईएको शर्माले स्पषट पारे । साथै यस शैक्षिक सत्रदेखि आधारभुत तहसम्मको शिक्षालाई निशुल्क बनाईने छ ।

कुल बजेटको १४ प्रतिशत बजेट शिक्षामा
नगर शिक्षा समितिका संयोजक समेत रहेका नगर प्रमुख शर्माले शिक्षा क्षेत्रमा वजेटको अभाव नरहेको बताए । नगरभित्र रहेका आधारभुत तह र माध्यामिक तहका विद्यालयको शैक्षिक सुधार तथा भौतिक संरचना निर्माणको लागी नगरले आवश्यक पर्ने वजेट विनियोजन गरेको उनको भनाई छ ।

समृद्ध चौरजहारी नगरपालिका निर्माणको लागि शिक्षा मेरुदण्ड रहेको भन्दै प्रमुख शर्माले शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षका लागि कुल बजेटको १४ प्रतिशत बजेट विनियोजन गरिएको बताए । यसमा विद्यालय पोषाक वितरणमा खर्च हुने रकम जोड्न बाँकी रहेको उनी बताउँछन् । ‘हामीले पहिलो नगरसभाबाट कुल बजेटको १४ दशमलव ४५ प्रतिशत अर्थात ४ करोड ८० लाख बजेट विनियोजन गरेका थियौँ, उनले भने–जसमा पोषाक वितरणको रकम जोड्न बाँकी छ, यो सहित चालु वर्षमा शिक्षामा करिब साढे पाँच करोड बजेट खर्च हुँदै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु