logo

bar

रेन्जरले ५७ हजार घुस खाएर काठ तस्कर छाडेको खुलासा

अशोक पहाडी/नयाँ पत्रिका रौतहट, ३ वैशाख | बैशाख ०३, २०७५

जिल्ला वन कार्यालय रौतहटका कर्मचारीले काठ तस्करीसँग रकम असुलेर विनाकारबाही छाड्ने गरेको तथ्य फेला परेको छ । पक्राउ परेका तस्करसँग जिल्ला वनका कर्मचारीले रुपैयाँ असुलेर छाड्ने गरेका हुन् ।

तस्करसँग रकम असुल्दै तस्करीकोे काठको परिणाम घटाएर उनीहरूलाई छाड्ने गरिएको हो । केही दिनअघि चोरीको सिसौ र शिरीषको गोलियासहित पक्राउ परेका चन्द्रपुर २ जुडिबेलाका काठ ठेकेदार रामपुकार साहलाई वनका कर्मचारीले रकम खाएर छाडेका हुन् । छाड्नुअघि उनले तस्करी गरेको एक ट्र्याक्टर काठको परिणामसमेत घटाइएको छ ।

विनाइजाजत जंगलबाट काठदाउरा ओसार्दै गर्दा गएको चैत १५ गते साह ट्र्याक्टरसहित पक्राउ परेका थिए । साहलाई जुडिबेला इलाका वन कार्यालयका रेन्जरले दाउराको मात्र मुद्दा चलाई उन्मुक्ति दिएका हुन् । जंगलबाट चोरी निकासी गरेर एक ट्र्याक्टर काठसहित केही दाउरा इँटा उद्योगमा लैजाँदै गर्दा साहलाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको थियो ।

तर, रेन्जर लेखनाथ भण्डारीले ५७ हजार रकम लिएर ट्र्याक्टरसहित साहलाई छाडेका हुन् । साहले माथि दाउराले छोपेर तल काठका गोलिया तस्करी गरेका थिए । उनको ट्र्याक्टरबाट ६ थान सिसौ र शिरीषको गोलियासमेत फेला परेको थियो । रेन्जर भण्डारीले गोलियाको चर्चै नगरी दाउराको मात्र मुचुल्का उठाई साहविरुद्ध निम्छरो खालको मुद्दा चलाएका थिए । उनले साहसँग रकम लिएर कमजोर मुद्दा चलाएका हुन् । ट्र्याक्टरसहित साहलाई छाडेपछि रेन्जर भण्डारी मोबाइल स्विच अफ गरेर बस्दै आएका छन् । रेन्जर भण्डारीले साहसँग २१ हजार ९ सय २४ रुपैयाँ धरौटी लिएका छन् ।

 जेल पठाउन खोजेपछि ५७ हजार घुस दिएँ : साह
साहले सरकारी राजस्वबाहेक ५७ हजार रुपैयाँ भण्डारीलाई घुस दिएर आफू छुटेको बताएका छन् । आफूले घुस नदिन खोज्दा रेन्जर भण्डारीले काठ तस्करीको मुद्दा चलाउन खोजेपछि बाध्य भएर ५७ हजार घुस दिएको साहको भनाइ छ । ‘रेन्जर भण्डारीले विभिन्न जालझेल गरेर जेल पठाउनेसम्मको हर्कत गर्न थालेपछि बुवा जयनारायण साहमार्फत ५७ हजार रकम गोप्य रूपमा उनलाई दिएँ,’ साहले भने । जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले ठेकेदार साहको हकमा पहिला जे–जस्तो मुचुल्का बनाई मुद्दा चलाइएको थियो, सोहीअनुसार गर्न, कागज नफेर्न आफूले भण्डारीलाई भनेको दाबी गरे । तर, घुस लिएको बारेमा भने आफू जानकार नभएको कोइरालाको भनाइ छ ।

 ५ हजारभन्दा कम बिगोको मुद्दा
ऐनमा १० हजार रुपैयाँभन्दा माथिको अवैद्य काठ बोकेको पाइए मात्र ट्र्याक्टर जफत हुने प्रावधान छ । ५ हजारभन्दा तलको बिगो भएको मुद्दा वन कार्यालयले हेर्ने नियमको फाइदा उठाउँदै रेन्जर भण्डारीले दाउरा मात्र कागजमा देखाएर मान्छे र ट्र्याक्टर छाडेका हुन् । पाँच हजारभन्दा माथिको भए अदालतबाट म्याद थप गरी मुद्दा चलाउनुपर्ने कानुनी प्रावधान छ । साहलाई उन्मुक्ति दिन ५ हजारमुनिको बिगोसहितको मुद्दा चलाइएको हो ।

रौतहट वन कार्यालयका हाकिमले यसअघि पनि काठ तस्करलार्ई घुस खाएर उन्मुक्ति दिने गरेको एक कर्मचारीले बताए । काठका गोलियालाई अलग्गै राखेर उनीहरूले तस्करलाई दाउरा र केही साना गोलिया मात्र देखाएर छाड्ने गरेका हुन् ।

तपाईको प्रतिक्रिया