logo

bar

प्रदेश ७ का मुख्यमन्त्रीले गरे विद्यार्थी भर्ना

तेजराज भट्ट र कर्ण चन्द धनगढी, ३ वैशाख | बैशाख ०३, २०७५

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा र सामाजिक विकासमन्त्री दीर्घ सोडारीले स्कुलमा गएर विद्यार्थी भर्ना गरेका छन् । विद्यालय भर्ना अभियानको सुरुवात गर्दै उनीहरूले एक–एक विद्यार्थीलाई भर्ना गराएका हुन् ।

मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिका–७ मनोहरास्थित सरस्वती माविमा नम्रता राना, साभामुख थापाले धनगढी–५ स्थित पञ्चोदय माविमा गंगा रोकाया र जमुना रोकाया तथा सामाजिक विकासमन्त्री सोडारीले धनगढी–२ स्थित शारदा माविमा अनिशा विकलाई भर्ना गराएका हुन् ।

गरिबीले पढ्न पाइनँ : मुख्यमन्त्री
मुख्यमन्त्री भट्टले सबैलाई भर्ना अभियानमा सहभागी हुन आग्रह गरे । ‘म पनि धेरै पढ्न चाहन्थेँ, तर गरिबीकै कारण विद्यालय छोडेर भारतमा रोजगारी गर्न जानुपर्‍यो,’ मुख्यमन्त्री भट्टले भने, ‘गरिबीकै कारण विद्यालय छोड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सबैले सहयोग गरौँ ।’ भर्ना भएका विद्यार्थीलाई टिकाइराख्न चुनौतीपूर्ण भएको उनले बताए । प्रदेश ७ मा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपर्ने गरी सुधार ल्याउनुपर्ने बताए । ‘शिक्षा क्षेत्रमा लगानी गरिएको छ, तर त्यसअनुसारको प्रतिफल आइरहेको छैन, अब सुधार गर्नुपर्छ,’ उनले भने ।

६ हजार बालबालिका स्कुलबाहिर
प्रदेश ७ का नौ जिल्लामा ६ हजार चार सय २२ बालबालिका स्कुलबाहिर रहेको तथ्यांक छ । क्षेत्रीय शिक्षा निर्देशनालयको गत वर्षको तथ्यांकअनुसार बाजुरामा चार सय ३२, बझाङमा पाँच सय १४, अछाममा एक हजार एक सय ५६, डोटीमा चार सय ७७, कैलालीमा दुई हजार तीन सय ९४, दार्चुलामा दुई सय ६३, बैतडीमा एक सय १४, डडेल्धुरामा तीन सय ३२ र कञ्चनपुरमा छ सय ४० बालबालिका स्कुलको पहुँचभन्दा बाहिर छन् ।

उनीहरूलाई स्कुल भर्ना गराउने गरी नौवटै जिल्लामा भर्ना अभियान सुरु गरिएको निमित्त क्षेत्रीय शिक्षा निर्देशक मानसिंह विष्टले बताए । ‘स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र बालक्लबलाई अभियानअन्तर्गत घरदैलो गरी भेटघाट गर्ने कार्यक्रम छ,’ उनले भने । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नाराका साथ सुरु भएको अभियान १४ वैशाखसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु