logo

bar

पुस्तक नभएपछि दृष्टिविहीन विद्यार्थीलाई मोबाइल

मानदत्त रावल/नयाँ पत्रिका जुम्ला, ३ वैशाख | बैशाख ०३, २०७५

ब्रेललिपिका पाठ्यपुस्तक नभएपछि जुम्लाका दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाले आइतबार भैरव मावि, नराकोट र कर्णाली मावि अनामनगरका विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरेको हो ।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण गरेकी हुन् । ‘मोबाइलको सहायताले दृष्टिविहीन विद्यार्थीलाई पढ्न सजिलो हुनेछ,’ मेयर सेजुवालले भनिन् । यो तत्कालका लागि सहयोगी भए पनि ब्रेललिपिका पुस्तक नै ल्याउनुपर्ने उनको भनाइ थियो । स्थानीय सरकारले तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने जनाउँदै उनले समयमै बे्रललिपिका पाठ्यपुस्तक पठाउन संघीय सरकारसँग आग्रह गरिन् ।

आद्रा नेपाल र साझेदारी सहयोग केन्द्रको सहयोगमा दुवै विद्यालयका सातजना विद्यार्थीलाई ‘सामसुङ ग्यालेक्सी अन सेभेन प्रो’ मोबाइल वितरण गरिएको हो ।

आवाज सुनेकै भरमा पढाइ
नयाँ शैक्षिक शत्र सुरु भएको दुई महिना भइसक्दा पनि यहाँका विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीले ब्रेललिपिका पुस्तक पाएका छैनन् । उनीहरू कक्षामा पढाएको सुनेर घर फर्किने गरेका छन् । ‘विद्यालय गए पनि शिक्षकले पढाएको आवाज मात्र सुन्नुपर्छ, सुनेकै आधारमा कसरी सिक्नु,’ दृष्टिविहीन विद्यार्थी नीरमाया प्याकुरेलले भनिन् ।

उनीहरूले गत शैक्षिक सत्रमा पनि आधा पढाइ सकिएपछि मात्रै ब्रेललिपिका पुस्तक पाएको बताए । ‘समयमा पुस्तक आउँदैन, आधा कोर्स सकिएपछि मात्रै ब्रेललिपिका पुस्तक पाउँछौँ,’ अर्की विद्यार्थी सत्या बुढाले भनिन् । दुई महिनादेखि विद्यालयलाई भन्दै आए पनि पुस्तक नआएको उनले दुखेसो गरिन् । ब्रेललिपिका पुस्तक नआउँदासम्म मोबाइलले पढाइमा केही सहयोग पुग्ने उनको विश्वास छ ।

मोबाइल सुनेर अध्ययन
मोबाइल पाएका दृष्टिविहीन विद्यार्थीले अडियो एप्सको सहायतामा मोबाइलमै आवाज सुनेर अध्ययन गर्न सक्नेछन् । त्यस्तै, शिक्षकले पढाएको विषय रेकर्ड गरेर घरमा पनि अध्ययन गर्न सक्ने जनाइएको छ ।

उनीहरूलाई मोबाइल चलाउने तथा अध्ययन गर्ने तरिका सिकाइएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । ‘मोबाइल चलाउने तरिकादेखि त्यसको उपयोगिताबारे राम्रोसँग सिकाएका छौँ । मोबाइलको सही प्रयोग हुनेछ,’ उनले भने । तर, यो दीर्घकालीन समाधान भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु