logo

bar

विकास नक्सा बनाउँदै प्रदेश ५ सरकार

विष्णु घिमिरे/नयाँ पत्रिका बुटवल, ३ वैशाख | बैशाख ०३, २०७५

सूचना प्रविधियुक्त नक्सामा धेरै क्षेत्र समेटिने –

सरकारले प्रदेशको समग्र विकासका लागि प्रादेशिक विकास नक्सा बनाउन सुरु गरेको छ । देशकै पहिलो प्रादेशिक विकास नक्सा बनाउने गरी विज्ञसहित सरोकारवालासँग सुझाब लिएर सरकारले काम सुरु गरेको हो ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीका अनुसार आइतबार मुख्यमन्त्री शंकर पोखरेलसहित मन्त्रीहरू, प्रतिपक्ष दलका नेता तथा विज्ञहरूबीच छलफल भएको छ । प्रदेशको समग्र विकासलाई केन्द्रित गरी नक्सा बनाउने तयारी छ । नक्सा तयार भएपछि प्रदेशको सबै सूचना एकै ठाउँमा हुने र यसले प्रदेशभित्रका हरेक क्षेत्रको विकासको अवस्थाबारे जानकारी हुनेछ । सबै सूचना भएका विकासका काम अगाडि बढाउन सहज हुने विज्ञहरूको भनाइ छ ।

यस खालको नक्सा नेपालकै पहिलो हुने
विकास नक्सा नेपालकै पहिलो हुने विज्ञको भनाइ छ । प्रदेशले अझै पहल गरेका छैनन् । विज्ञ अमात्यले भने, ‘सूचना प्रविधियुक्त नक्सा बनाउन यो प्रदेश अगाडि हुन सक्छ, अन्य प्रदेशमा यस्तो पहल भएको थाहा छैन ।’

आइतबारको छलफलमा मुख्यमन्त्री पोखरेलका अतिरिक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल, प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलसहित विज्ञहरू सहभागी थिए । छलफलमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बनाउन चाहेको प्रादेशिक नक्साबारे जानकारी गराएका थिए ।

यस्ता छन् फाइदा
भूगर्भविद् इन्जिनियर कृष्णमुरारी अमात्यले विकास नक्सा बनिसकेपछि प्रदेशका बासिन्दा धेरै लाभान्वित हुने बताए । सूचना प्रविधियुक्त नक्सामा हरेक सूचना सहज उपलब्ध हुने हुँदा प्रदेशका बासिन्दा मात्र नभएर प्रदेशमा आउने आगन्तुक धेरै लाभान्वित हुने उनको भनाइ छ । सडक कस्तो छ, अस्पताल, बैक कहाँ छन् भन्नेलगायत हरेक सूचना नक्सा हेरेपछि तुरुन्तै थाहा हुने र यसबाट धेरै फाइदा लिन सकिने अमात्यले बताए । अहिले प्रदेश तहमा बनाउने नक्सालाई तल्लो तहसम्म पु¥याउन सकिने उनले बताए । ‘महानगरदेखि गाउँपालिका तहसम्म पनि यस किसिमका नक्सा बनाउन सकिन्छ,’ उनले भने । यस्ता नक्साले पछि स्मार्ट प्रदेशको अवधारणा अगाडि बढाउन पनि सहयोग मिल्ने विज्ञहरूको भनाइ छ ।

के–के समेटिँदै छ विकास नक्सामा ?
विकास नक्सामा सिँचाइ, सडक, प्राकृतिक क्षेत्र, कृषि, नदीनालादेखि विभिन्न क्षेत्रबारे समेटिनेछ । मन्त्री लीला गिरीका अनुसार कुन क्षेत्रको कसरी विकास गर्न सकिन्छ र त्यसका लागि कस्तो नक्सा बनाउने भन्नेमा विभिन्न जानकारी संकलन भएका छन् । विकासका लागि विभिन्न क्षेत्रका पकेट एरिया बनाउने, औद्योगिक क्षेत्र, पर्यटन क्षेत्रदेखि हरेक क्षेत्रको कुरा समेटिने गरी छलफल भएको मन्त्री गिरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु