logo

bar

सिरियामा रासायनिक हमला दोहोरिए पुनः आक्रमण : ट्रम्प

एजेन्सी न्युयोर्क, ३ वैशाख | बैशाख ०३, २०७५

सिरियाको साझेदार राष्ट्र रसियाले सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको आक्रमणको निन्दा गरेको प्रस्ताव अस्वीकृत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाले रासायनिक हमला गरे पुनः आक्रमण गर्ने चेतावनी दिएका छन् । ‘सिरियाले रासायनिक हमला दोहोर्याए अमेरिका पुनः आक्रमण गर्न तयार छ,’ राष्ट्रपति ट्रम्पले भने । अमेरिकी नेतृत्वमा बेलायत र फ्रान्सेली सेनाले सिरियाका मुख्य अखडाहरूमा मिसाइल हमला गरेको भोलिपल्ट ट्रम्पले सो चेतावनी दिएका हुन् ।

गतसाता पूर्वी गुटाको डुमामा गरिएको संदिग्ध रासायनिक हमलाको जवाफ स्वरूप अमेरिकी नेतृत्वको सेनाले सिरियाविरुद्ध शनिबार मिसाइल आक्रमण गरेको थियो । सिरियाको सातवर्षे गृहयुद्धमा राष्ट्रपति बसार अल असदको सरकारविरुद्ध पश्चिमा मुलुकहरूले पहिलोपटक महत्वपूर्ण हमला गरेका थिए । आक्रमणमा राजधानी दमास्कस र होम्स सहरका केही सैन्य केन्द्रहरूमा क्षति पुगेको थियो । अमेरिकी आक्रमणलाई सिरियाले विफल बनाइदिएको रसियाले दाबी गरेको छ भने अमेरिकाले आफ्नो मिसन पूरा भएको बताएको छ । सिरियाले आफ्नै नागरिकविरुद्ध हतियार प्रयोग गरेको र हजारौँ सिरियाली प्रभावित भएको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

अमेरिकीले नै गरे सिरिया हमलाको विरोध
अमेरिकी नेतृत्वमा सिरियामा भएको मिसाइल हमलाको अमेरिकामा नै विरोध भएको छ । राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसअगाडि भेला भएका हजारौँ प्रदर्शनकारीले आक्रमणको विरोध गरेका हुन् । उनीहरूले आक्रमणविरुद्ध हस्ताक्षर संकलन गरेका छन् । प्रदर्शनकारीहरूले पहेँलो ब्यानरसहित ‘सिरियालाई मुक्त गर’, ‘सिरियामा अमेरिकाको युद्ध हुँदैन’ ‘सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यसले निर्दोष मानिसलाई मार्छ’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरूले विभिन्न सहरमा शृंखलाबद्ध रूपले प्रदर्शन गरेका छन् ।

रसियाको कडा विरोध
सुरक्षा परिषद्को बैठकमा रसियाले आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि रसियाली राजदूत भासिली नेबेन्जियाले सो आक्रमणको विरोध गरेका हुन् । उनले सिरियामा विनाजानकारी तीन देशको सेनाले एकैपटक हवाई हमला गरेर अन्तर्राष्ट्रिय कानुनको अपव्याख्या र उल्लंघन गरेको आरोप लगाए । तर, राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाली सरकारले रासायनिक आक्रमण गर्दा रसियाको विरोध गर्नुको सट्टा उल्टै सघाएको आरोप लगाए ।

अन्तर्राष्ट्रिय कानुनविपरीत
अमेरिकी नेतृत्वको आक्रमणको सिरियाले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि सिरियाली राजदूत बसर जा अफारीले अमेरिकी नेतृत्वको सो हमलाको निन्दा गरेका हुन् । राजदूत अफारीले भने, ‘अमेरिकी नेतृत्वको आक्रमण अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनविपरीत भएको भन्दै विश्व तेस्रो युद्धको मानसिकतामा पुगेको धारणा राखे । सिरियामाथि ठूलो अन्याय भएको भन्दै सिरियामाथि धावा बोल्ने कार्य रोक्न विश्व समुदायसमक्ष आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु