logo

bar

पर्यटक लोभ्याउने घुम्टेको लालीगुराँस

नारायण रिजाल/नयाँ पत्रिका बाग्लुङ, ३ वैशाख | बैशाख ०३, २०७५

ढकमक्क फुलेको लालीगुराँस र प्राकृतिक सुन्दरताले जिल्लाको घुम्टे पुग्ने पर्यटक मोहित हुने गरेका छन् । यहाँको पहाडी थुम्का, हरियाली र परैबाट देखिने हिमाली दृश्यले पर्यटक आकर्षित हुने गरेका हुन् । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको शिरमा रहको घुम्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक गन्तव्यस्थल बनेको हो ।

१० हजार तीन सय ९३ फिट उचाइमा अवस्थित घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा जैविक हिसाबले अघि छ । पर्यटकीय सम्भावना बोकेको घुम्टे गलकोट घुम्टे पर्यटन विकास केन्द्र र स्थानीयको सक्रियताले पर्यटन गन्तव्यको रूपमा स्थापित गर्दै गएको छ । पर्यटन मन्त्रालयको सहयोगमा स्थानीयको जनश्रमदानबाट पदमार्ग बनेपछि घुम्टेमा पर्यटकको चहलपहल बढ्दै गएको हो ।

नयाँ वर्षमा गुराँस उत्सव
प्राकृतिक सुन्दरताले भरिपूर्ण घुम्टेमा हरेक नयाँ वर्षको अवसरमा लालीगुराँस उत्सव हुने गरेको छ । घुम्टेको पर्यटन प्रवद्र्धन र लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गर्ने गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए । ‘धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय प्रवद्र्धनका लागि गुराँस उत्सवको आयोजना गरेका हौँ,’ अध्यक्ष बस्नेतले भने । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । नयाँ वर्षको अवसरमा घुम्टेमा झन्डोत्तलन गरिएको थियो ।

पर्यटन विकासको बहस
मानव बस्तीभन्दा चार घन्टा टाढा पैदल दूरीमा रहेको घुम्टे लेकमा महोत्सवको आयोजना गर्नु चानचुने कुरा होइन । गुराँस उत्सवको उदघाट्न गर्न पुगेकी प्रतिनिधिसभा सांसद मना केसीले भनिन्, ‘उत्सवले जिल्लाको मात्रै नभएर नेपालकै पर्यटन विकासमा टेवा पुगेको छ ।’ अग्लो पहाडमा उत्सव गर्नु कम चुनौतीपूर्ण होइन,’ उनले भनिन्, ‘घुम्टे र यहाँको लालीगुराँसले पर्यटन विकासका लागि नयाँ बहस सिर्जना गर्नेछ ।’

विशेष मेला
नयाँ वर्ष घुम्टेको लेकमा मनाउन यहाँ सयौँ युवायुवती भेला भएका छन् । चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्न थरीका गुराँसले घुम्टेको लेक राताम्मे देखिएको थियो । उत्सव लागेकै कारण बाग्लुङलगायत आसपासका पर्यटक घुम्टे पुगेका थिए । यहाँ पुगेका पर्यटक अत्यधिक चिसोमा पनि रातभरि आगो ताप्दै पञ्चेबाजाको तालमा रमाएका देखिन्थे । बस्ने उचित प्रबन्ध नभए पनि केहीले ठाँटी र आसपासका ओडारमा रात गुजारेका थिए ।

कतिपय भने सुविधायुक्त टेन्ट टाँगेर बसे । उत्सवमा सोरठी, सालैजो, यानिमाया, घुम्टे साइँलाजस्ता मौलिक संस्कृति झल्किने गीत, नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । घुम्टे लेकमा रहेका सिद्ध र भैरवको मन्दिर दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ । यसले पनि यहाँ धार्मिक पर्यटनको सम्भावना बलियो बनाएको छ । हिमशृखंलाको दृश्यावलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिरसहितको प्राकृतिक सुन्दरता घुम्टेको मुख्य आकर्षण भएको अध्यक्ष बस्नेतले बताए ।

मनै लोभ्याउने हिमशृंखला
सिद्धेश्वर गुफा, राम्चे ओडार, गोठथरी, बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुंगा, दह पानी, टोड्के पानी, नांगेभीर, पैराका सोतो, सालिग्राम त्यहाँका धार्मिक तथा पर्यटकीय सम्पदा हुन् । घुम्टेबाट गलकोटे राजाको दरबार, स्टोन भिलेजको रूपमा परिचित हरिचौर बजार, गाइघाटको छहरा, गाजाको दह, गौदी र दरमखोलाका पुलहरू, गुल्मीको टक्सार बजार र अर्घाखाँचीका विभिन्न स्थान देख्न सकिन्छ । घुम्टेबाट दर्जनौँ हिमशृंखलाको दृश्यावलोकन गर्न पाउनु अर्को आकर्षण हो ।

धार्मिक पर्यटन
‘सूर्य घुम्टेको डाँडामै उदाएझैँ देखिन्छ, सूर्यको लालीले यहाँका रुख पाखा नुहाएझैँ हुन्छन्,’ घुम्टे चढेका बाग्लुङका युवा मनीष रायमाझीले भने, ‘यहाँको मधुरो कुहिरोभित्रै घुम्टे लुकेझैँ लाग्छ । बादलको घुम्टोमै लुक्ने भएकाले यसलाई घुम्टे भनियो कि ?’

केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले भने, ‘यहाँ कृत्रिम रूपमा सजिसजाउ र झकिझकाउ मन्दिर नभए पनि धार्मिक पर्यटनका दृष्टिले घुम्टेको शिरमा रहेका दुई मन्दिर महत्वपूर्ण छन् ।’ पर्यटकको सहजताका लागि मल्मदेखि नयाँ पदमार्ग निर्माण गर्न लागिएको छ । पदमार्गका लागि गलकोट नगरपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । घुम्टेमा बालसिद्ध र कालभैरवको थान (मन्दिर) स्थापना गरी पूजा गर्न थालिएको मन्दिरका पूजारी वीरबहादुर थापा बताउँछन् ।

वन्यजन्तु र जडीबुटी
घुम्टे क्षेत्रमा डाँफे, मुनाल, काँडेभ्याकुरलगायत चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, भालुलगायत वन्यजन्तु पाइन्छन् । चिराइतो, पाँचऔँले, भुत्केस, जटामसी, हनुमानवीर, गुद्दरगानो, पखनबेत, सिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीरजस्ता औषधिजन्य जडीबुटी पाइने केन्द्रका सचिव शेरबहादुर थापाले बताए ।

घुम्टे पुग्ने चार नाका
घुम्टेमा दैनिक पर्यटक जाने गर्दछन् । घुम्टे चुचुरोसम्म पुग्न मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार नाका प्रयोग गर्न सकिन्छ । अहिले हरिचौरको टेवा, पाण्डवखानी र हिलमा होम स्टे सञ्चालन गरिएको छ । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी सुविधा भए पनि त्योभन्दा माथि करिब तीन घन्टा उकालो पैदल यात्रा गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया