logo

bar

आयुर्वेद अध्ययन संस्थानको माग

नयाँ पत्रिका काठमाडाैँ ३ वैशाख | बैशाख ०३, २०७५

त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाका लागि विस्तृत प्रारूप र प्रक्रियासम्बन्धी प्रतिवेदन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ र रेक्टर प्रा.डा. सुधा त्रिपाठीलाई बुझाइएको छ । नेपालमा बहुमूल्य जडीबुटी त्यत्तिकै खेर गइरहेको अवस्थामा आयुर्वेद अध्ययनले नयाँ पिँढीलाई खोज अनुसन्धान गर्न सहयोग पुग्ने भएकाले आयुर्वेद संस्थानको आवश्यक रहेको आयुर्वेद अध्ययन स्थापना समितिका अध्यक्ष प्रा.डा. चन्द्रराज सापकोटाले बताए ।

उनका अनुसार एक वर्षको अध्ययनपछि आयुर्वेद अध्ययन संस्थानको आवश्यकता महसुस गर्दै प्रतिवेदन बुझाइएको हो । नेपालबाट बहुउपयोगी जडीबुटी विश्वका धेरै राष्ट्रमा पुगिरहँदा आयुर्वेदिक औषधिको महत्व नबुझ्दा आयातीत औषधिको भर पर्नुपरेको सापकोटाको भनाइ छ ।

सापकोटाको संयोजकत्वमा गठित १० सदस्यीय आयुर्वेद चिकित्सा क्षेत्रका प्राध्यापक तथा विज्ञ चिकित्सक संलग्न समितिले त्रिभुवन विश्वविद्यालय मातहत रहने गरी स्थापना गर्न त्रिवि उपकुलपति खनियाँलाई प्रतिवेदन बुझाएका हो । आयुर्वेद अध्ययन संस्थान स्थापनाको उद्देश्य गुणस्तरीय आयुर्वेद शिक्षाका माध्यमबाट तथ्यमा आधारित, गुणस्तरीय आयुर्वेद स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने रहेको समितिले जनाएको छ । आयुर्वेद शिक्षाका लागि अलग्गै व्यवस्था गर्ने उद्देश्यले १९४७ सालमा चार शøया रहेको आयुर्वेद चिकित्सालयको व्यवस्था भएको थियो । तर, आयुर्वेद अध्ययन संस्थानको स्थापना अहिलेसम्म हुन नसकेको सापकोटाले बताए ।

०५२ सालमै पारित भएको राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीतिमा संस्थान स्थापनामा जोड दिइएको थियो । राष्ट्रिय योजना आयोगले पनि ०५७ सालमा गरेको अध्ययनमा नेपालमा ठूलो संख्यामा आयुर्वेद चिकित्सा क्षेत्रका विशेषज्ञस्तरको जनशक्ति आवश्यक रहेको भन्दै उत्पादन र व्यवस्थापनका लागि आयुर्वेद अध्ययन संस्थानको स्थापना गर्न सुझाइएको थियो । स्वास्थ्य मन्त्रालयले ०६३ सालमै गरेको एक अनुसन्धानले देशमा आयुर्वेद क्षेत्रका कम्तीमा पाँच सय १५ विशेषज्ञ जनशक्तिको आवश्यकता औँल्याएको छ ।

स्वदेशभित्रै उपलब्ध जडीबुटीको सदुपयोग गरी आर्युर्वेदीय औषधिको उत्पादन र चिकित्सा विकासको सम्भावना रहे पनि सरकारले आयुर्वेदको विकासमा ध्यान नदिएको गुनासोसमेत यस क्षेत्रका विज्ञले गरेका छन् । गत साता बुझाइएको प्रतिवेदनमा संसारमै दुर्लभ मानिएका र औषधि निर्माणमा उपयोगी सयौँ जडीबुटी नेपालभित्रै उपलब्ध भएर पनि तिनको प्रयोगमार्फत औषधि उत्पादन गर्न जनशक्ति एवं उच्च शिक्षाको अभाव भएको उल्लेख छ । नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका विभिन्न २२ वटा विषयमा एमडीसम्मको पठनपाठन गर्न सकिने भए पनि हाल एक (काया चिकित्सा) मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु