logo

bar

सिरिया आक्रमण कति जायज ?

मार्क वेलर ३ वैशाख | बैशाख ०३, २०७५

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा भइरहेको मिसाइल आक्रमणबारे प्रस्टीकरण दिँदै यसलाई सही ठहर्‍याएका छन् । यस सन्दर्भमा उनीहरूले तर्क दिँदै भनेका छन् कि रासायनिक हतियारको उपयोगमा लागेको प्रतिबन्धलाई कायम राख्नका लागि यो जरुरी थियो । उनीहरूले सिरियाली राष्ट्रपति बसर अल असदको रासायनिक शस्त्र भण्डारलाई कमजोर देखाउनु र सिरियामा आमजनताविरुद्ध भविष्यमा कुनै रासायनिक आक्रमण हुन नसकोस् भन्ने सुनिश्चित गर्न पनि यस्तो आक्रमण आवश्यक भएको दाबी गरेका छन् । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले भनेकी छिन् कि बेलायत जहिल्यै वैश्विक नियम र राष्ट्रिय हितको मानक सुरक्षाका लागि कटिबद्ध छ । साथै, बेलायत अन्तर्राष्ट्रिय समुदायको हितका लागि पनि प्रतिबद्ध छ ।

यद्यपि, अप्रेसनसित जोडिएका औपचारिक जानकारी पछि मात्र सार्वजनिक गरिएको थियो । तर, बेलायतका तर्फबाट सुरुदेखि नै यही भनियो कि उसको यो कदम सिरियाली नागरिकको भविष्यमा यस्ता कुनै पनि आक्रमणबाट सुरक्षित गर्नु हो । कानुनी रूपमा रासायनिक काननुविरुद्ध अन्तर्राष्ट्रिय कानुन लागू गर्नका लागि हिंसाको सहारा लिनु भनेको फेरि संयुक्त राष्ट्रसंघको अस्तित्व नै नभएको समयमा फर्किनु हो ।

के भन्छ अन्तर्राष्ट्रिय कानुन ?
संयुक्त राष्ट्रसंघले देशहरूको स्वत्व रक्षाका लागि सेना प्रयोग गर्ने छुट दिन्छ । साथै, सरकार नै आफ्ना जनताविरुद्ध भयो भने उनीहरूको सुरक्षाका लागि पनि सेना प्रयोग जायज मानिन्छ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्नका लागि पनि बल प्रयोग गर्न सकिन्छ । यद्यपि, यस्ता कुनै पनि कारबाही कति आवश्यक हुन्छ, यो निकै अहं मुद्दा हो ।

यद्यपि, यस्तो व्यवस्था केवल यसका लागि हो कि आक्रमणका क्रममा देशहरूले आफ्नो सुरक्षा सुनिश्चित गर्न सकून् । तर, केवल राजनीतिक उपयोगका लागि यसको प्रयोग गर्न सकिन्न । १९४५ देखि लागू अन्तर्राष्ट्रिय कानुनले प्रतिशोधका लागि कुनै पनि प्रकारको सैनिक आक्रमणको विरोध गर्छ ।

१९८१ मा इजरायलले इराकको ओसिराक न्युक्लियर रिएक्टरमाथि आक्रमण गरेको थियो । जसको संयुक्त राष्ट्रसंघले निकै आलोचना गरेको थियो । यसबारे इजरायलले यो तर्क दिएको थियो कि यहाँ यस्ता हतियार बन्न सक्छन्, जो भविष्यमा निकै ठूलो जनमानसका लागि खतरनाक साबित हुन सक्छ । यसका अतिरिक्त एक कथित रासायनिक आक्रमणको बदलामा १९८८ मा अमेरिकाद्वारा सुडानमा गरिएको आक्रमणको पनि कडा निन्दा गरिएको थियो ।

रुसको भिटो
अहिलेसम्म सिरियामा कथित रासायनिक आक्रमणको ४० भन्दा बढीपटक उपयोग भइसकेको छ । रासायानिक हतियारमाथि नियन्त्रण राख्ने संगठन (अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स अर्थात् ओपिसिडब्लू) रासायनिक हतियार प्रयोग भए/नभएको जाँच गर्न सक्षम छ । ओपिसिडब्लू र सुरक्षा परिषद्द्वारा रासायनिक हतियारको उपयोगबारे जिम्मेवारी तय होस् भन्नका लागि विशेष संयुक्त संयन्त्र स्थापना पनि गरिएको छ । यद्यपि, जब पछिल्लो वर्ष यस संयन्त्रले असद सरकारलाई यसबारे चेतावनी दिएको थियो, त्यतिखेर रुसले आफ्नो भिटो उपयोग गरेको थियो । यसपटक पनि जब डुमामा रासायनिक आक्रमण भयो, तब यस संयन्त्रलाई नयाँ ढंगबाट स्थापित गर्ने कोसिस गरियो । तर, रुसले फेरि एकपटक सुरक्षा परिषद्मा आफ्नो भिटो प्रयोग ग¥यो, जसका कारण यो प्रयास असफल भयो ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट आदेश प्राप्त नगरीकनै सिरियामा आफ्नो हस्तक्षेपलाई सही ठह¥याउँदै तीनवटै देशले यो तर्क गरेका छन् कि सिरियामाथि आक्रमण गरेर उनीहरूले रासायनिक हतियारको उपयोगसम्बन्धी प्रतिबन्धको नियमको एउटा आदेशलाई पूरा गरेका छन् । साथै, सिरियालाई उसको दायित्व सम्झाउने कोसिस पनि गरेका छन् ।

मानवीय पीडा
सुरक्षा परिषद्को आमसहमतिवाला कार्यप्रणालीलाई बेवास्ता गरी यी तीन देशले जनहितको काम गरेको दाबी गरिरहेका छन् भने अर्कातिर एकपटक फेरि रुस र पश्चिमी देशहरूबीच शीतयुद्धको आशंका पनि जन्मेको छ । यस दिशामा केवल रासायनिक हतियार प्रयोग नगर्ने दायित्वको चर्चा मात्र गरिएको छैन, अपितु भविष्यमा यस प्रकारका थप आक्रमणबाट आमजनताको सुरक्षा सुनिश्चित गर्नेबारे कदम उठाउने विषयलाई पनि बल दिएको छ । उनीहरूको यो मानवतावादी दृष्टिकोण आक्रमणको पक्षमा बढी बलियो र प्रेरक तर्क हो ।

जब २०१३ मा गुटामा आक्रमण भयो, त्यतिखेर सैनिक कारबाही हुने अनुमान गरिएको थियो । बेलायतले पहिल्यै मानवीय आधारमा हस्तक्षेपको प्रस्ताव राखिसकेको थियो । अत्यन्त ठूलो मानवीय संकटको अवस्था छ र त्यसलाई अन्य कुनै पनि विकल्पले बचाउन सक्दैन भन्ने तर्कसँगै अन्य देशले सैनिक कारबाही गर्न सक्छन् । मानवीय आधारमा कारबाहीको सिद्धान्तले १९९० मा विश्वास प्राप्त गरेको थियो । जब सद्दाम हुसेनको विनाशबाट इराकलाई बचाउनका लागि यसलाई अपनाइएको थियो । पछि यसलाई लाइबेरिया र सिएरालियोनसहित अन्य देशमा पनि लागू गरियो ।

यस सम्बन्धमा बेलायतको भनाइ छ कि सिरिया इतिहास दोहोर्‍याइरहेको छ । यसका अतिरिक्त भनिएको छ कि आक्रमण निकै सीमित थियो । जसको उद्देश्य रासायनिक हतियारको भण्डार नष्ट गरी भविष्यलाई सुरक्षित गर्नु थियो । प्रस्ट छ कि हरेक देशले आफूलाई सही ठहर्‍याउँछ र आफूले गरेको कर्मबारे तर्क दिनेछ । र, यी तर्क २००३ मा इराक युद्धका क्रममा बेलायतले दिएजस्तै हुने गर्छन् । साइप्रसमा आफ्नो सैनिक बेसको सुरक्षाको तर्क गर्दै बेलायतले आक्रमण गरेको थियो । तर, यसको कुनै प्रमाण थिएन कि बग्दाद यसप्रकारको कुनै रणनीति बनाइरहेको थियो । ठीक यसप्रकार सिरियाको विषयमा पनि यस्तै कुनै उदाहरण छैन कि जसबाट यो प्रस्ट हुन सकोस् कि सिरिया उनीहरूमाथि आक्रमणको तयारी गरिरहेको थियो ।

(वेलर क्याम्ब्रिज युनिभर्सिटीमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन्) बिबिसी डटकम/हिन्दीबाट

तपाईको प्रतिक्रिया