logo

bar

२०७४ को अन्तिम साता २७ अंक बढ्यो नेप्से

नयाँ पत्रिका काठमाडौं, २ वैशाख | बैशाख ०२, २०७५

वर्षभरि विभिन्न कारणले उतार–चढाव भएको बजारमा अन्तिम साता भने नेप्से परिसूचक २७ दशमलव १६ अंक बढेर बन्द भएको छ । पाँचै कारोबार दिनका लागि खुला रहेको बजारमा तीन कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई कारोबार दिन घटेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन २३ अंक बढेर बन्द भएको बजार, गत साताको पहिलो कारोबार दिनमा ४४ अंक बढेको थियो । त्यसपछिको दुई दिन भने बजारमा करेक्सन भएको थियो ।

बजार उच्च अंक बढेपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न सेयर बिक्री गर्दा बजारमा करेक्सन भएको थियो । परिसूचक ओरालो लागेपछि लगानीकर्ताहरूले पुनः ‘पर्ख र हेर’को रणनीति अपनाएका छन् । गत साताको अन्तिम दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो वर्षको अन्तिम कारोबार दिन १ हजार ६ सय ९७ बिन्दुमा बन्द भएको नेप्से यस वर्षको अन्तिम कारोबार दिन १ हजार २ सय ७७ बिन्दुमा पुगेको छ । लगानीकर्ताहरू अहिले तेस्रो त्रैमासको वित्तीय विवरणको पर्खाइमा रहेका छन् ।

तेस्रो त्रैमासको वित्तीय विवरणले आगामी दिनमा बजारले कुन दिशा लिन्छ भन्ने निर्धारण गर्छ । यसका साथै, अनलाइन प्रणाली तोकिएको समयमा लागू भए नेप्से सकारात्मक दिशामा अगाडि बढ्ने लगानीकर्ताको अपेक्षा रहेको छ।

गत साता ३६ हजार ७ सय ५ कारोबारबाट १ सय ८३ कम्पनीहरूको ८१ लाख ९८ हजार ९ सय कित्ता सेयरहरू खरिद–बिक्री भए । जसबाट २ अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँबराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ७३ दशमलव ९३ प्रतिशत कम हो । अघिल्लो साता १ सय ८० कम्पनीहरूको २७ हजार ६ सय ३३ कारोबारबाट ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयरहरू खरिद–बिक्री भएको थियो ।

जसबाट १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५२ दशमलव ११ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयरको खरिद–बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

गत साता १ सय ८३ कम्पनीको ३६ हजार ७ सय ५ पटकको कारोबारमा २ अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँबराबरको ८१ लाख ९८ हजार ९ सय कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार रकम गत साताको तुलनामा ७३ दशमलव ९३ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ८१ कम्पनीको २७ हजार ६ सय ३३ पटकको कारोबारमा १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरको ५४ लाख ५० हजार २ सय ६० कित्ता खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार २ सय ५० दशमलव ३९ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार २ सय ७७ दशमलव ५५ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १ अंक घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ६४ अंक घटेर २ सय ७२ दशमलव ४५ बिन्दुमा पुगेको छ ।

गत साता कारोबार रकम र सेयर संख्याका आधारमा बैंक अफ काठमाडौं लिमिटेड अगाडि रहेको छ । यस कम्पनीको गत साता १२ करोड २९ लाख ४० हजार रुपैयाँबराबरको ५ लाख ८० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने गत साता प्रिमियर इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहको छ । यस कम्पनीको गत साता १ हजार ५ सय ४९ पटक सेयर कारोबार भएको थियो ।

गत साता कारोबारमा आएको अन्य र व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ । सो साता अन्य समूहको परिसूचक १ दशलमव ९४ अंक बढेको छ भने व्यापार समूहको परिसूचक स्थिर रहेको छ । जलविद्युत् समूहको परिसूचक गत साता सर्वाधिक ५८ दशमलव ४७ अंक घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक ३९ दशमलव ३९ अंक, होटेल समूहको ३८ दशमलव ४६ अंक, विकास बैंक समूहको ३३ दशमलव ४८ अंक, वाणिज्य बैंक समूहको १८ दशमलव ७७ अंक, लघुवित्त समूहको १७ दशमलव २ अंक, वित्त समूहको १२ दशमलव १८ अंक र बिमा समूहको २ दशमलव २९ अंक घटेको छ ।

 ज्योतिको बोनस हितग्राही खातामा
ज्योति विकास बैंक लिमिटेडले बोनस सेयर चैत २६ गते हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले ज्योतिका सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत तथा तत्कालीन राप्तीभेरी विकास बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले बुक क्लोज मितिसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीहरूको खातामा सो बोनस सेयर जम्मा गरेको हो । कम्पनीको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हालसम्म सेयर अभौतिक नगराएका सेयरधनीहरूलाई शीघ्र सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

नयाँ नेपाल लघुवित्तको बोनस सेयर वितरण
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले बुक क्लोज मितिसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीहरूको खातामा सो बोनस सेयर जम्मा गरेको हो । कम्पनीको सेयर रजिस्ट्रार एनएमबी क्यापिटल लिमिटेड रहेको छ । हालसम्म सेयर अभौतिक नगराएका सेयरधनीहरूलाई शीघ्र सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सो बोनस सेयरको प्रस्ताव पारित गरेको थियो ।

नेकोको हकप्रद बाँडफाँड
नेको इन्स्योरेन्स लिमिटेडले चैत २८ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले माघ ९ गतेभन्दा अघिल्लो दिनसम्म कायम साबिक सेयरधनीहरूका लागि २ बराबर १ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीले रीतपूर्वक आवेदन दिएका लगानीकर्तालाई ३८ लाख १३ हजार ६ सय ५९ कित्ता बाँडफाँड गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया