logo

bar

आठ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

एजेन्सी नयाँदिल्ली, २ वैशाख | बैशाख ०२, २०७५

हत्याको विरोधमा मुख्य सहरमा प्रदर्शन –

आठ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्याको विरोधमा भारतका मुख्य सहरमा प्रदर्शन भएको छ । मुस्लिम समुदायकी बालिका असिफा बानोको बलात्कारपछि हत्या भएको थियो । उनको शव भारतप्रशासित कास्मिरको कथुवा सहरनजिकै केही साताअघि फेला परेको थियो ।

हिन्दूवादीको विरोध
बालिका बलात्कारका आरोपित पक्राउको हिन्दूवादी समूहले विरोध गरेको थियो । आरोपित व्यक्ति हिन्दू समुदायका भएकाले हिन्दूवादीहरूले बलात्कारलाई साम्प्रदायिक रङ दिएको भन्दै सर्वसाधारणले आक्रोश पोखेका छन् । असिफा हत्या प्रकरणमा प्रहरीले मुख्य दोषीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना सेवानिवृत्त सरकारी अधिकारी, चार प्रहरी अधिकारी र एक किशोर छन् । तर, उनको पक्राउले हिन्दूहरूको बाहुल्यता रहेको जम्मुमा विरोध भएको थियो । अभियोगपत्र दर्ता गर्न वकिलहरूले प्रहरीलाई अदालतमा रोक्ने प्रयास गरेका थिए । आरोपितको समर्थनमा भएको र्‍यालीमा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)का दुई मन्त्रीसमेत सहभागी थिए ।

आरोपी व्यक्ति हिन्दू समुदायका भएकाले हिन्दूवादीहरूले बलात्कारलाई साम्प्रदायिक रङ दिएको भन्दै सर्वसाधारणको आक्रोश

निरन्तर विरोधका कार्यक्रम
प्रमुख विपक्षी दल कंग्रेस अध्यक्ष राहुल गान्धीले बलात्कारको विरोधमा भएको प्रदर्शनमा मैनबत्ती जुलुसको नेतृत्व गरेका थिए । महिलामाथि हुने पासविक अपराधविरुद्ध ध्यानाकर्षण गर्न अझै बढी विरोधका कार्यक्रम तय गरिएका छन् । महिला र बालबालिकाको सुरक्षाको माग गर्दै दिल्लीस्थित महिला आयोगकी प्रमुख स्वती मालिवालले अनिश्चितकालीन अनशन बस्ने बताएकी छिन् । अन्य महिलावादी कार्यकर्ता र अधिकारकर्मीले पनि दिल्ली र देशका महत्वपूर्ण सहरमा प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

भाजपा सांसद सिंहविरुद्ध बलात्कारको आरोप

उत्तर प्रदेश/भारतीय जनता पार्टी (भाजपा) आबद्ध एक सांसदविरुद्ध एक किशोरीमाथि बलात्कारको आरोप लागेको छ । उत्तर प्रदेशका राज्यसभा सांसद कुलदीप सिंहमाथि १६ वर्षीया किशोरी बलात्कारको आरोप लागेको हो । उनीविरुद्ध परेको उजुरीमाथि प्रहरीले छानबिन सुरु गरेको छ । सिंहमाथि लागेको आरोप अनुसन्धान गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)लाई निर्देशन दिएका छन् ।

भाजपा सांसद कुलदीप सिंह र उनका भाइको मिलेमतोमा किशोरीमाथि बलात्कार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उत्तर प्रदेश प्रहरीले सुरुमा उनीविरुद्ध परेको उजुरी लिन अस्वीकार गरेको थियो । ५१ वर्षीय सिंह युपीका भाजपाका तर्फबाट शक्तिशाली राजनीतिज्ञ हुन् । उनलाई नियन्त्रणमा लिन नसकेको भन्दै प्रहरी र युपीका मुख्यमन्त्री योगी आदित्यनाथको आलोचना भएको थियो ।

सिंहविरुद्ध बलात्कारको उजुरी परेको युपीका प्रहरी प्रमुख ओमप्रकाश सिंहले पुष्टि गरेका छन् । उनी कहिले पक्राउ पर्छन् भन्नेबारेमा प्रहरी प्रमुख सिंहले बताउन नचाहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘सांसद सिंहका विरुद्धमा बालिका बलात्कारको मुद्दा लागेको छ । प्रहरी कारबाही कसरी अघि बढाउने विषयमा हामीले सल्लाह लिएका छौँ ।’

गत वर्षको जुनमा ती बालिकालाई अपहरण गरी सांसद सिंह र उनका भाइ अतुल सिंहले बलात्कार गरेको उजुरीमा उल्लेख छ । तर, आफूहरूमाथि झुटो आरोप लगाइएको उनीहरूले बताउँदै आएका छन् । सांसद सिंहले उजुरी फिर्ता गर्न पीडितलाई बारम्बार धम्की दिएका थिए । उजुरीपछि गत साता बालिकाका बुबालाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको थियो ।

कुटपिटको केही दिनपछि पीडितका बाबुको मृत्यु भएको थियो । प्रहरीले सांसद सिंहविरुद्ध दायर गरेको बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको र प्रहरीकै कुटाइबाट बुबाको मृत्यु भएको भन्दै गत शनिबार किशोरीले उत्तर प्रदेशका मुख्यमन्त्रीको निवासअघि आत्मदाहको प्रयास गरेकी थिइन् ।

नीति–निर्माण तहमा पुगेका व्यक्ति नै बालिका बलात्कारका घटनामा संलग्न भएको भन्दै आरोपित सिंहविरुद्ध सर्वसाधारण आक्रोशित छन् भने बलात्कारका घटनालाई भारतीय सञ्चारमाध्यमले ठूलो महत्व दिएको छ । प्रहरीले पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिएको सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु