logo

bar

स्टार्टअपमा ब्रान्डिङ महत्व

अजय पाण्डे २ वैशाख | बैशाख ०२, २०७५

बजारमा उपलब्ध अनेकौँ ब्रान्डमध्ये उपभोक्ता किन निश्चित ब्रान्डमै बढी विश्वस्त हुन्छ ? अथवा छनोटका अनेक अवसर र विकल्पमध्ये उपभोक्ताका लागि कुनै एउटा चर्चित ब्रान्डले किन बढी महत्व राख्छ ? नेपालकै सन्दर्भमा हेर्ने हो भने गोल्डस्टार र चाउचाउमा वाइवाइले विस्तार गरिरहेको बजारका पछाडि कारण के हुन सक्छन् ?

उत्पादनको गुणस्तर यसका पछाडि स्वाभाविक उत्तर हुन सक्छ । तर, त्यति मात्रैले बजारमा सहजै उपस्थिति जनाउन भने समस्या नै हुन्छ । ब्रान्डिङ यसको खास कारण हो । ब्रान्डिङको अभावमा कुनै पनि कम्पनीको उत्पादनले परिचय स्थापित गर्न सक्दैन ।

ब्रान्डिङले कम्पनीको मूल आदर्श, त्यसको कार्यशैली र ग्राहकलाई हुने फाइदा एकैपटकमा उल्लेख गरिदिएको हुन्छ । पूर्ण ब्रान्डिङले वस्तु र उत्पादनको वास्तविकतालाई उचाइमा पुर्‍याइदिन्छ । बजारमा सयौँ ब्रान्डका मोबाइल उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताको आसक्ति आइफोनमै बढी रहनु त्यसको ब्रान्ड मुख्य कारण हो । यसकोे परिचय नै आफैँमा एउटा जीवनशैलीका रूपमा स्थापित छ ।

नेपालमा अहिले स्टार्टअप कम्पनी खोल्ने एउटा प्रवृत्ति विस्तार भइरहेको छ । अझ भनौँ, यो एउटा फेसन नै बनिरहेको छ । एउटा वेबसाइट र कार्डको भरमा आफूलाई स्टार्टअपको संस्थापक भनेर उभ्याउन प्रयत्नरत समूह जताततै देखिन्छ । यहाँनिर स्मरणीय के हुनुपर्छ भने एउटा वास्तविक आइडियामा काम गरेर अघि बढ्न खोज्ने कम्पनीलाई आफ्नो ब्रान्ड बनाउन र आफ्नो उपस्थिति प्रमाणित गर्न निकै चुनौती छ ।

अहिले लगानीकर्ता छुटलाई बढी प्रोत्साहन दिएर काम गरिरहेका छन् । ग्राहक र पूर्वआम्दानीको अभावमा आइडिया र ‘प्रोटोटाइप’को भरमा धेरै चुनौती हुन्छन् । स्टार्टअप कम्पनीको यस्तो माहोलमा लगानीकर्ताले पहिल्यै नाफामा भएको कम्पनीमा लगानी गर्न बढी रुचाउँछन् । अझ स्टार्टअपको सफलताका लागि आफ्ना ग्राहकलाई आफूसँगै राखिराख्ने र नयाँ ग्राहकको सिर्जना गर्ने विषय ठूलो चुनौती बनिरहेको छ । स्थापित कम्पनीसँग पर्याप्त पुँजी हुने लोभलाग्दा योजना ल्याएर ग्राहक आफूतर्फ तान्न सक्ने भएकाले स्टार्टअप कम्पनीका लागि यही नै परीक्षाको घडी बनिरहेको हुन्छ ।

तथ्यांक हेर्ने हो भने भने आधाभन्दा धेरै स्टार्टअप केही वर्षमै घाटामा गएर विस्थापित हुुन बाध्य भएका छन् । सुरुमा राम्रै चलिरहेका कम्पनी अचानक गायब हुनुमा ब्रान्डिङको अभाव एक कारक तत्वका रूपमा देखिन्छ । झन् स्टार्टअपका लागि ब्रान्डिङ नै अवसरको मूल ढोकाका रूपमा बाहिर आएको देखिन्छ । ब्रान्डिङले कम्पनीलाई बजारमा उचित स्थान प्रदान गर्ने मात्र नभएर पुराना ग्राहकको विश्वास र नयाँ ग्राहक खोज्न महत्वपूर्ण योगदान दिन्छ । ब्रान्डिङले कम्पनी र उत्पादनको उचित मूल्यांकन गर्छ । राम्रो ब्रान्डिङले कम्पनीलाई लगानीकर्ता मात्र नभएर सबैमाझ एक उदाहरणका रूपमा उभ्याउँछ । त्यही भएर पनि स्टार्टअपले ब्रान्डिङलाई आफ्नो कम्पनीको मूल रणनीतिमा उचित रूपमा समावेश गर्नुपर्छ ।

एकपटक एउटा कम्पनी ब्रान्डिङको बाटोमा हिँडिसकेपछि त्यो एउटा चक्रमा प्रवेश गर्छ, जसमा संशोधन, विश्लेषण र कार्यान्वयनजस्ता विषय समावेश हुन्छन् । यो एकदमै परिवर्तनशील चक्र हुन्छ जसमा भएका वस्तु बजार र प्रविधिको मागअनुसार परिवर्तन हुन सक्नुपर्छ । एउटा स्पष्ट ब्रान्डिङ रणनीतिले कम्पनीको समूहलाई लक्ष्य पूरा गर्न र बजारमा आफ्नो अस्तित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

अहिले जतिखेर सबै कुराले इन्टरनेटको दुनियाँमा आफूलाई रूपान्तरण गर्दै छ, यतिवेला प्रतिस्पर्धा अझै प्रबल हुन्छ । यस्तो अवस्थामा मार्केटिङ, ब्रान्डिङ र ब्रान्डको अवस्थाको आवश्यकता र महत्व दुवै बढेर जान्छ । आफ्ना ग्राहकसँगको भावनात्मक सम्बन्ध कायम गर्न र विश्वास प्रकट गर्न ब्रान्डको आवश्यकता हुन्छ । अहिलेको समयमा ब्रान्डिङमा लापरबाही गर्ने स्टार्टअप समयसँगै विलय भएर जाने खतरा रहन्छ ।

(पाण्डे स्टार्टअप कम्पनी ग्लोकल प्रालिका आइटी प्रबन्धक हुन्)

तपाईको प्रतिक्रिया