logo

bar

अमेरिकासँग युद्ध हुन सक्छ : रसिया

एजेन्सी बेरुत, १ वैशाख | बैशाख ०१, २०७५

अमेरिकाविरुद्ध कुनै पनि वेला युद्ध हुन सक्ने रसियाले चेतावनी दिएको छ । सिरियामा भएको सन्दिग्ध रासायनिक हमलाको विरोधमा अमेरिकाले दमास्कसलगायतका क्षेत्रमा मिसाइल हमला गरेमा रसिया र अमेरिकाबीच युद्ध हुन सक्ने रसियाले चेतावनी दिएको हो । ‘तर, पहिलो प्राथमिकता दुवै देशलाई युद्धबाट जोगाउनु हो,’ राष्ट्रसंघका लागि मस्कोका राजदूत भासिली नेबेनजियाले भने । पछिल्लो समयमा रसिया र अमेरिकाबीच तनाव बढेको छ । सिरियामा एक साताअघि भएको रासायनिक हमलामा रसियाले सघाएको अमेरिकी आरोप छ । अमेरिकी आरोपको सिरिया र रसियाले अस्वीकार गर्दै आएका छन् ।

सिरियाविरुद्ध छिट्टै निर्णय लिन्छौँ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा गरिने मिसाइल हमला र सैन्य कारबाहीबारे छिट्टै निर्णय लिइने बताएका छन् । सिरियाली सरकार र रसियाको मिलेमतोमा भएको रासायनिक हमलाविरुद्ध गरिने कारबाहीबारे बेलायत र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको ट्रम्पले बताएका छन् । सिरियाको डुमामा भएको भनिएको रासायनिक हमलाको अमेरिका र पश्चिमा देशहरूले निन्दा गरेका छन् । रासायनिक हतियारको प्रयोग अमेरिकालाई मान्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

रासायनिक हमलाको प्रमाण छ : फ्रान्स
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको प्रमाण आफूसँग भएको बताएका छन् । सिरियाले अन्तर्राष्ट्रिय समुदायलाई झुक्याएको उनले आरोप लगाए । बेलायतको मन्त्रिपरिषद्ले सिरियामा थप रासायनिक हमला रोक्न त्यहाँ कारबाही गर्नुको विकल्प नभएको जनाएको छ । बेलायतका प्रधानमन्त्री थेरेसा मे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध रासायनिक आक्रमणको जवाफ दिने विषयमा एकमत रहेको र उनीहरूसँग  सहकार्य गर्ने फ्रान्सले जनाएको छ ।

विद्रोही समूहद्वारा आत्मसमर्पण
सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट विद्रोहीहरूले सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका छन् । ‘जैस अल इस्लाम’ नामक विद्रोही समूहले डुमा सहरमा रसियाली सेना र प्रहरीसमक्ष हातहतियारसहित समर्पण गरेका हुन् । मानव अधिकारवादीहरूले सो जानकारी दिएका छन् । विद्रोहीहरूले बिहीबार साँँझ उत्तरी सिरियाली सहर डुमा पुगेका बेलायत आबद्ध द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । विद्रोहीले छोडेको गुटा सहर भने सरकारी सुरक्षा अधिकारीहरूले एक महिनाअघि नियन्त्रणमा लिएका थिए । सिरियामा जारी द्वन्द्वका क्रममा राजधानी दमासकसपछि गुटा विद्रोहीको पकड रहेको अन्तिम पकड क्षेत्र हो ।

रासायनिक हमलाको निन्दा
सिरियाको गुटा सहरमा एक साताअघि भएको रासायनिक आक्रमणमा डेढ सयको मृत्यु भएको थियो । आक्रमणमा १२ सयभन्दा बढी प्रभावित भएका थिए । सिरियाली सरकारले गरेको भनेको सो हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ । सिरियामा सन् २०११ को मार्चमा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको द्वन्द्व अझै जारी छ । सिरियाली द्वन्द्वमा साढे तीन लाखको मृत्यु भइसेकेको छ । द्वन्द्वमा लाखाैँ मानिस घाइते भएका छन र सवा करोडभन्दा बढी विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु