logo

bar

अबको साहित्य कस्तो साहित्य ?

नयाँ पत्रिका काठमाडाैँ, ३० चैत | चैत ३०, २०७४

साहित्यले समाज देखाउँछ । अहिले प्रकाशित कृति कालजयी हुन् वा होइनन् यही वेला भन्न सकिँदैन । अहिलेको पुस्ताले अहिलेकै पुस्ताको मूल्यांकन गर्न सक्दैन । अहिलेका कृतिको मूल्यांकन अर्को पुस्ताले गर्छ ।

मान्छेसँग जोडिनु साहित्यको सबैभन्दा बलियो पक्ष हो । पहिला महाभारत, रामायणका पात्रमाथि धेरै साहित्य लेखियो । ती पात्र हाम्रो समाजभन्दा पृथक् थिए । अहिलेका पात्र हाम्रै वरिपरिका हुन् । तिनीहरूलाई हामी दिनदिनै भेटिरहेका हुन्छौँ । साहित्य जनतामाझ आइपुगेको छ ।

 

अहिले भाषामा पनि परिवर्तन भएको छ । पहिलाको भाषा बौद्धिक पाठकले मात्र बुझ्न र ग्रहण गर्न सक्थ्यो । अहिले सामान्य पाठकले पनि बुझ्ने गरी लेखिन्छ । प्रौढ शिक्षा पढेकाले पनि पढ्न सक्छन् ।

साहित्य पढ्ने वातावरणमा पनि परिवर्तन भएको छ । रत्नपार्कका सडकमा भेटिने सस्ता पुस्तक मात्र बिक्री हुने अवस्थाबाट हामी माथि छौँ । अब साहित्य पढ्न कोर्समा नै राखिनुपर्छ भन्ने छैन । पाठक बढेका छन् ।

लेखक पनि ठोस विषयमा आएका छन् । एउटै लेखकले हिमाल, पहाड, मधेस, जनजाति, दलितलगायत विषयमा लेख्थे । केन्द्रमा मात्र चर्चा हुन्थ्यो । केही मान्छेले कृतिलाई महान् भनिदिन्थे । जसका बारेमा लेखिएको हो, उसले भने पढ्न पाउँदैन थियो । कृतिको आधिकारिकता जाँच हुँदैन थियो ।

अहिले लेखकका विषय र दायरा साँघुरिन थालेका छन् । पाठकले आधिकारिकता जाँच गर्छन् । लेखकले गरेको गलत कुराको विरोध हुन्छ । यसले गर्दा अब लेखकले जुनसुकै विषयमा कलम चलाउन सक्दैन । उसले सीमित विषयमा गम्भीर भएर कलम चलाउनुपर्छ ।

हाम्रा हरेक विषय नयाँ

हाम्रा जनजीवनका हरेक विषय नयाँ हुन् । जस्तो कि कर्णाली ब्लुजको मेरो पात्र नुन बोक्न सात आठ दिन हिँडेर जान्छ । फर्कन उति नै समय लाग्छ । उसले गरेका क्रियाकलाप, भोगेको समय हाम्रो लागि सामान्य हो । त्यही भोगेर हुर्किएका हौँ ।

तर, बाहिरी दुनियाँका लागि त्यो अचम्म लाग्दो घटना हो । हाम्रो संस्कृति, भावना, संवेदना नै बाहिरी दुनियाँलाई देखाउने विषय हुन् । अब साहित्यमार्फत अन्तर्राष्ट्रियस्तरमा जाने विषय पनि यी नै हुन् ।

अहिले अन्तर्राष्ट्रिय प्रकाशन गृहलाई पनि नेपाली लेखकका विषयमा चासो छ । हरेक दुई–तीन महिनामा मलाई नेपालका लेखक र विषयवस्तुबारे सोध्छन् । ती गृह नयाँ विषयको व्यापार गर्न हामीलाई चासो दिइरहेका छन् । हाम्रा लागि त्यो अवसर हो । उनीहरूमार्फत अन्तर्राष्ट्रियस्तरमा पुगेका १० मध्ये एक वा दुई लेखक मात्र चले भने हाम्रो साहित्यले छुट्टै गति लिन सक्छ ।

हाम्रो लेखनीमा एउटा समस्या छ । नेपाली लेखकले कुनै दिन आफ्नो कृति अनुवाद भएर अर्को देशमा पनि पढिन्छ भन्ने सोचेर लेख्दैनन् । अनुवादपछि निश्चित संस्कृति, भाषा र भूगोलबाहेकका पाठकले हाम्रो अनुभूति बुझ्न सक्दैनन् । सचेतता भएका लेखकले भने त्यही विषयलाई अन्य देश र भूगोलमा पनि बुझ्न सक्ने गरी लेख्छन् । हाम्रा लेखकमा यही कमी छ ।

लेखकजस्तै सचेत पाठक

पाठक दुई प्रकारका छन् । पहिलो पाठकको लक्ष्य भविष्यमा लेखक बन्ने हुन्छ । दोस्रो प्रकारका पाठक चाहिँ लेखक हुने चाहनाका होइनन् । बढीमा डायरीसम्म लेख्लान् । पहिलो प्रकारका लेखकले आफ्नो ‘स्व’ को खोजी गर्छ ।

दोस्रो प्रकारको पाठकले आम विषय खोज्छ । उनीहरू अलि बढी सचेत पनि छन् । संसारभरका पुस्तक पढिरहेका हुन्छन् । सचेत पाठककै कारण लेखक पनि दबाबमा छन् ।

पाठक पनि सिद्धान्त, भूगोल, राजनीतिबाट निर्देशित हुन्छन् । पाठक कोही बैंकर, शिक्षक, डाक्टर अथवा फरक पेसाका छन् । पेसाअनुसारको मनोविज्ञान फरक हुन्छ । आफ्ना सिद्धान्त र मनोविज्ञानमा मेल खाने कृति आए पाठकले बढी प्रशंसा गर्छन् ।

म आफू भने कुनै निश्चित सिद्धान्तलाई प्रश्रय दिन्न । मेरा कृति सबै खाले विचारका पाठकले पढ्छन् । केही लेखक वामपन्थी विचारधारा र केही त्यसइतर विचार बोकेर लेख्छन् । नेपालमा भने सिद्धान्तभन्दा भावनालाई महत्व दिने पाठक धेरै छन् भन्ने लाग्छ ।

दिनभरि पेसा, व्यवसाय वा राजनीतिक गफ गरेर हिँडेको मान्छे पनि साँझ घरमा पुस्तक पढ्दा पात्रसँग भावनात्मक रूपमा जोडिन चाहन्छ ।

हाम्रा पाठक भारत, भुटान, म्यानमार मात्र नभएर युरोप, अमेरिका र एसियाकै अन्य देशमा फैलिएका छन् । सरकारले साहित्यलाई ठूलो महत्व दिएको छैन । विदेशी पुस्तक जति पनि भित्र्याउन दिइन्छ । तर, नेपाली पुस्तकलाई सहज रूपमा बाहिर लैजान दिइँदैन ।

यसकारण हाम्रा पाठक निश्चित भूगोलमा सीमित भएका छन् । बजारलाई संकुचन बनाइएको छ । आउँदा वर्षमा पुस्तक निर्यातको सहज नीति बनाउनैपर्छ ।

प्रविधिले जोडेको सम्बन्ध

साहित्यले समय बोल्छ । समय प्रविधिसँग हिँड्छ । त्यसकारण प्रविधिभन्दा बाहिर गएर साहित्यको रचना र बहस हुन सक्दैन । प्रविधि स्थिर छैन । जस्तो अहिले सामाजिक सञ्जालले साहित्य प्रवद्र्धनलाई सहयोग गरेको छ ।

पुस्तकको ‘फिडब्याक’ तुरुन्तै पाउन प्रविधि सहयोगी भएको छ । लेखक र पाठकलाई नजिक्याएको छ । यसले गर्दा सम्बन्ध बलियो भएको छ । साहित्यका विषयवस्तु निर्धारणमा समेत प्रविधिको भूमिका देखिन थालेको छ ।

कुनैवेला इन्टरनेटको व्यापकतासँगै पुस्तकका पाठक घट्ने आँकलन थियो । तर, इन्टरनेटको सहजताले मान्छेलाई झनै उत्सुक बनाएको छ । उत्सुकताकै कारण पढ्ने बानीकै विकास भएको छ । जस्तो अमेजन संसारको सबैभन्दा ठूलो पुस्तक व्यापार गर्ने अनलाइन पसल हो ।

इन्टरनेट भर्सन किन्डललाई बेचिरहेको छ । उसले पनि किन्डल भर्सनभन्दा ‘पेपर प्याक’ नै बढी बेचिरहेको छ । साना–साना लेख मोबाइल, ट्याब वा ल्यापटपमा पढ्न सजिलो छ । पुस्तक भने त्यसरी पढ्न सहज हुँदैन । पुस्तक पढ्नु भनेको पुस्तकको गन्ध अनुभव गर्नु हो, मसीको बास्ना अनुभव गर्नु हो । त्यसमा छुट्टै आनन्द हुन्छ ।

साहित्यमा अबको बहस

साहित्यमा कला पहिला कि विचार भन्ने बहस पुरानै हो । यसलाई सन्तुलित ढंगले हेर्न थालिएको छ । विचार मात्र बलियो ढंगले आएको छ तर, कला छैन भने त्यो पढिँदैन । राम्रो भाषण गर्ने नेताले विचारसँगै कलाको पनि प्रयोग गर्छ । कला मात्र छ, विचार छैन भने पनि पढिँदैन । त्यो सस्तो हुन्छ ।

विचार दुई प्रकारको हुन्छ । पहिलो– लेखकले जीवनमा अनुभूति गरेर आएको, दोस्रो कुनै सिद्धान्तले दिमागमा भरिदिएको । दोस्रो चाहिँ भारी बोकेजसरी बोकिएको हुन्छ ।

कला र विचारको प्रयोग सन्तुलित हुनुपर्छ भनिसकेपछि अबको बहस यतिमा मात्र सीमित हुँदैन । लेखकले कुन विषय लेख्न हुने र कुन विषय लेख्न नहुने भन्ने अबको बहस हो । लेखक आफ्नो–आफ्नो दायरामा साँघुरिनुपर्छ । नेपाली लेखकमा कसको दायरा के हो भन्ने स्पष्ट छैन । त्यसकारण विषयवस्तुमा समस्या छ ।

ओरान पामुक टर्कीको इस्तानबुलमाथि मात्र लेख्छन् । उनी अमेरिका बस्छन् । भारतीय महिला बिहे गरेका छन् । तर, अमेरिका, बेलायत वा भारतका विषयमा लेख्दैनन् । उनी जति इस्तानबुलमाथि शक्तिशाली लेख्न सक्छन् अमेरिकामाथि त्यतिकै शक्तिशाली लेख्न सक्दैनन् । त्यो त अमेरिकी लेखकले लेखिरहेका छन् ।

लेखिरहेको भन्दा अर्को दायरामा फड्केपछि लेखकले धेरै नै सोच्नुपर्छ । कमजोर लेखनले विषय जुठो मात्र हुन्छ । विषय र पात्रमाथि अन्याय नै हुन्छ । भोलि त्यही समुदायबाट कोही राम्रो लेखक जन्मियो भने अघिल्लो लेखकले बाटो नै रोकिदिएको हुन्छ ।

त्यसकारण हाम्रो साहित्यमा पनि अब लेखकको दायराबारे सामूहिक छलफल र बहस हुनुपर्छ । के लेख्ने र के नलेख्ने भन्ने चर्चा हुनुपर्छ । संसारमा यो बहस पुरानो होला, हाम्रो अझै सुरु नभएको विषय हो ।

नेपालमा मात्र नभएर विश्वमा भइरहेका आन्दोलन तथा राजनीतिक घटनाले साहित्यलाई प्रभाव पारिरहेकै छ । नेपालमा भएको माओवादी जनयुद्धलाई विश्वले नै हेरिरहेको थियो । ती विषयमा केही पुस्तक लेखिए ।

तर, अन्य सामाजिक वा राजनीतिक विषयमा लेखिएका पुस्तकमा पनि त्यसको प्रभाव मसिनो गरी आएको हुन्छ । हाम्रो धेरै साहित्यमा माओवादी आन्दोलन कता न कता देखिन्छ । त्यो मात्र नभएर इतिहासमा हामीले भोगेको राजनीति पनि साहित्यमा कता न कता प्रतिबिम्बित हुन्छ ।

राजनीतिक घटना दुई वा दुईभन्दा बढी पक्षको तनावबीच बढेको हुन्छ । लेखकले बीचमा बसेर लेख्ने हो वा समर्थन गरेर लेख्ने भन्ने प्रमुख कुरा हो । त्यो लेखकको आफ्नो धारणा हो । त्यसले लेखनलाई निर्देशित गरिरहेकै हुन्छ ।

लेखेर बाँच्ने कि बाँचेर लेख्ने ?

हाम्रो देशमा पनि केही लेखकको लेखेरै जीविका चल्ने अवस्था छ । साहित्यको बजार बिस्तारै बढ्दै जान्छ । यसलाई कसैले कम गर्न सक्दैन । त्यसैले लेखेर बाँच्नेको संख्या बढ्दै जाने निश्चित छ । म कर्णाली ब्लुज प्रकाशनपछि पूर्णकालीन लेखक भएको हुँ । लेखेरै बाँच्न आय र जीवनशैली मेल खानुपर्छ । कमाएभन्दा बढी खर्च ग-यो भने पक्कै बाँच्न सकिँदैन ।

कसैले पनि आफू पूर्णकालीन लेखक हुन्छु भन्ने पहिल्यै सोचिसकेको हुँदैन । त्यो त बजारले नै निर्धारण गर्छ । पुस्तक बजारमा आइसकेपछि लेखकको शैली, भाषा, प्रस्तुति, कथा मन पराउने पाठकको संख्या जाँच्नुपर्छ । अनि मात्र पूर्णकालीन लेखक बन्ने विषयमा निर्णय गर्नुपर्छ ।

मलाई मेरा पुस्तकबाट रोयल्टी आउँछ । अहिले कर्णाली ब्लुज कोरियन र अंग्रेजीमा आउँदै छ । अरू भाषामा पनि प्रकाशन हुने कुरा हुँदै छ । संयोगवश कुनै भाषामा चलिदियो भने थप आम्दानी हुन्छ । कसैको पुस्तकबाट फिल्म बन्छ ।

त्यसबाट पनि रोयल्टी आउँछ । यसरी नै लेखक पूर्णकालीन भएर बाँच्ने हो । तर, पुस्तक लेख्नु भनेको जागिर जस्तो होइन । कुनै पुस्तक चलेन भने के गर्ने ? यसमा खतरा हुन्छ ।

अबको शक्तिशाली विधा

इतिहासदेखि नै उतारचढाव भोगेको विधा हो, कविता । समयको मागअनुसार यो कहिले एकदमै शक्तिशाली र कहिले कमजोर भयो । मान्छेलाई झट्टै छोइहाल्ने विधा पनि कविता नै हो । कविता जीवनशैलीका धेरै प्रणालीसँग जोडिन्छ । तर, आर्थिक पाटोसँग कहिल्यै जोडिएन । अहिले एक–दुई कवि पारिश्रमिक लिएर देश–विदेश घुमिरहेका छन् । त्यो फरक पाटो हो ।

कविता दुई प्रकारका छन्– एउटा, मासमा जाने र अर्को बौद्धिक । बौद्धिक कविताको प्रभाव थोरैमा पर्छ तर कालजयी हुन्छ । मासमा जाने कविताले भने चलायमान बनाउँछ । कविता शक्ति देखाउने विधा हो । यसलाई राज्यले पनि प्रयोग गर्न सक्छ ।

शक्तिशाली विधा भएर पनि अर्थमा नजोडिँदा कविता महत्वमा परेन । संसारभरि आर्थिक पाटोमा सशक्त रूपमा जोडिने विधा आख्यान हो । आख्यानमा पनि उपन्यास । उपन्यास पाठकसँग बढी जोडिन्छ । सामान्य मान्छेले पनि आफूलाई त्यसमा ढालेर पढ्छ । तर, यो शक्ति देखाउने विधा होइन । यसको प्रभाव कविताको जस्तो झड्का दिने प्रकारको हुँदैन ।

अबको बजार पनि आख्यानकै हो । उपन्यास लेखनमा नयाँपन दिनुपर्ने चुनौती छ । नयाँ विषयवस्तु र पात्र खोज्नुपर्ने चुनौती छ ।

एक वर्षमा पाँचवटा राम्रा पुस्तक आए उपलब्धि मान्नुपर्छ । विश्वभरि एक वर्षमा अंग्रेजी भाषामा सयाैँ पुस्तक आउँदा १० वटा राम्रा आयो भने पाठक खुसी हुन्छन् । नेपाली भाषामा केही सय पुस्तक प्रकाशन हुँदा पाँचवटा राम्रा भए सुखद मान्नुपर्छ ।

पुस्तक प्रकाशनको हिसाबले ०७४ सुखद वर्ष हो । अब ०७५ मा आख्यान अझ शक्तिशाली भएर आओस् भन्ने लागेको छ । कविता धेरै आउँछन्, छानिन समय लाग्छ । राम्रा कविता थोरै हुन्छन् । आख्यान आफैँमा थोरै लेखिन्छ ।

­(प्रकाश गुरागाईंसँगको संवादमा आधारित)

तपाईको प्रतिक्रिया