logo

bar

ऋचाको अपेक्षा गुणस्तरीय फिल्म

शिवराज योगी काठमाडाैँ, ३० चैत | चैत ३०, २०७४

धन कमाउनुलाई मात्रै उपलब्धि नठान्नेहरू केलाई उपलब्धि ठान्छन् होला त ? धनलाई मात्रै उपलब्धि ठान्नेहरूका अगाडि अपवाद बनेर उभिएकी छिन्, नायिका ऋचा शर्मा । जसलाई धनभन्दा ज्ञान आर्जन गर्नु पनि कम्ती लाग्दैन । समयको लेखाजोखा हुनुपर्छ । समयको हिसाबकिताब गरिएन भने भविष्यको खाका बांगोटिंगो बन्न सक्छ ।

हामी २०७४ को बिदाइ र नयाँ वर्ष २०७५ को स्वागतमा छौँ । यतिवेला ०७४ कस्तो रह्यो र ०७५ मा के गर्ने ? भन्ने समीक्षा गरिनु र योजना बन्नु स्वाभाविक हो । नायिका ऋचा शर्मा यही मेलोमा भेटिन्छिन् । उनी व्यक्तिगत करिअर र सिंगो फिल्म इन्डस्ट्रीको विगत र आगतबारे बोल्न रुचाउँछिन् ।

करिअरका दृष्टिले उनका लागि वर्ष २०७४ अतुलनीय रह्यो । फलदायी बन्यो । ‘मैले कलाकारबाट निर्माताका रूपमा फड्को मारेको वर्ष हो, ०७४’, उनले भनिन्, ‘मैले यही वर्ष ‘आधा लभ’ फिल्म निर्माताका रूपमा पस्किएँ ।’ यद्यपि, ऋचाको आधा लभलाई दर्शकले पूरा माया गरेनन् ।

बक्स अफिसमा फिल्मले राम्रो व्यापार गरेन । ऋचालाई फिल्मको व्यापारिक असफलताले त्यति धेरै अर्थ राखेन । ‘मान्छेले भन्छन् नि फिल्म बनाउनु भनेको कुनै युनिभर्सिटी जानुभन्दा ठूलो कुरा हो,’ उनले अनुभूति सुनाइन्, ‘त्यो त साँच्चै होजस्तो लाग्यो ।

मैले पनि फिल्म निर्माणका क्रममा के गर्न हुन्छ, के गर्न हुँदैन, कसरी बजेट व्यवस्थापन गर्न सकिन्छ, कहाँनिर असफलता हात लाग्छ, त्यो ज्ञान पाएँ । यो ज्ञान सायदै युनिभर्सिटीमा पढ्न पाइन्छ होला !’

आधा लभको असफलतासँगै उनलाई फिल्म कसरी लिड गर्ने ? बजारीकरण के हो, कहाँ–कहाँ चुहावट हुन्छ भन्ने धेरै ज्ञान ०७४ ले सिकाएको उनी सम्झन्छिन् । ‘त्यो अनुभव कुनै मूल्य तिरेर पढ्न पाइन्छजस्तो मलाई लाग्दैन,’ उनले भनिन्, ‘आधा लभले बक्स अफिसमा राम्रो व्यापार नगरे पनि मेरो जीवनमा ठूलो अनुभवको आयाम थपिदियो । यी कुरा कलाकार मात्र हुँदा मैले सिक्न पाएकी थिइनँ ।’

कैलालीको धनगढीमा जन्मिएर उतै हुर्किएकी नायिका ऋचा म्युजिक भिडियो हुँदै सन् २०१० मा ‘फस्ट लभ’ मार्फत फिल्मी दुनियाँमा प्रवेश गरिन् । त्यसपछि उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘भिसा गर्ल’, टलकजंग भर्सेस टुल्के’, ‘जिन्दगी रक्स’ हुँदै ‘कोहलपुर एक्सप्रेस’सम्म अभिनय गरिन् ।

कताकता गुमनामको अनुमान गरिँदै गर्दा ०७४ मा उनी ‘आधा लभ’ लिएर निर्मात्रीका रूपमा डेब्यु गरिन् । व्यापारिक असफलता र अनुभवको फराकिलो आयतनले ऋचालाई ‘सुनकेसरी’सम्म पु¥यायो । आधा लभकै निर्मात्री अनुभवले उनलाई सुनकेसरी जन्माउन ‘प्रसव वेदना’ सहनुपरेन ।

‘मैले हिम्मत गरेँ । पूरै अस्ट्रेलियन क्रुजलाई लिएर फिल्म बनाएँ । सुनकेशरीको सम्पूर्ण सुटिङ अस्ट्रेलियामै भयो,’ उनले भनिन्, ‘नयाँ स्वाद र शैली कसैले न कसैले पस्कनैपर्छ । त्यो साहस मैले गरेकी छु, पूरा व्यावसायिक रूपमा ।’ उनको निर्माणको मापन ०७५ जेठ ११ गते दर्शकले गर्नेछन् । निर्मात्रीका रूपमा सफलता र असफलताको टीका लगाउने जिम्मा दर्शकलाई दिन्छिन् ऋचा ।

जो पनि प्रोड्युसर बन्न सक्दैन भन्ने मान्यताप्रति उनी विश्वास गर्दिनन् । ‘यो खुला मैदान हो, यहाँ जो पनि दौडन सक्छ,’ उनले भनिन्, ‘त्यो दौड कायम राख्न भने एकैखालको फिल्म बनाएर सम्भव छैन ।’ उनी फिल्मी उद्योगलाई समृद्ध बनाउने हो भने हरेक विधा, स्वाद र शैलीको फिल्म बनाउनुपर्ने देख्छिन् । त्यही भएर उनले हरर (भूतप्रेत र आत्माबारे) फिल्ममा नदेखिएको जनरालाई सुनकेशरीमार्फत स्थापित गर्ने हिम्मत गरेकी हुन् ।

वर्ष ०७४ मा उनले न्युयोर्कको क्विन्स इन्टरनेसनल फिल्म फेस्टिभलमा स्पेसल मेन्सन पाइन् । ‘त्यो मेरो ‘सिल्भर बेंगल’ भन्ने सर्ट फिल्मका लागि पाएकी थिएँ,’ उनले भनिन्, ‘त्यो मजस्तो करिअर बेस्ड कलाकारका लागि ठूलो उपलब्धि हो भन्ने ठानेकी छु ।’

इन्डस्ट्रीका लागि असल वर्ष

०७४ साल फिल्म इन्डस्ट्रीका लागि पनि सन्तोषजनक वर्षको रूपमा रहेको मूल्यांकन ऋचाको छ । अघिल्ला वर्षभन्दा ०७४ फरक रहेको उनले बताइन् । ‘अघिल्लाभन्दा यो वर्ष निकै थोरै फिल्म आए । फिल्म थोरै बन्नु अरूले नराम्रो भन्लान्, म भने खुसी छु,’ उनले भनिन्, ‘जति थोरै फिल्म बन्यो, त्यसले लगानी मात्रै सुरक्षित गर्दैन, क्वालिटी पनि निर्धारण गर्छ भन्ने लाग्छ ।’ थोरै फिल्म बने पनि त्यसमध्ये औँलामै गन्न सकिने फिल्म मात्रै चलेको उनको बुझाइ छ ।

नेपाली फिल्म उद्योगमा संख्यात्मकभन्दा गुणात्मक वृद्धि हुनुपर्ने उनी अपेक्षा राख्छिन् । ‘गुणात्मकमा पनि हरेक विधाको फिल्म चल्नुपर्छ । कमेडी मात्रै चलेर हुँदैन, रोमान्स मात्रैले पनि पुग्दैन,’ उनले भनिन्, ‘एक्सन पनि चल्नुप-यो । आर्ट फिल्म पनि उदाउनुप-यो ।’

त्यस दृष्टिले वर्ष ०७४ उनले राम्रो पाएकी छिन् । आर्ट फिल्म पनि आए यस वर्ष । ‘डाइङ क्यान्डल’जस्तो फिल्म आयो । डिफरेन्ट जनरामा फिल्म ‘नाका’ आयो । हास्यव्यंग्य विधाको ‘छक्कापञ्जा–२’ चल्यो ।

कमर्सियल फिल्म ‘शत्रु गते’ ०७४ मै आयो,’ ऋचाले भनिन्, ‘विधागत रूपमा हरेक किसिमको फिल्म आयो । दर्शकले पनि महसुस गरेका छन् ।’ उनको मूल्यांकनमा फिल्म इन्डस्ट्रीका लागि यो निकै उत्साहजनक परिवर्तन हो ।

नयाँ वर्षमा अपेक्षा

नयाँ वर्ष ०७५ मा ०७४ को भन्दा पनि कम फिल्म आउन् भन्ने ऋचाको अपेक्षा छ । कम फिल्म बन्न लागेको खबर उनले सुनेकी पनि छिन् । ‘थप गुणात्मक फिल्मको आशा गर्नैपर्छ,’ उनले भनिन्, ‘त्यसो भयो भने यो खबर निकै पोजेटिभ हो । मेरो मान्यता त केसम्म हो भने ५२ वटा हप्तामा गुणा दुई फिल्म आउनुपर्छ ।’

त्यसो हुँदा बलिउडसँग ठूलो प्रतिस्पर्धा गरिरहेको नेपाली फिल्म जगत्ले आफ्नै इन्डस्ट्रीको फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछैन । त्यसले उद्योगलाई नै फाइदा उनी देख्छिन् । ‘हाम्रो उद्देश्य त धेरैभन्दा धेरै दर्शकलाई कसरी हलसम्म लिएर आउने भन्ने हो नि,’ उनले प्रस्ट्याइन्, ‘धेरै फिल्म एकैसाथ प्रदर्शनमा आयो भने त त्यसले दर्शक बाँडिन्छन् ।

त्यो हितकर हुँदैन ।’ त्यसो हुँदा दर्शकलाई पनि कुन हेर्ने र कुन छोड्ने भन्ने द्विविधा नरहने उनी बताउँछिन् । यसले व्यावसायिक रूपमा पनि फाइदै पुग्ने उनको बुझाइ छ ।

०७५ सालमा कमभन्दा कम फिल्म आउन् भन्ने उनको सदीक्षा छ । कसरी कम तर गुणस्तरीय फिल्म बनाउने भन्ने सोच्न सबैलाई आग्रह पनि गर्छिन् । ‘०७४ मा ६६ वटा फिल्म आए । त्यसमध्ये १२–१५ वटा फिल्म मात्रै सफल भए,’ उनले भनिन्, ‘पाँच वर्षको इतिहास हेर्ने हो भने लगानीको आधारमा धेरै पैसा उठेको यो वर्ष हो ।’

बोर्ड संवेदनशील बनोस्

चलचित्र विकास बोर्डले चैतदेखि बक्स अफिसमा ई–टिकेटिङ लागू गर्ने भनेको उनले बिर्सेकी छैनन् । ‘तर त्यो भएन । साउनसम्म हरेक थिएटरमा यो लागू हुन्छ भनिएको थियो,’ ऋचाले भनिन्, ‘त्यसो भइदियो भने त निर्मातालाई फिल्मको हिसाबकिताब हेर्ने अवसर मिल्छ । फिल्म घाटामै गयो भने पनि हिसाबमा देखिने स्पष्ट आकारले चित्त बुझाउने आधार हुन्छ नि !’

अहिले त भनिदिएको भरमा बक्स अफिस प्रणाली चलेको उनले पाएकी छिन् । यसमा विकास बोर्डले ध्यान दिनुपर्ने माग उनको छ । ‘ध्यान देला भन्ने आशा गरौँ । यो लागू हुनु भनेको पारदर्शिता लागू हुनु हो,’ उनले भनिन्, ‘बोर्ड हाम्रो अभिभावक संस्था हो ।

अहिलेसम्म बोर्डको बोली र व्यवहारमा समानता छैन । हामी कलाकार, निर्माता, निर्देशक बक्स अफिस प्रणाली लागू होला भन्ने पर्खाइमा छौँ । ०७५ मा यो लागू होला भन्ने अपेक्षा छ ।’

बक्स अफिस प्रणाली आफूहरूको सानो अपेक्षा मात्रै भएको उनले बताइन् । ‘चलचित्र विकास बोर्ड र सरकारले फिल्म इन्डस्ट्रीलाई सुधार्न गर्नुपर्ने एक–दुई कुरा मात्रै छैनन् । त्यो लिस्ट बनाउने हो भने लामै हुन सक्छ । त्यति पर पनि नजाऊँ,’ उनले भनिन्, ‘आज मैले ‘आधा लभ’, ‘सुनकेशरी’ बनाएकी छु ।

‘सुनकेशरी’ चलेनछ भने पनि म आत्तिने अवस्था नरहोस् भन्ने मजस्ता हरेक प्रोड्युसरको चाहना हो । म त नआत्तिउँला रे ! तर यो क्षेत्रमा सम्भावना र आशा बोकेर लगानी गर्नेहरूको सुरक्षा खै त ?’ सुधार भएन भने फिल्म उद्योग कहिले र कसरी समृद्ध हुने भन्ने चिन्ता उनलाई छ । त्यो जिम्मेवारी बोर्डको हो । ऊ फिल्मी उद्योगको अभिभावक संस्था भएपछि त्यो जिम्मेवारी पनि लिनुपर्छ भन्ने उनलाई लाग्छ ।

आज पनि फिल्मी उद्योगमा लाखौँ लगानी गर्ने, फिल्म हलसम्म पठाउने तर कतिपयको हातमा त एक पैसा पनि नपर्ने दृष्टान्त उनले देखेकी छिन् । त्यसका लागि बक्स अफिसलाई पारदर्शी बनाउनु नै चित्त बुझाउने ठाउँ हुने उनी बताउँछिन् ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सक्ने हैसियत र जिम्मेवारी पनि चलचित्र बोर्डसँग मात्रै भएको ठम्याइ नायिका ऋचाको छ । ‘त्यसका लागि चीन, अमेरिका, बेलायतलगायतका देशमा हुने अन्तर्राष्ट्रियस्तरका फिल्म फेस्टिभलमा कम्तीमा यहाँका फिल्म, नायक, नायिका, निर्माता, निर्देशकलाई प्रतिनिधित्व गरेर पठाउने काम त बोर्डले गर्न सक्नुप-यो नि,’ ऋचाले असन्तुष्टिपूर्ण स्वरमा भनिन्, ‘तालिम, वर्कसपका लागि पठाउनुप-यो ।

वर्षमा एउटा मात्रै भए पनि नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पठाउने काम गर्नुप-यो ।’ वर्ष ०७५ मा उनको अपेक्षा छ, नेपालको मौलिकता झल्कने फिल्मलाई अस्करदेखि लिएर ठूल्ठूला फिल्म फेस्टिभलमा पठाउन जरुरी छ । त्यो काम कुनै व्यक्तिले चाहेर पनि गर्न सक्दैन, त्यसका लागि चलचित्र विकास बोर्ड नै अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

यस्ता धेरै विषय छन्, जुन हुन सकेका छैनन् । ‘चलचित्र विकास बोर्ड आफैँले पनि केही स्वामित्व लिएर आर्ट फिल्म बनाउने, त्यसलाई अन्तर्राष्ट्रिय समुदायमा पठाएर नेपाली फिल्ममा स्थापित गर्नुपर्छ,’ ऋचा सुझाउँछिन् ।

सामान्य लाग्ने तर महत्वपूर्ण विषय उनले नेपाली फिल्मकर्मीलाई तालिमको अभाव देखेकी छिन् । ‘कतिजना बुझ्दै नबुझी यो इन्डस्ट्रीमा प्रवेश गरेका छन् । उहाँहरूसँग ऊर्जा र साहस छ,’ ऋचाले भनिन्, ‘बलिउड, हलिउडदेखि चाइनाका ठूला हस्तीलाई बोलाएर तालिम र अनुभव आदानप्रदानको मौका जुराउने जिम्मेवारी पनि सरकारको हो ।

ढिलो भइसकेको छ, ०७५ मा त्यो अपेक्षा राख्नैपर्छ ।’ तालिम गरेर कोही सानो नहुने उनको बुझाइ छ । तालिमले केही न केही ज्ञान दिने उनले बुझेकी छिन् । ‘कसै न कसैले यो नेतृत्व लिनैपर्छ । कसले लिएर जस लिने भन्ने कुरा मात्रै हो,’ उनले भनिन्, ‘बोर्डको अहिलेको नेतृत्वलाई त्यो अवसर छ ।’

कलाकारले आफूलाई पनि सुधार्नुपर्ने उनी देख्छिन् । कला क्षेत्रमा संलग्न हरेकले फिल्म उद्योगलाई सिरियस लिनुपर्ने उनको राय छ । ‘पर्दापछाडि र अगाडिका सबै पात्र गुणस्तरीयतामा सिरियस हुनुपर्छ,’ उनले भनिन्, ‘नेपाली कलाकारितामा देखिएको छाडापनलाई पत्रकारिताभन्दा युट्युबरहरूले बढी प्रोत्सान गरेको देख्छिन् । यसमा पत्रकारहरूको छाता संगठनले कडा कदम चाल्नुप-यो नि ।’

तपाईको प्रतिक्रिया