logo

bar

नेप्से परिसूचक वर्षभरि नै बियरिस ट्रेन्डमा

नयाँ पत्रिका काठमाडौं, ३० चैत | चैत ३०, २०७४

नेपाली धितोपत्र बजारको कारोबार मापन गर्ने नेप्से परिसूचक वर्षभरि नै बियरिस ट्रेन्डमा रह्यो । गत वर्षको अन्तिम कारोबार दिन १ हजार ६ सय ९७ दशमलव १३ बिन्दुमा बन्द भएको नेप्से यस वर्षको अन्तिम कारोबार दिनमा १ हजार २ सय ७७ दशमलव ५५ बिन्दुमा पुगेर बन्द भएको छ । यस हिसाबले नेप्से परिसूचक एक वर्षमा ४ सय १९ दशमलव ५८ बिन्दु घटेको हो । यस वर्षको बजारलाई तरलता अभाव, बढ्दो सेयर आपूर्ति र राजनीतिक अवस्थाले प्रभावित पारेको छ ।

यस वर्ष लगानीकर्ताको सम्पत्तिमा पनि उल्लेख्य कमी आएको छ । गत वर्षको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण १९ खर्ब ५१ अर्ब रहेको थियो भने फ्लोट बजार पुँजीकरण ६ खर्ब ८३ अर्ब रहेको थियो । यस वर्षको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण १४ खर्ब ९७ अर्ब र फ्लोट बजार पुँजीकरण ५ खर्ब ५ अर्बमा सीमित भएको छ । यस वषको उच्चतम बिन्दु १ हजार ६ सय ९३ दशमलव ७२ रहेको छ भने न्यूनतम बिन्दु १ हजार १ सय ६८ दशमलव ५५ रहेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७४/७५ को पौस मसान्तसम्म वित्तीय कम्पनीहरूको चुक्तापुँजी वृद्धि गर्न दिएको निर्देशनले बजारमा अत्यधिक सेयर आपूर्ति बढाएको थियो । चुक्ता पुँजी वृद्धिका लागि अधिकांश कम्पनीहरूले हकप्रद, बोनस सेयर तथा एफपिओ जारी गरेपछि बजारमा सेयर आपूर्ति अधिक भएको थियो । यसका साथै नयाँ कम्पनीहरूले जारी गरेको आइपिओले पनि बजारमा सेयर आपूर्ति बढाएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार यस वर्षको पुस मसान्तसम्ममा सबै वाणिज्य बैंकहरूले ८ अर्ब चुक्ता पुँजी पुर्‍याउन सफल भएका छन् ।

चुक्ता पुँजी वृद्धि गर्दा बजारमा लगानीयोग्य पुँजी अभावको समस्या देखिएको थियो । कम्पनीहरूले जारी गरेको एफपिओ र हकप्रद सेयरमा लगानीकर्ता आकर्षित भएका थिए । फलस्वरूप निक्षेपमा कमी आई बजारमा लगानीयोग्य पुँजी अभावको समस्या आएको थियो । वित्तीय संस्थाहरूले निक्षेप बढाउनका लागि १३ प्रतिशतसम्म निक्षेप ब्याजदरका योजना सार्वजनिक गरेका थिए । यसले बियरिस ट्रेन्डमा रहेको बजारलाई अझ घट्न दबाब सिर्जना गरेको थियो । बजार घटेपछि बैंकरहरूले निक्षेपको ब्याजदर ८ प्रतिशतभन्दा नबढाउने सहमति गरेका थिए । यसले बजारमा केही सकारात्मक प्रभाव पारेको थियो ।

यस वर्षको बजारलाई राजनीतिले पनि प्रत्यक्ष प्रभाव पारेको थियो । बजार सामान्य ओरालो लाग्दा बाम गठबन्धनको सरकार बन्ने भएपछि लगानीकर्ताहरू केही त्रसित भएका थिए । बाम गठबन्धनको सरकारले पुँजीबजारलाई प्राथमिकता नदिने हल्लाले बजारलाई ओरालो लाग्न दबाब सिर्जना गरेको थियो ।

सो हल्लामा लागि केही त्रसित लगानीकर्ताहरूले कम मूल्यमा सेयर बिक्री गरे । तर, बाम गठबन्धनको सरकारको पुँजीबजारप्रति सकारात्मक धारणा सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल केही बढेको थियो । यही वर्ष नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाले सेयरबजारसम्बन्धी दिएका विभिन्न अभिव्यक्तिले पनि बजारलाई प्रभावित पारेको थियो । उनको अभिव्यक्तिलाई गलत रूपमा प्रस्तुत गरेको तर्क दिँदै उनले श्वेतपत्रमार्फत धितोपत्र बजार विस्तारका लागि संस्थागत र नीतिगत सुधारका कार्य गर्ने बताएपछि लगानीकर्ता उत्साहित भएका थिए ।

यसै वर्ष मूल्य अभिवृद्धि करको विवादले पनि बजारलाई नकारात्मक प्रभाव पारेको थियो । सरकारले ब्रोकर कमिसनमा मुअकर तिर्न दिएको निर्देशनपछि यो विवाद बढेको थियो । यसको विरोधमा ब्रोकरहरूले धितोपत्र खरिद–बिक्री गर्न आदेश अस्वीकार गरेपछि एक दिनका लागि कारोबार ठप्प भएको थियो । आन्तरिक राजस्व विभागमातहतका करदाता सेवा कार्यालयबाट ब्रोकरहरूलई मुअकर निर्धारण गरी जरिवाना, थप दस्तुर र ब्याजसहितको कर रकम निर्धारण गरी १५ दिनभित्र नेपाल सरकारको सञ्चिती कोषमा दाखिला गर्न आदेश जारी गरेको थियो ।

यस वर्ष सूचीकृत कम्पनीहरूले लगानीकर्ताको अपेक्षाअनुसार नाफा आर्जन गर्न सकेनन् । पुँजी वृद्धिको तुलनामा नाफा बढाउन नसक्दा कम्पनीहरूको सेयरमा प्रतिफल (आरओई) घटेको छ । यसले लगानीकर्तामा केही निराशा देखिएको थियो । यद्यपि, चालू आवको तेस्रो त्रैमासमा कम्पनीहरूले कति नाफासहितको वित्तीय विवरण सार्वजनिक गर्ने हो, त्यो हेर्न बाँकी नै छ । ०७५ सालको सुरुवातमा सोही वित्तीय विवरणले बजारको दिशानिर्देश गर्नेछ ।

बिहीबार नेप्से परिसूचक ४ दशमलव २२ अंक बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से मध्याह्नपछि केही ओरालो लागेको थियो । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । नेप्से र कारोबार रकम दुवै बढ्नाले लगानीकर्ता उत्साहित भएका छन् । वर्षको अन्तिम कारोबार दिन बजार बढेर बन्द हुँदा लगानीकर्ताको मनोबल बढेको छ ।

यस दिन १ सय ६५ कम्पनीको ५ हजार ९ सय ६३ पटकको कारोबारमा ४४ करोड ३० लाख ९६ हजार २ सय ६६ (म्यानुअल टर्नओभरसहित) रुपैयाँबराबरको १३ लाख २९ हजार ९ सय ३० कित्ता सेयर खरिद–बिक्री भएको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७३ अंक बढेर २ सय ७२ दशमलव ४५ बिन्दुमा पुगेको छ । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा बढेर १४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा यस दिन पनि नबिल बैंकको संस्थापक सेयर अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको २ करोड ४६ लाख रुपैयाँभन्दा बढीको ३१ लाख २ सय ८ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन ओम डेभलपमेन्ट बैंक अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा प्रिमियर इन्स्योरेन्स अगाडि रहेको छ ।

ओमको यस दिन १ लाख ९ हजार १३ कित्ता र प्रिमियरको ४ सय ४६ पटक सेयर खरिद–बिक्री भएको छ । प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य यस दिन ६ दशमलव ७४ प्रतिशत बढेको छ । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य यस दिन करिब १० प्रतिशत घटेको छ । कारोबारमा आएको १ सय ६५ कम्पनीमध्ये यस दिन ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन वित्त र वाणिज्य बैंक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव ७४ प्रतिशत, बिमा समूहको १ दशमलव ३१ प्रतिशत, होटेल समूहको १ दशमलव शून्य ६ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ७७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७३ प्रतिशत, अन्य समूहको शून्य दशमलव ५७ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ७७ प्रतिशत घटेको छ भने वाणिज्य बैंक समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु