logo

bar

आदर्शवान् पत्रकारको कथा

राजव, आख्यानकार काठमाडौं, २८ चैत | चैत २८, २०७४

मलाई वर्षाैँदेखि आदर्श मान्छेबारे उपन्यास लेखौँ भन्ने लागेको थियो । समाजमा आदर्श मान्छे केही छन्। मैले भेटेका सामान्य मान्छेमा पनि त्यो झल्को पाउथेँ । तिनै मान्छेको प्रभावले सोटिट उपन्यासको विषयवस्तु क्लिक भएको हो । यस्ता अदर्श मान्छेलाई राज्यले महत्व दिइरहेको हुँदैन । तर, साहित्यमा यस्तै मान्छेको महत्व हुन्छ । सोटिट एकजना पत्रकारको कथा हो । ऊ अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएट प्रेसमा काम गर्छ । त्यो काल्पनिक पात्र हो ।

यो कथा लामो समयदेखि दिमागमा थियो । अघिल्लो उपन्यास बेकरीमा उपन्यास लेख्दाताका नै दिमागमा बसिरहेको थियो । यो कथाले पञ्चायतकालको संघर्ष पनि देखाएको छ । सोटिट देशमा परिवर्तन होस् भन्ने चाहने पत्रकार हो । ऊ कम्युनिस्ट र कांग्रेस दुवैलाई सघाउँछ । उसकै जीवनमा आधारित छ उपन्यास ।

पत्रकारको वास्तविक नाम महेन्द्र उपाध्याय हो । तर, एसोसिएट प्रेसमा जागिर खान थालेपछि उसलाई धेरै गाउँलेले सोटिट बाबु भन्छन् । कसैले एसोसिएट र कसैले सोसिएट बाबु पनि भन्छन् । सोटिट भन्ने शब्द मैले आफैँले रचेको हो ।

सोटिटमार्फत मैले पञ्चायतकालको पत्रकारिता कस्तो हुन्थ्यो, विदेशी सञ्चारमाध्यममा कसरी समाचार प्रेषण गर्नुपथ्र्यो, सरकारले नेपाली मिडिया र विदेशी मिडियाका सञ्चारकर्मीलाई गर्ने व्यवहारमा के फरक थियो भन्ने देखाउन खोजेको छु । भारतमा पनि अंग्रेजीमा लेख्ने र हिन्दीमा लेख्नेलाई कस्तो विभेद गरिन्थ्यो भन्ने उल्लेख छ ।

पञ्चायतकालमा समाचारका स्रोत कस्ता थिए भन्ने पनि देखाएको छु । दरबारको समाचार बाहिर पठाउने दरबारकै कर्मचारी हुन्थे । तीसँग पत्रकारले खासगरी रक्सीको सम्बन्ध जोडेका हुन्थे । दरबारिया कर्मचारी थोरै पैसा वा जिन्सीमा पनि बिक्नेखालका हुन्थे ।

उपन्यासमा मेरै आफ्ना अनुभव पनि छन् । मैले बुधबार साप्ताहिकमा लामो समय व्यंग्यको स्तम्भ लेखेँ । दृष्टिमा पनि स्तम्भ लेखेँ । प्रतीपक्ष साप्ताहिक नारायण ढकाल, विमल निभा, श्यामल, गोपाल गुरागाईं र म भएर निकालेका थियौँ । यसमा पनि स्तम्भ लेखेँ । यसकारण पत्रकारिताको थोरै ज्ञान र अनुभव मलाई पनि थियो ।

मेरो घर बाराको बन्जरिया । काठमाडौंमा जन्मे । काँठ क्षेत्रमा पनि बसेँ । सोटिटमा यी सबै क्षेत्र आएका छन् । कथावाचकचाहिँ बद्री भन्ने केटो छ । बद्रीले बाराको गाउँको बयान गरेको छ । प्रधापञ्चको भूमिका गाउँको परिवेश, गाउँलेको पछौटेपन उसैले देखाउँछ ।

सोटिट बाबु प्रगतिशील मान्छे । उसले बद्रीलाई पढ्नका लागि सहयोग गर्छ । तर, सोटिटको बाबुचाहिँ सामन्ती छ । उसले बद्री नपढोस् भन्ने चाहन्छ । सोटिटले भूमिगत रहेका कांग्रेस र एमालेका नेतालाई खाना खुवाउने र पैसा दिनेसम्मको काम गर्छ । ऊजस्ता पात्र धेरै छन्, जो प्रजातन्त्र आएपछि दृश्यमा आएनन् । उनीहरूको सहयोग निःस्वार्थ थियो ।

सोटिटपछि पलायन भएको छ । पलायन किन भयो भन्ने महत्वपूर्ण छ । देशमा परिवर्तन भए पनि सामान्य मान्छेको जीवन जस्ताको तस्तै भएपछि उसले पलायनको बाटो रोज्छ । किनभने उसले सोचेको आदर्श फिक्का भयो । आदर्श आदर्श नै रहेन । अनि ऊ निराश भयो । उसले पत्रकारिता छाड्छ । त्यो निराशा आममान्छेमा आउनुहुँदैन । आउन दिनुहुँदैन । मैले भन्न खोजेको कुरा कसैलाई पनि त्यति ठूलो ठान्नुहुँदैन जसले हामीलाई निराशामा लैजान्छ ।

उपन्यासले तराई र काठमाडौं जोडेको छ । बद्री पहिला तराईमा छ । तराईको परिवेश बयान गर्छ । राजधानी पसेपछि उसलाई काठमाडौंले ‘मस्र्या’ देख्छ । ऊ पहाडे बाहुन भए पनि उसको छाला डढिसकेको छ, लवाइ पनि मधेसी पाराको छ । त्यसकारण उसलाई काठमाडौंले गर्ने व्यवहार नै फरक छ ।

उपन्यास नेपालमा हिप्पीहरू प्रवेश गरेको समयको हो । हिप्पीको चरित्र यसमा देखाएको छु । म नाममा जहिले पनि नयाँ नाम खोज्छु । परिकल्पना गर्छु । भाषा र शैलीमा पनि नयाँपन खोजिरहेको हुन्छु । जस्तो मेरो नयाँ आउने उपन्यासमा मकबुल भन्ने पात्र छ । उपन्यासको नाम नै मकबुल हुन सक्छ । सोटिट पनि युनिक भएकै कारण उपन्यासको नामै यही पात्रबाट राखेँ ।

सोटिट अमेरिका नै बसेर लेखेको हुँ । पुनर्लेखन र सम्पादन पनि त्यहीँ गरेँ । मेरो छुट्टीको दिन शनिबार र आइतबार ५–६ घन्टा लेख्थेँ । अरू बार साँझ १–२ घन्टा लेख्थेँ । उपन्यास लेखेर सकाउन मलाई १० महिनाजति लाग्यो । ‘रिभाइज्ड’ गर्न फेरि १० महिनाजति लाग्यो । यो उपन्यासमा तीनपटक काम गरेँ । पहिलो रिभाइज्ड पाँच महिनाजतिमा सकेँ र दोस्रोपटक दुई महिनाजति लागेको थियो ।

पहिला लगभग ४३ हजार शब्दजति थियो । पछि रिभाइज्ड गर्दा आठ हजारजति शब्द फालेँ । ३५ हजारजतिको उपन्यास छ । उपन्यास लेखिसकेपछि नारायण ढकाल, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदीलाई देखाएँ । उहाँहरूले ठीक छ भन्नुभयो । सामान्य सुझाब थिए ।

लेखिसकेपछि पाण्डुलिपि बोकेर अमेरिकाबाट आएँ । अनि प्रकाशकसँग सम्पर्क भयो । यसरी सोटिट पाठकसम्म पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु