logo

bar

मान्छे बन्ने प्रयास गरेको प्राणी हुँ : सुरवीर पण्डित

नयाँ पत्रिका काठमाडाैं | चैत २७, २०७४

मानिस एउटा चेतनशील प्राणी हो । त्यसैले हामीमा धेरै कुराको ज्ञान हुनु जरुरी छ । कतिपय मानिस मैले सबै कुरा जानिसकेँ, मजस्तो जान्ने कोही छैन भनेर फुइँ लगाउँछन् । तर, मचाहिँ आफूलाई त्यस्तो ठान्दिनँ । म अझै पनि जीवन जिउन  सिकिरहेको छु । मेरो आकारप्रकार मान्छेको भए पनि धेरै कुरा सिक्न बाँकी छ । त्यसैले म आफूलाई मान्छे बन्ने प्रयास गरेको प्राणीका रूपमा लिन्छु ।


घमन्ड गर्दिनँ
म घमन्ड गर्छु जस्तो लाग्दैन । तर, कुनै वेलाचाहिँ आफूले आफैँलाई घमन्ड गरेँछु जस्तो लाग्छ । तर, जानेर घमन्ड गर्दिनँ । हुन त, घमन्डले मानिसलाई एउटा ठाउँमा पुर्याउँछ । तर, आफूसँग केही छ भने मात्र घमन्ड गर्दा राम्रो हुन्छ । आफूसँग केही खुबी छैन भने घमन्ड गरेर कुनै फाइदा छैन जस्तो लाग्छ ।
अरूलाई सहयोग गर्न मन लाग्छ
म धर्मकर्म गर्नका लागि खासै मन्दिर जाँदिनँ । तर, अरूलाई दुःख दिन्नँ, सकेसम्म सहयोग गर्छु । त्यसैले यो नै धर्म हो भन्ने ठान्छु । तर, कहिलेकाहीँ समय मिलेको वेलामा परिवारसँग मठमन्दिर जान्छु । भगवान्लाई  नमस्कार गर्छु । असल मान्छे बन्न सकुँ भनेर भगवान्सँग प्रार्थना गर्छु ।
नाटक गर्ने मान्छे मन पर्दैन
यो पृथ्वीमा धेरैथरीका मानिस छन् । जसले गर्दा उनीहरूको स्वभाव पनि फरक–फरक नै हुन्छ । त्योमध्ये पनि कतिपय मानिस नाटकीय भावमा प्रस्तुत हुन्छन् र अरूलाई फसाउन खोज्छन् । मलाई त्यस्तो स्वभाव भएको मानिस मन पर्दैन । त्यसैले त्यस्ता मानिसबाट टाढै हुन्छु ।
खानामा यही मनपर्छ भन्ने छैन
कतिपय मानिस म शाकाहारी हुँ भन्छन् । तर, म शाकाहारी, मांसहारी दुवै हुँ । वास्तवमा भन्ने हो भने मलाई खानेकुरामा यही मन पर्छ भन्ने छैन । भोक लागेको वेलामा खान पाए हुन्छ ।
संघर्षकै लागि जन्म लिएँजस्तो लाग्छ
म जे काम गर्छु, आफैँलाई नै के नमिलेको के नमिलेकोजस्तो लाग्छ । त्यसैले म सधैँ संघर्ष गरिरहेको छु तर, भनेजस्तो भएको छैन । त्यसैले कहिलेकाहीँ एकान्तमा सोच्छु । संघर्षकै लागि जन्म लिएँजस्तो लाग्छ ।
घुमघाम गर्न मन पर्दैन
मलाई घुम्न मन लाग्दैन । साथीहरू कहिलेकाहीँ घुम्न जाउँ भन्छन् । तर, मलाईचाहिँ घुम्न भनेपछि दिक्क लाग्छ । तैपनि कहिलेकाहीँ साथीहरूले कर गरेपछि मन नलागी–नलागी नै जान्छु । मलाई घुम्न जानुको सट्टा सिनियर मानिससँग व्यावहारिक कुरा गरेर, चलचित्र हेरर बस्न मन लाग्छ ।
रिसाउने बानी छ
मेरो रिसाउने बानी छ । तर, त्यो रिसचाहिँ देखाउन नपरे हुन्थ्यो भन्ने चाहन्छु । रिसाएर जोकोहीसँग पनि सम्बन्ध बिगार्न चाहन्नँ । त्यसैले आफ्नो रिसलाई कन्ट्रोल गर्छु ।
देशप्रति चिन्ता गर्थेँ
मलाई देशको राजनीतिक परिस्थितिदेखि दिक्क लागेर आउँछ । यसको बारेमा पहिला म धेरै नै चिन्ता लिन्थेँ । तर, हामीजस्ताले चिन्ता लिएर केही पनि हुँदो रहेनछ । हामी ताप्केको बिँड मात्रै रहेछौँ । ताप्के नतातेसम्म केही हुँदो रहेनछ । त्यसैले हामीले आफ्नो काम इमानदारीका साथ गर्ने मात्र रहेछ ।

  • सुरवीर पण्डित, हास्यकलाकार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु