logo

bar

‘टाढा भए पनि माया गाढा छ’

नयाँ पत्रिका काठमाडाैँ, २६ चैत | चैत २६, २०७४

इलाम चुलाचुलीको हुँ । इलाममा हुँदा गीत गाउँथेँ, नाटक पनि खेल्थेँ । स्कुल पढ्दादेखि नै गीत गाउन, नाटक खेल्न थालेको हुँ । ०६५ मा गाउँमा नै एउटा कार्यक्रममा मैले गीत गाएको थिएँ । त्यहीवेला सरिताले मलाई देखेको भन्छिन् । सरिता र मेरो एउटै गाउँ हो । मैलेचाहिँ अलि पछिदेखि देखेको हो ।

नाटक रिहर्सल गर्दा उनी हेर्न आउँथिन् । त्यसवेला हामी आँगनमा नाटक रिहर्सल गथ्र्यौं । कहिले भन्नेचाहिँ ठ्याक्कै याद छैन । निरन्तर देखादेख हुन थाल्यो । खोइ, साथीभाइले कसरी जिस्क्याउन थाले हामी दुईलाई । त्यत्तिकै अरूले जिस्क्याउँदा जिस्काउँदै माया बसेछ । थाहै भएन । जब उनी अरूसँग बोल्थिन्, हाँस्थिन् तब मलाई ईष्र्या लाग्ने, कताकता चित्त दुख्ने हुन थाल्यो । त्यसपछि महसुस भयो कि उनीसँग प्रेममा परिसकेँछु भनेर । उनलाई पनि त्यस्तै हुन्थ्यो रे ।

केही समयपछि चिठी आदान–प्रदान हुन थाल्यो । प्रेम प्रस्ताव नै राखिनँ । एकैचोटि प्रेमिकाका रूपमा पत्र लेखेको थिएँ । त्यसवेला गाउँमा घुम्न जाने भन्ने कुरा थिएन । चिठीमार्फत नै एक–अर्काको भावना बुझ्थ्यौँ । चिठी पनि पोस्ट गर्नु नपर्ने । लेख्यो, भाइलाई पु¥याइदे भन्यो । त्यसको रिप्लाई दुई, तीन घन्टाभित्र आइहाल्थ्यो । कहिलेकाहीँ त तीनपटकसम्म चिठी आदान–प्रदान हुन्थ्यो । फेरि भेट हुँदा बोल्दैनथ्यौँ । अहिले सम्झँदा खुब रमाइलो लाग्छ ।

उनले मलाई लेखेका चिठीहरू राखेको थिएँ । पछि उनले लुकाइछन् । मैले लेखेको चिठी राखेकी रहिछिन् । घर गएका वेला भेटेर पढ्दा आफैँलाई हाँसो लाग्यो । उनलाई सम्बोधन गरेका शब्दहरू रमाइलो लाग्यो । कताकता लाज पनि लाग्यो । फिल्मी शैलीमा प्राणप्यारी सरिता भनेर सम्बोधन गरेर चिठी लेखेको थिएँ । ज्यानै दिन्छु त भन्दिनँ, मैले ज्यान दिएँ भने तिमीलाई कसले माया गर्छ ? आदि लेखेको रहेछु । हामीले करिब ६ वर्षपछि (०७० सालमा) विवाह गर्यौँ। चार वर्ष भइसक्यो । प्रेम भए पनि मागेर नै ल्याएको हो ।

उनी अहिले इलाममा नै छिन् । म यहाँ । फोनमा कुरा हुन्छ । समय मिलेका वेला घर जान्छु । हामी विवाह गरेपछि पनि घुम्न गएनौँं । मलाई पनि घुम्न जानुपर्छ भन्ने भएन । सरिता पनि घुम्न जाउँ भन्दिनन् । साथ हुन पाउनु नै खुसीको कुरा हो जस्तो लाग्छ । उनी घरमा आमाबुवासँगै छिन् । उनलाई जीवनसाथीका रूपमा पाएर खुसी छु । उनी पनि खुसी नै छिन् जस्तो लाग्छ ।

दैनिक दुईपटक फोनमा कुरा हुन्छ । कहिलेकाहीँ काम पर्यो भने त्योभन्दा बढी पनि हुन्छ । उनी एकदम बुझ्ने, व्यावहारिक छिन् । टाढा भए पनि माया गाढा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु