logo

bar

श्रीमानकाे सरप्राइजले हिट भएकी कविता

नयाँ पत्रिका काठमाडाैँ, २५ चैत | चैत २५, २०७४

बहुप्रतिभाकी धनी चर्चित गायिका एवं कलाकार कविता आले इलाममा जन्मेकी हुन् । सानै छँदा परिवार मोरङ झरेपछि उनी त्यहीँ हुर्किन् । सानैदेखि मीठो गीत गाउने कविता विद्यालयस्तरीय कार्यक्रममा गीत गाउन लाउँदा लाजले रुने गरेको स्मरण गर्छिन् ।

१५ वर्षकी हुँदा उनको विवाह जेबी आलेसँग भयो । विवाहपछि उनी सरकारी जागिरे श्रीमान्को सरुवा भएसँगै काठमाडौं आइन् । विवाहपछि उनी सामान्य नेपाली महिलाजस्तै गृहस्थीमा व्यस्त भइन् । खाना पकाउँदा, नानी भुलाउँदा गुनगुनाउने गर्थिन् । उनको मीठोे आवाजलाई श्रीमान्ले टेपरेकर्डमा रेकर्ड गरेर रेडियो नेपालको लोकगीत विभागमा दिएछन् । उनलाई पत्तै थिएन । त्यसवेला जेबी सिंहदरबारमा जागिरे थिए ।

टेपरेकर्डमा उनको स्वर सुनेर रेडियो नेपालमा गीत गाउन बोलाइयो । श्रीमान्ले नै खबर ल्याए । तर, उनी गीत गाउन जान सक्ने अवस्थामा थिइनन् । एकदम लजालु स्वभावकी कविता कसरी सुनाउने भन्ने डर, लाजले भुतुक्कै भइन् । स्मरण गर्छिन्, ‘त्यसवेला त मलाई श्रीमान्को दबाबजस्तो लागेको थियो, धेरैपछि हौसला रहेछ भन्ने महसुस भयो ।’ श्रीमान्को हौसलाले गर्दा रेडियो नेपालमा गएर लजाइलजाई गीत गाइन् । छनोट पनि भइन् । ०३१ मा नै उनले सामूहिक राष्ट्रिय गीत गाइसकेकी थिइन् । रेडियो नेपालमा ०३२ मा पहिलो एकल गीत आफ्नै श्रीमान्को शब्द र लयमा रेकर्ड गरिन् । ‘संक्रिन्ती बजार मान्छेको हजार कलधारा हिटीमा टाढाको चेली भेट कैले हुने बात मारौँ चिट्ठीमा…’ कविताको पहिलो एकल स्वर रहेको गीत थियो ।

०३२ मा उनको आवाजमा रेडियो नेपालमा गीत बज्दा उनको माइती गाउँका केहीले पत्याएनन् । भन्छिन्, ‘गाउन लाउँदा रुने केटीले गीत गाउँछे भन्दा पत्याउने कुरा पनि भएन ।’ त्यसलाई सकारात्मक रूपमा लिन्छिन् । यसरी श्रीमान्को करले सुरु भएको उनको सांगीतिक यात्रा सफल रह्यो । पछि बसी खर काटौँ उठी खर काटौँ, झ्याम्मै चौतारी माया लाऊँ भने छैन दौँतरी, संक्रान्ति बजार, पीपलै छायालगायतका चर्चित गीतमा स्वर दिइन् । उनका गीत प्रायः सबै चर्चित बने । कविता आलेको आवाजमा गीत रेडियोमा गुन्जिन थाल्यो । कविताको संगीतको पहिलो संगीतगुरु घरको रेडियो थियो । घरको भित्तामा कपडाको खोल भएको फिलिप रेडियोमा बज्ने गीत, संगीत नै गुरु थियो । रेडियो नेपालमा पुगेपछि गोपाल योञ्जन । कविताले गीत गाउन थालेको ४२ वर्षभन्दा बढी भयो ।

यसरी लोक, भजन, आधुनिक गीत गाइसकेकी चर्चित आले अभिनय क्षेत्रमा लागेको करिब २४ वर्ष भयो । भन्छिन्, ‘अभिनय क्षेत्रमा लागेको त भयो होला २४ वर्ष, अाफैँ अभिनय गर्न थालेको १९ वर्ष भयो । त्यसभन्दा अगाडि धेरैवटा चलचित्रमा आफ्नो आवाज दिएकी छु ।’ धेरै अगाडिदेखि नै अभिनयको अफरहरू आए पनि उनले अस्वीकार गर्दै आएकी थिइन् । अभिनयका लागि आइरहेका अवसरलाई नकार नगर्न बारम्बार सल्लाह दिइरहन्थे उनका श्रीमान् जेबी ।

उनले पहिलो फिल्मको अफर स्वीकार गरेकै साल श्रीमान् जेबी आलेको दुर्घटना भयो । जेबीले कविताको अभिनय हेर्न पाएनन् । ठट्यौली शैलीमा भन्छिन्, ‘हिरोनी हुनु त लेखेको रहेनछ । आमा, बोजु लेखेको रहेछ । यिनै रोलहरू गरिरहेकी छु ।’ उनको गीत कति छन् भन्ने उनीसँग अभिलेख छैन, तर १९ वर्षअघि श्रीमान्ले तिमीले तीन सय गीत गाइसक्यौ भनेको सम्झिन्छिन् । त्यसयता पनि उनले थुप्रै गीत गाइसकेकी छिन् । धेरैवटा डकुमेन्ट्री, चलचित्र, म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन् ।

कविताले अहिले पनि संगीत एवं अभिनयलाई सँगै लगिरहेकी छिन् । ‘अहिले म गायन र अभिनय दुवैमा लागिरहनु भनेको श्रीमान्को प्रेरणा एवं सल्लाह मनन गर्दै उहाँमा नै समर्पित हुनु हो । आज म जे छु यसको श्रेय जेबी आलेलाई जान्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु